‘दिनकै सभा, जुलुस गर्दा काेराेनाकाे जाेखिम नहुने तर विदेशी पर्यटक नेपाल आउँदा चाहिँ आपत्ति किन ?’

‘पीसीआर रिपाेर्ट नेगेटिभ भएका र खाेप लगाएर आएका पर्यटकलाई निर्वाध घुम्न दिनुपर्छ’

 फागुन १०, २०७७ सोमबार १७:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्यटन व्यवसायीहरूले सबै किसिमका पर्यटन गतिविधि निर्वाध रूपमा सुरु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरूका सबै छाता सङ्गठनहरूले सोमबार काठमाण्डाैमा संयुक्त पत्रकार सम्मेलनकाे आयोजना गरी 'सेफ्टी प्राेटाेकल' को आधारमा सेवा दिने गरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।

देशमा सभा, विरोध, जुलुसलगायतका कार्यक्रमहरू दैनिक रूपमा भइरहँदा कोरोना सङ्क्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरूले बताएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएशन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिँदा पनि कोभिड सङ्क्रमणको जोखिम नहुने बताउनुभयो । 

पीसीआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्वाध घुम्न दिनुपर्ने सुवेदीले बताउनुभयो । यस्तै पीसीआर नेगेटिभ आएका पर्यटकलाई पाँच दिनको क्वरेण्टीन हटाउन र पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लगायतका मापदण्डलाई खारेज गर्न उहाँले माग गर्नुभयो । 

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरूले पटक–पटक आफ्ना मागहरू सरकारसँग राख्दा समेत सरकारले सुनुवाइ नगरेको बताउनुभयो । ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरूलाई अनिवार्य पाँच दिन क्वरेण्टीनमा बस्नुपर्ने प्रावधान हटाइनुपर्ने, अनलाइन र अराइभल भिसा तथा विदेशमा रहेका नेपाली दूतावास वा नियोगहरूबाट भिसाकाे व्यवस्था पहिले जसरी नै सुरु हुनुपर्ने, विमानस्थलमा कोभिड जाँच मेशिन राखेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने, कोभिडविरुद्धको खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरूलाई पनि उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । 

यस्तै नेपाल र चीनबीचको सीमा नाकाहरू यथाशीघ्र खोल्नुपर्ने, भारत र चीनतर्फको सीमा नाकाबाट भित्रिने सवारीसाधनहरूलाई निर्वाध रूपमा आउन पाउनुपर्ने र कोभिड खोप लगाएर घुम्न आएका सबै पर्यटकलाई निर्वाध रूपमा घुम्न दिनुपर्ने माग रहेको गुरागाईंले बताउनुभयो । 

पर्यटन व्यवसायीहरूले कोभिडबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका पर्यटन व्यवसायीहरूले अहिलेसम्म पुनर्कर्जा कोषको सुविधा लिन नपाएको गुनासोसमेत गरेका छन् । सरकारले राहतको रूपमा कोष निर्माण गरे पनि पहुँच हुनेहरूले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरूले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया