‘अदालतले जुनसुकै बाटाे निर्देश गर्छ, त्यसका लागि कांग्रेस तयार हुनुपर्छ’

 फागुन ९, २०७७ आइतबार १५:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा प्रतिनिधि सभा विघटन भएसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रूपमा असंवैधानिक र बदनियतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आउँदाे महाधिवेशनको मिति तय गरेको छ । यसै सेरोफेरोमा नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतसँग कुराकानी गरिएकाे छ । कुराकानीमा सहमहामन्त्री महतले कांग्रेसले आन्तरिक राजनीति र सङ्गठनका लागि महाधिवेशनमा केन्द्रित हुने र प्रतिनिधि सभाको आवधिक चुनावका लागि तयार हुने गरी तयारी थाल्ने बताउनुभएको छ । 

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । के अब कांग्रेस संवैधानिक सङ्कटतर्फ उन्मुख हुँदै गएको हो ? 

केही सङ्कटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रूपमा उपयोग गर्न सक्छौँ । हामीले के कुरा बर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो, त्यो सम्पन्न गर्नका लागि देश एक वर्ष नै कोभिडमय रह्यो । त्यसमा पनि झण्डै पाँच महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । लकडाउनको समयमा सम्पूर्ण नागरिक नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकाय सक्रिय हुने अवस्था थिएन, त्यो समय हामीले गुमायौँ । त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नका लागि कठिनाइ उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नका लागि उपयोग गर्नुपर्ने आवश्यकता पर्‍याे । त्यसमा पनि प्रतिनिधि सभा विघटनपछि पार्टीले त्यसकाे विराेधमा निरन्तर शृङ्खला सञ्चालन गर्‍याे, त्यस कारण माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउन जिल्लाहरूलाई दिइएकाे समयावधिमा सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन । 

यही कारण पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता पर्‍याे । त्यसपछि छानबिनको प्रक्रिया आउँछ । छानबिनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशील सदस्यता सार्वजनिक गरेपछि अधिवेशन अगाडि बढ्ने अवस्था भएको हुनाले आउँदाे भदौ ७ गते अधिवेशनको शृङ्खला सुरु हुन्छ । महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौँ । 

त्यसो भए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो ?  

होइन, हामीले समय सकिने भन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौँ । 

कोभिडलगत्तै प्रतिनिधि सभाको विघटनमा जानुपर्‍याे भन्नुभयो । तर कांग्रेस आन्दोलनमा हो कि चुनाव प्रचारमा हो ?  

नेपाली कांग्रेस नागरिकमा विश्वास गर्ने पार्टी हो । नागरिकबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरू पार्टीहरूका लागि स्वाभाविक हुन सक्छ तर नेपाली कांग्रेसको लागि स्वाभाविक हुँदैन । त्यसो हुनाले नागरिकमा जाने, देशको वस्तुस्थितिको बारेमा नागरिकलाई सुसूचित गर्ने कुराहरू महत्त्वपूर्ण हुन ।

नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रिकृत आन्दोलन गर्‍याे । हामीले नागरिकलाई खर्च गरेर काठमाण्डाैमा आऊ भन्नुको सट्टा हामी जिल्ला जिल्लामा, वडा–वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, प्रतिनिधि सभा विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम नागरिकमा पुर्‍याउन सफल भयौँ । त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम नागरिककाे सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरू दलले गरेको जस्तो खासगरी कम्युनिस्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो, त्यस अर्थमा हामीले स्वतःस्फूर्त रूपमा विरोधका कार्यक्रम गर्‍याैँ । यद्यपि यसमै हामी रोकिन्छौँ भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरू पनि हामी गर्न सक्छौँ । त्यो गर्दा पनि नागरिककाे स्वतःस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौँ । 

सभापति शेरबहादुर देउवाले विरोध सभामा अथवा सञ्चारमाध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौँ भन्नुभएकाे छ तर तपाईँहरूले चुनावको तयारीमा लाग्नुहोस् भन्ने अभिव्यक्ति दिनुभएको छ । यसले त कसरी आन्दोलन गरेको भयो ?  

होइन, अदालतले विघटनलाई सदर गरेर चुनावमा जाऊ भन्यो भने हामी तयारीविनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो अदालतले निर्देश गर्छ, त्यसका लागि हामी तयार हुनुपर्छ भन्ने पनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनर्स्थापना होस् भन्नुलाई पनि हामी सहज रूपमा स्वीकार्छाैँ र चुनावमा जाने स्थिति आयो भने, अदालतले त्यो किसिमको बाटो तय गर्‍याे भने, त्यो निर्णयलाई हामी अवज्ञा गर्न सक्दैनौँ । नागरिकमा गएर फेरि नयाँ जनादेश लिएर संसद् स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौँ भन्ने सभापतिको भनाइ उपयुक्त नै हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा मात्रै जोड दिनुभएको छ, चुनावमा कम छ तर सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ । 

व्यक्तिगत रूपमा कुनै नेताले के भन्नुभयो त्यो महत्त्वपूर्ण कुरा होइन । महत्त्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ, त्यो महत्त्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रम गर्छाैँ । नागरिककाे तहसम्म पुग्छौँ भनेर भनेको कुरा महत्त्वपूर्ण हो, त्यसैमा पार्टी हिँडेको छ ।

अदालतको निर्णय जसरी आउँछ, दुई वटै परिस्थितिका लागि हामी तयार हुनुपर्छ र पुनर्स्थापना नै भए पनि ढिलो/चाँडो नागरिकमै जानुपर्छ, अब डेढ वर्ष पछाडि हामी चुनावमै जानुपर्छ भनेपछि त नागरिककाे नयाँ जनादेश त महत्त्वपूर्ण कुरा हो । किनभने यो तीन वर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो । नागरिकलाई हिजो गरेको वाचा/बन्धन उहाँहरूले पूरा गर्न सक्नु भएन, उल्टो दिशामा हिँड्नु भयो भन्ने कुरा नागरिकले महसुस गरिराखेका छन् र नागरिक नयाँ जनादेश दिनका लागि आतुर छन् । त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी चुनावमा जान्नौँ भन्ने कुरा नागरिक र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन तर कथम् कदाचित सत्तामा बस्नेहरूले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरि नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आम सभामा र पार्टी बैठकहरूमा भन्नुभएकै छ । 

संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दै गर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दबाब दिन हुन्छ कि हुँदैन ?  

त्यसैले त आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाइमा संविधानका सबै स्टेप पूरा नगरिकन विघटन भयो तर त्यसको अन्तिम निर्क्याेल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गर्छाैँ भने फेरि अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौँ । त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौँ । हाम्रो मतभिन्नता हुन सक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ तर त्यो निर्णयलाई हामी मान्दै मान्दैनाैँ भन्न चाहिँ हामी सक्दैनौँ । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो, त्यसमा हामी कडा हुन्छौँ । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ । 

राजनीतिक दलहरूले सत्तामा जाने कुरालाई आफ्नो लाभको रूपमा हेरिनै हाल्छन् । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो ?  

यो लड्डुको कुरै होइन । यो कसले भन्यो ? मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा नागरिककाे हातमा लड्डु हुनुपर्छ, भनेको मतलब नागरिक लाभान्वित हुनुपर्छ । नागरिकप्रति प्रतिबद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । नागरिककाे आवश्यकता पिर–मर्का, नागरिककाे भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ कि हुँदैन ? कुन पार्टीको हातमा लड्डु हुन्छ ? कसको हातमा लड्डु हुन्छ ? त्यो महत्त्वपूर्ण कुरा होइन । मूल कुरा नागरिक बलियाे हुन्छन् कि हुँदैनन् ? नागरिक अधिकार सम्पन्न हुन्छ कि हुँदैन ? नागरिककाे आवश्यकता, पिर–मर्काप्रति सत्ता संवेदनशील छ कि छैन ? त्याे महत्त्वपूर्ण कुरा हो ।

त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिस्ट शासनकाल गफमय भयो, कुरामय भयो, काममा पटक्कै ध्यान दिनुभएन । राज्यको साधन–स्रोत, संयन्त्रलाई चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरूले गर्नुभयो । त्यसअर्थमा यसको हामीले विरोध गरेका छौँ । हाम्राे विराेधकाे प्रकृति र कम्युनिस्ट पार्टीकाे प्रचण्ड–माधवकाेमा फरक छ, हामीले प्रतिनिधि सभा विघटनसहित तीन वर्षको कुशासनको विरोध गर्दै आएका छाैँ । भ्रष्टाचारलगायतका चरम दुरुपयोगका कुराहरू पनि हाम्रो विरोध कार्यक्रमको अङ्ग हो । उहाँहरूको एकबुँदे प्रतिनिधि सभा विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषयसहितको आन्दोलन हो । 

प्रतिनिधि सभा विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधि सभाको पुनर्स्थापना भए पनि वा चुनावमा गए पनि विभिन्न खालका आश्वासन र आग्रहहरू गरिराख्नुभएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ?  

कुनै पनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ, त्यो मेरो सरोकारको विषय होइन । हामीले जे भनिराखेका छौँ उहाँले त्यही भन्नुभएको छ । नेपाली कांग्रेस मूलभूत रूपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । नागरिकबाटै अनुमोदिन भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन । 

कार्यकर्ताहरू अलमल भइरहेका छन् नि ? 

पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलो/चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया