नदीमा सुन खाेज्न छाडेर व्यावसायिक बङ्गुर पालन गर्दै आएका बलबहादुरको लोभलाग्दो कमाइ

 फागुन ११, २०७७ मंगलबार १४:४:४९ | भावुक योगी
unn.prixa.net

बर्दिया – सोनाहा जातिको पुर्ख्याैली पेसा नदी किनारमा बालुवा चालेर सुन खोज्ने र माछा मार्ने हो । नदी किनारको बगरमा गएर बालुवामा सुन खोज्ने, माछा मार्ने र फेला परेको सुन, माछा बेचेर आफ्नो जीविकोपार्जन गर्ने उनीहरूको परम्परागत पेसा हो । तर बेलाबेला नदीमा माछा मार्न र सुन खोज्न अनुमति नदिँइदा सोनाहा समुदायहरू मर्कामा पर्छन् । 

बर्दियाको राजापुर नगरपालिकाको १ नम्बर वडामा, गेरुवा गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ६ मा कैलालीको टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिकामा र कञ्चनपुरको भीमदत्त नगरपालिमा सोनाहा जातीको बस्ती छ । देशभर सोनाहा जातीको जनसङ्ख्या झण्डै एक हजार दुई सय हाराहारीमा रहेको सोनाहा समुदायका अगुवाहरू बताउँछन् ।

नदीमा सुन खोजेर, माछा मारेर त कहिले बालुवा चालेर जीविका चलाउँदै आउनुभएका बर्दियाका बलबहादुर सोनाहलाई व्यावसायिक बङ्गुर पालनाले उदाहरणीय बनाइदिएको छ । 

सात वर्ष अघिदेखि बङ्गुर पालन गर्दै आउनुभएका मुर्गाैवाका ४९ वर्षीय बलबहादुरको हिमालीपुर गाउँमा ठूलो सोनाहा बङ्गुर फर्म रहेको छ । उहाँले साथीसँग एक लाख १७ हजार रुपैयाँ ऋण लिएर ६ वटा बच्चा र ६ कोठाको खोर निर्माण गरी सुरु गर्नुभएको व्यावसायिक बङ्गुर पालनबाट अहिले लोभलाग्दो कमाइ भइरहेकाे छ । 

दुई वर्षअघि सात लाख रुपैयाँ खर्च गरी ६ वटा कोठाको खोर बढाएर २७ कोठाको खोर निर्माण गर्नुभएका उहाँकाे खोरमा मात्रै १६ लाख लगानी भइसकेको छ । बलबहादुरको फार्ममा बङ्गुरका पाठापाठी लिन आउनेको भिड लाग्छ । उहाँले पाठापाठी उत्पादनका लागि ३१ वटा विभिन्न जातका बङ्गुर पालन गरिरहनुभएको छ ।

पाठापाठी बिक्रीका लागि मात्रै निर्माण गरिएकाे बङ्गुर फार्मबाट अब मासु पनि बिक्री गर्ने उहाँकाे साेच छ । उहाँले एक सय ५० वटा बङ्गुर मासुका लागि पाल्ने याेजना बनाउनुभएकाे छ ।  

बङ्गुरले १५ महिनाको अवधिमा तीन पटकसम्म पाठापाठी जन्माउँछ । एउटा बङ्गुरले १५ देखि २० वटासम्म बच्चा जन्माउँछ । बङ्गुरको एउटा बच्चा पाँच हजारमा बिक्री हुन्छ । दुई महिनाअघि मात्रै ८२ वटा पाठापाठी बिक्री गरेको उहाँले बताउनुभयो । उहाँले हरेक दुई महिनामा पाठापाठी बेच्नुहुन्छ । 

'बङ्गुर पालनमा भएको सम्पूर्ण खर्च कटाएर मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ', उहाँले भन्नुभयो । व्यवसाय सुरु गरेकाे दोस्रो वर्षबाट हरेक वर्ष आम्दानी बढिरहेको उहाँको भनाइ छ ।

‘व्यावसायिक रूपमा थालेको बङ्गुर पालनबाट वार्षिक १५ लाख आम्दानी भइरहेकाे छ । छोरालाई ओभरसियर र दुई छोरीलाई उच्च शिक्षा पढाउँदैछु’, उहाँले भन्नुभयो । उहाँले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । 

साथै श्रीमती राधा सोनाह र दुई छोरीले पनि सहयोग गर्ने गरेको बलबहादुर बताउनुहुन्छ । पाठापाठी बेचेर घरघडेरीसमेत जोड्न, शिक्षा–दीक्षा घरपरिवारको पालनपोषणलगायतका सबै कुरा गर्न सकेको उहाँ बताउनुहुन्छ।

व्यावसायिक बङ्गुर पालनका लागि पालिकाको कृषि शाखाबाट अनुदान पाइने सुने पनि अहिलेसम्म कतैबाट पनि आफूले अनुदान नपाएको उहाँको गुनासो छ । खेर गएको समयलाई सदुपयोग गरेर व्यावसायिक बङ्गुर पालन गरे नेपालमै मनग्य आम्दानी गर्न सकिने भन्दै बिदेसिने युवाहरूलाई पनि स्वदेशमै बसेर व्यावसायिक क्षेत्रमा लाग्न उहाँ आग्रह गर्नुहुन्छ ।   

थोरै लगानीमा मेहनत धेरै गर्ने हो भने गाउँमै बसेर पनि मनग्य आम्दानी हुन्छ । बिदेसिन छाडेर व्यावसायिक बङ्गुर पालन, ब्राेइलर तथा लोकल कुखुरा पालन, माछा पालन, बाख्रा पालन, तरकारी खेती पो गर्ने कि ? 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया