ओलीको प्रश्न : ‘प्रधानमन्त्रीलाई गलहत्याएर हटाउने प्रक्रिया कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ ?’

 फागुन १७, २०७७ सोमबार १९:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड माधव समूहलाई चुनौती दिनुभएको छ । सरकार गठन, प्रधानमन्त्री चयन तथा संसदीय दलको नेता चयन गर्ने आफ्नै विधि र पद्धति भएको भन्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरी विधि र प्रक्रियाअनुसार आफूलाई हटाउन चुनौती दिनुभएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड माधव समूहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौती दिनुभएको हो । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहना हो भने आफैले संसदीय दलको बैठक बोलाइदिनेसम्म बताउनुभयो ।

उहाँले भन्नुभयो, 'पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत् फेर्नुहोस् । बैठक बोलाइदिन्छु । आउनुहोस् न ।' 

उहाँले प्रधानमन्त्रीका लागि खोजी भइरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रियाअनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीको खोजी कत्रो भइरहेको छ । दौडादौड छ प्रधानमन्त्रीको खोजीमा । कोही गीत गाउँछन् दिए खान्थेँ मायाको दाहिने हातैले । साथीहरु माने म पनि हुन्थेँ भन्छन् । त्यो दिए खान्थेँ मायाको दाहिने हातैले भएन ? दिए खान्थेँ म पनि भन्या छ । यसको एउटा विधि, पद्धति छ । प्रक्रिया छ । संसदीय अभ्यास छ । त्यसअन्तर्गत आउनुहोस् न ।' 

एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफूलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न, अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?' 

अदालतको फैसलापछि देश फेरि अन्योलमा फसेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित बिचलित नभइ अगाडि बढ्ने र देशलाई अलोकतान्त्रिक बाटोमा जान नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गर्दा विकासको कामले गति लिएकाले आफूमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफूमाथि शारीरिक हमलासम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्त्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

ओलीले पार्टीलाई देशी, विदेशी शक्तिहरुबाट आक्रमण भइरहेको दाबी गर्दै देश बिगारेर अरुका लागि कम्फर्टेबल सरकार बनाउने खेलमा प्रचण्ड माधव समूह लागेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, 'तपाईँहरुको चेतना र जागरणलाई धन्यवाद भन्न चाहन्छु । सलाम भन्न चाहन्छु म देशी विदेशी शक्तिहरु हाम्राविरुद्ध लागेका छन् । तर पनि पार्टी कार्यर्ताहरुमा निराशा छैन । अन्योल छैन । पार्टी ठिक ढंंगले अघि बढिरहेको छ । उनीहरुले भनिरहेका छन् हामीसँग केन्द्रीय कमिटीको बहुमत छ । त्यो बहुमत त मैले नै दिएको बहुमत हो । एकताका लागि भनेर दिएको हो । केन्द्रीय कमिटी बनाउँदा मैले मेरो नोट कपीमा नाम लेखेर केन्द्रीय कमिटी बनाएको हो । महाधिवेशनबाट जितेर आएको कुनै कमिटी हो र त्यो ? देश बनाउनका लागि दिएको हो । पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको हो । तर उहाँहरुमा षड्यन्त्रपूर्वक ढंगले पार्टी बिगार्ने, देश बिगार्ने नियत त लुकेकै रहेछ त्यो बेला । एकीकरण गरिसक्नेबित्तिकै उहाँहरुले आफ्नो धन्दा सुरु गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने, देश बरबाद बनाउने, यस देशमा कम्फर्टेबल सरकार बनाइदिने । कसैका लागि कम्फर्टेबल सरकार बनाइदिने पो रहेछ ।' 

प्रधानमन्त्री ओलीले आफैले केन्द्रीय कमिटी बनाएको भन्दै दिएकाले लिन पनि सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, जुन हातले नाम लेख्यो त्यस हातले नाम काट्न सक्छ । नियुक्ति दिनेले नियुक्ति रद्द गर्न सक्छ । मुख्य सचेतक मैले बनाएको थिएँ देव गुरुङलाई  । मैले बनाएको हो अस्तिका दिन मैले हटाइदिएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हो जरुरी परेका बेला...तर उहाँहरुको पद केही पनि चलाइदिएको छैन । आफै अबिर लाउँछन्, आफै लड्डु खान्छन्, आफै माला लगाउँछन् । मैले सुनेको एक जना अध्यक्ष छाने अरे, अर्को दलको नेता छाने अरे ... । कहाँ गयो दलका नेता छान्ने विधि र पद्धति ?

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले पार्टी फोडेर केन्द्रीय कमिटी बैठक बोलाएको ठाउँबाट भागेर हिँडेको र आफूखुसी ढंगले बहुमत आफूहरुसँग रहेको दाबी गरेको बताउनुभयो । उहाँले आफ्नै दलका नेताहरुले सरकारलाई काम गर्न नदिएको पनि दोहोर्याउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया