'अब समुदायस्तरमै खोप अभियान'

 फागुन ९, २०७७ आइतबार १०:५९:४७ | डा . झलक शर्मा गाैतम
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसविरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । सबैभन्दा राम्रो पक्ष भनेको खोप लगाएकामध्ये अहिलेसम्म कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । केहीलाई भने सामान्य खालका असर देखिएका छन्  ।   

५५ वर्षमाथिका सबैलाई आउँदो फागुन २३ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । यो भनेको फागुन २३ देखि नै समुदायस्तरमा  लगाइँदैछ भन्ने बुझ्नु पर्छ ।  समुदायमा गएर उमेर समूहअनुसार खोप दिइनेछ । समुदायस्तरमा गएपछि पहिलो प्राथमिकतामा ५५ वर्षभन्दा माथि उमेर समूहका पर्नुहुन्छ । त्यसपछि अरुलाई लगाउने हो । खोप केन्द्रलाई समुदायस्तरमा लगिन्छ । 

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार पहिलो डोज लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोजको खोप दिने भनिएको छ । त्यहीअनुसारको व्यवस्थापन हुन्छ । खोप केन्द्रहरु समुदायस्तरमा सञ्चालन हुने भएकाले खोप केन्द्रहरु थपिन्छन् । कति बढाउने? कहाँ-कहाँ सञ्चालन गर्ने, कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल हुँदैछ । जिल्ला समन्वय समिति, अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुको समन्वयमा खोप केन्द्रहरु तोकिनेछन् । त्यहीअनुसारको खोप अभियान सञ्चालन हुन्छ । 

अब पनि कोभिसिल्ड खोप नै लगाउने हो । सिरम इन्स्टिच्युट अफ इन्डियामा कोभिसिल्ड नामक खोप उत्पादन भइरहेको छ । अहिले लगाइरहेको खोप पनि यही हो । र आउँदो २३ गतेदेखि पनि यही कम्पनीको यही खोप लगाइन्छ । 

पहिलो डोज लगाइसकेकाले दोस्रो डोज खोप कहिले लगाउने भनेर सूचना सार्वजनिक हुने भएकाले अलमलमा पर्नु पर्दैन ।  पहिलो डोज लगाएकालाई २८ दिनपछि लगाउने भन्ने विषय परिमार्जन भएको छ । ८ देखि १२ हप्तामा लगाउँदा राम्रो प्रभाव देखिने रिपोर्टहरु सार्वजनिक भएका छन् । त्यही भएर सरकारले पनि अलि ढिला गर्न लागेको हो ।  

यही खोप लगाइसकेपछि गरिएको अध्ययनका क्रममा ८ देखि १२ हप्ताको बीचमा दोस्रो डोज दिँदा अझै प्रभावकारी भएका खबरहरु सार्वजनिक भएका छन् । नेपालमा पनि त्यस्तै अवधिमा दोस्रो डोज खोप लगाउने हो । खोप सुरक्षित छ । प्रभावकारी छ । १६ वटाभन्दा धेरै देशले लगाइसकेका छन् ।  विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । 

खोप सुरक्षित र प्रभावकारी छ भनेर सूचीकृत भइसकेको छ । सबै उमेर समूहकाले ढुक्क भएर खोप लगाउँदा हुन्छ । खोप लगाउने मिति तोकिसकेपछि सम्बन्धित खोप केन्द्रमा गएर ढुक्कले खोप लगाउँदा हुन्छ । राष्ट्रिय लक्ष्य पूरा नहुञ्जेलसम्म खोप खरिद प्रक्रिया अगाडि बढिरहन्छ । 

(स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख तथा राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. गौतमसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख २, २०८१

डा . झलक शर्मा गाैतम

 गाैतम स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया