नक्कली प्रमुख सचेतकले 'ह्विप' जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ? : नेता रावल

 फागुन १६, २०७७ आइतबार १६:४५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई उहाँले हटाउन नसक्ने दाबी गर्नुभएको छ । 

आइतवार काठमाण्डाैमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताउनुभएको हो । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्विप मान्न नपर्ने पनि रावलले बताउनुभयो । त्यसरी निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उहाँकाे भनाइ छ । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि नेता रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु भन्दै । उहाँलाई हटाउँछौँ अब हामी । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छाैँ हामी, यो बुझिराख्नुस् । दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा त्यसका लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने । मैले ह्विप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्ने कुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरू उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति नागरिकलाई ढाट्ने कुरा रहेछ । दलका नेता कुनै सदस्यलाई निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुई तिहाइ सदस्य हामीसँग छन् अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गर्नुभयो । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उहाँले बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति फेरि त्यही दल र हैसियतबाट नटिक्ने पनि उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया