म्यानमार सैन्य ‘कू’ : विरोध प्रदर्शनको ‘घातक दिन’ कम्तीमा १० जनाको ज्यान गयो

 फागुन १६, २०७७ आइतबार १९:४१:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारमा सैन्य कू को विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा दश जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा १० जनाभन्दा धेरै घाइते भएका छन् । सैन्य ‘कू’ पछि भइरहेको विरोध प्रदर्शनमा यो दिनलाई घातक दिनका रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

याङ्गोन, दावेई र म्यान्डलेलगायतका सहरमा प्रदर्शनकारीको ज्यान गएको हो । याङ्गाेनमा मात्रै पाँच जनाकाे ज्यान गएकाे बताइएकाे छ । आइतवार प्रहरीले प्रदर्शन दबाउन गोली, अश्रृग्यास तथा पानीको फोहोरा हानेको बीबीसीमा उल्लेख छ ।

गएको फेब्रुअरी १ मा सैन्य कू पछि ठूलो सङ्ख्यामा शान्तिपूर्ण विरोध प्रदर्शनको हप्तौँपछि सुरक्षा बलले शनिवारदेखि हिंसात्मक कारबाही सुरु गरेको हो । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकालको घोषणा गरिएको छ । 

नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा विराेध प्रदर्शन भइरहेका छन् । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया