पालिकाको बिना धितो निर्ब्याजी ऋण योजना : कतै प्रक्रिया सुरु, कतै अलमल

 फागुन १३, २०७७ बिहिबार १०:५५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाका कारण सिर्जना भएकाे रोजगारीको अभावलाई मध्यनजर गर्दै पालिकाहरुले विभिन्न योजनाहरु अगाडि सारेका छन् ।  

भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएको छ । केही दिन अगाडि सम्पन्न  नगर परिषद् बैठकबाट ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण दिने विषय पारित पनि भइसकेको छ ।

केही दिन अगाडिमात्रै पारित भए पनि नगरपालिकाले प्रक्रिया भने पहिला नै अगाडि बढाइसकेको थियो । त्यहीअनुसार नगरपालिकाले सूचना प्रकाशित गरेको थियो । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रकाअनुसार ऋण  लिनका लागि अहिलेसम्म १ हजार १२ जनाले आवेदन दिएका छन् । तर आवेदन दिएका सबैले ऋण  पाउन नसक्ने उहाँले बताउनुभयो ।  यो वर्ष कार्यक्रममा नसमेटिएकालाई अर्को वर्ष प्रदान गरिन्छ । 

ऋण प्रदान गर्नका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गर्नुपर्ने भएकाले  चाँगुनारायण नगरपालिकालाई राष्ट्रिय युवा परिषद्ले सहयोग गर्ने भएको छ । उद्यमी बन्ने चाहानेलाई पहिलो चरणबाट छनोट गरेर मानसिक र व्यावसायिक रुपमा तयार बनाउने र ऋणको लागि विभिन्न बैंकसँग सहकार्य गर्ने मेयर मिश्रले बताउनुभयो । युवालाई विदेश पलायन हुनबाट रोक्न र बेरोजगार युवालाई आयआर्जनतर्फ आकर्षित गराउन नगरपालिकाले योजना बनाएर काम सुरु गरेको हो । 

मिश्र भन्नुहुन्छ ‘युवाहरुलाई आफ्नै गाउँमा रोजगारी दिने काममा लागिएको हो र सहुलियत ऋण, सीपमूलक तालिमजस्ता विषयमा नगरपालिकाले योजना बनाएर अगाडि बढिरहेको छ । ’विज्ञसँग परामर्श गरी आवेदन दिएका १ हजार १२ जनामध्ये ६ सय जनालाई छनोट गरिन्छ ।  त्यसपछि फेरि छनोट गरी पहिलो चरणमा ३ सय जनालाई ऋण दिइने मिश्रले बताउनुभयो । त्यसका लागि नगरपालिकाले नेपाल बैंकसँग सम्झौता गरिसकेको छ ।

उद्यमीमा छनोट भएका युवाले पाँच वर्षभित्रमा सम्बन्धित बैंकलाई रकम फिर्ता गरीसक्नुपर्ने छ । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका युवाहरु कार्यक्रममा समेटिने छन् । कोरोनाका कारण बेरोजगार भएका युवाहरुलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले जस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि बिनाधितो निर्ब्याजी ऋण  दिने गरी प्रक्रिया अगाडि बढाएको छ । 

कार्यक्रमका लागि अहिलेसम्म ८८ जनाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये सबै जनालाई ऋण रकम उपलब्ध गराउने मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो । कम्तीमा २ देखि ९ लाख रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराउने जनाएको छ । अरु पनि  कसैले उद्यम गर्न चाहेमा तर अहिलेको छनोट प्रक्रियामा परेनन् भने उनीहरुलाई लक्षित गरेर नगरपालिकाले राष्ट्रिय वाणिज्य बैँकसँगको सहकार्यमा सरल कर्जाकोसमेत व्यवस्था गरिदिने जनाएको छ । 

बिनाधितो निर्ब्याजी ऋण लिनका लागि छनोटमा परेकाको लागि पहिलो चरणको तालिम पनि सम्पन्न भइसकेको छ । तालिम लिएकाले अब छिट्टै ऋण,  लिएर आफूले चाहेको काम गर्न सक्ने छन् । युवा उद्यमशील कार्यक्रममा सहभागी भएर उद्यम गर्न चाहनेका लागि लक्षित गरेर नगरपालिकाले  ५० लाख रुपैयाँ छुट्याएको छ ।  

नगरपालिका क्षेत्रभित्र अस्थायी रुपले बसोबास गर्ने, खास गरी विदेशबाट फर्किएकाहरु महिला, आदिवासी, जनजाति र अपाङ्गता भएकालाई प्राथमिकता दिएको मेयर श्रेष्ठले बताउनुभयो । ‘नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुलाई उद्यम गर्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्य नगरपालिकाको हो’ मेयर श्रेष्ठले भन्नुभयो ।  

ललितपुरको वाग्मती गाउँपालिकाले युवालाई लक्षित गरेर सहुलियत दरमा ऋण रकम उपलब्ध गराउने भने पनि अहिलेसम्म प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । रकमको अभाव भएकाले कार्यविधि बनाएर पनि प्रक्रिया अगाडि बढाउन नसकिएको वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । 

गाउँपालिकाले ७० जनालाई कम्तीमा ५ लाख रुपैयाँका दरले सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको थियो । यो वर्ष कार्यान्वयन गर्न नसके पनि आउने आर्थिक वर्षमा भने कार्यान्वयन गर्ने तिमिल्सिनाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया