सरकारले फेरि थप्याे काेराेनाबाट ज्यान गुमाउने ८२ जनाकाे विवरण, कुल सङ्ख्या २ हजार ७६७ पुग्याे

 फागुन १३, २०७७ बिहिबार १६:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो ।

विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न 'केस' लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताउनुभयो ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या अझै धेरै देखिन सक्ने उहाँको अनुमान छ । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार आठ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप ८४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय २३ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया