रवीन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ फागुन अन्तिम हप्ता बजारमा आउने

 फागुन १६, २०७७ आइतबार ९:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’  यही फागुनको अन्तिम हप्तादेखि बजारमा आउने भएको छ ।  

‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाएर त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ वटा स्तम्भ-निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’।

पुस्तकबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् यूएनडीपी मुख्यालय, न्युयोर्कमा वरिष्ठ सल्लाहकार रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले भन्नुहुन्छ, ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक हो, ‘राजनीतिसँगै राजकाज ।’

पुस्तकमाथि टिप्पणी गर्दै उहाँले लेख्नुभएकाे छ, ‘पुस्तकको मूल निबन्ध ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ नवीन विचारमात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ-राजनीतिक दस्ताबेज पनि हो।’

‘हामीले राजनीति धेरै गर्यौं । तर राजकाजमा सधैं चुक्यौँ । नेतृत्वका पञ्च गुण-इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्,’ लेखक मिश्र भन्नुहुन्छ, ‘पुस्तकले ती गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको छ ।’

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताउनु भएकाे छ । यसअघि प्रकाशित तीन वटा पुस्तकको लेखकस्व उहाँले सुरुदेखि नै चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आउनु भएकाे छ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया