कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ सयभन्दा तल झर्‍याे

 फागुन ९, २०७७ आइतबार १७:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक सय २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ९४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६९ हजार आठ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ८० जनालाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आइतवार सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका ४९ जना रहेका छन् । उपत्यकामा काठमाण्डौमा ३६, भक्तपुरमा दुई र ललितपुरमा ११ जनालाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतवार सङ्क्रमण पुष्टि भएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ६१ जनाको ज्यान गएको छ ।    

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया