रेडियो स्टेशनसँगै मन जल्दा...

 फागुन १८, २०७७ मंगलबार १५:५९:३३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

आगलागीमा जलेका कम्प्युटरलगायतका सामग्री

सोमबार बिहान उठ्नसाथ आँखा परेको पहिलो खबर ‘सामुदायिक रेडियो सोलु एफएममा आगलागी’, सल्लेरीमा रहेका साथी मनोज श्रेष्ठले फेसबुकमा लेख्नुभएको स्टाटसले मन अत्तालियो । बिहान एक पटक सामाजिक सञ्जाल र समाचार पोर्टल चहारेर नित्यकर्ममा लाग्ने मलाई सोलुको घटनाबारेको खबरले शिथिल बनाइदियो, सपना झैँ लाग्यो । शरीरमा रगत यति चाँडो बहन थाल्यो कि लाग्छ आगो निभाउन मेरो रगतलाई हतार छ । तर विडम्बना मध्यरातमा लागेको आगोले एफएम स्टेशन सखाप भइसकेको थियो ।  

ज्यान भक्तपुरको बाल्कोटमा भए पनि मन सोलुको दोर्पुबजारमा रहेको एफएम स्टेशनमा दौडन थाल्यो, जहाँ मेरा एक दशक बितेका थिए । धेरै समय योङ्ग स्टार क्लबको पुरानो भवनबाट प्रसारण भएको रेडियो २०७१ सालमा नयाँ भवनमा सारिएको हो । क्लबको बहुउद्देश्यीय भवनको भुइँ तलामा बनाइएको स्टेशनमा मेरो विशेष सम्बन्ध छ । म रेडियोको स्टेशन म्यानेजर रहेको बेला बनाइएको भवनमा स्टुडियो निर्माण, कार्यकक्ष स्थापनालगायतका विषयमा छलफल भएका थिए । पुरानो भवनबाट नयाँ भवनमा सर्दै गर्दा भुइँमा कार्पेट बिछ्याउनेदेखि कुर्सी कता फर्काएर कसरी राख्ने, प्रमाणपत्र र विशेष तस्बिर कहाँ कसरी सजाउने भनेर समूहमा छलफल गरेका थियौँ । तिनै कुरा मेरो मनमा फर्की–फर्की आउन थाले । 

मभन्दा अघि एफएमको स्टेशन म्यानेजर रहनुभएका मनोज श्रेष्ठले केहीबेरमा आगलागीसम्बन्धी थप तस्बिर पनि सामाजिक सञ्जालमा राख्नुभयो । डढेर अवशेष बनेका सबै सामग्री आँखा अघि देखिन थाले । मिक्सर, माइक, कम्प्युटर, टेबुल, ती सबै मेरा प्रिय थिए । जसलाई चलाएर म रमाउँथेँ, तिनीहरूको अवशेष देख्दा मन साह्रै अमिलो हुँदो रहेछ । 

इन्टरनेट त के फोनको समेत सुविधा नभएको समयमा सुरु भएको एफएममा गीतका सीडी तथा क्यासेट प्रशस्त थिए । नयाँ भवनमा सर्दै गर्दा यी अब इतिहास भइसकेका अमूल्य सम्पत्ति हुन् भन्दै मिलाएर राखेका थियौँ । दिनमै सयौँ पत्र प्राप्त हुन्थे । अब फोन र इन्टरनेटले ठाउँ लिएकाले पत्र आउँदैनन् भन्दै स्राेताले पठाएका चिठी–पत्र बोरामा पोको पारेर सुरक्षित राखेका थियौँ । ती अमूल्य सम्पत्ति खरानी भइसकेका थिए । कम्प्युटरको सीपीयू नै लगेर रेडियो सगरमाथाबाट लगेका पुराना गीत अब बाँकी रहेनन् । ती सबै कुरा मेरो आँखामा आउन थाले । 

समुदायसँग जोडिएको रेडियो 

२०६१ सालको भदौ ११ गतेदेखि प्रसारण सुरु भएको सोलु एफएम तत्कालीन पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो हो । रेडियो स्थापनाकाे डेढ वर्ष पछिबाट मैले पनि काम सुरु गरेको थिएँ । अहिलेको रेडियो र त्यसबेलाको रेडियोमा आकाश–पातालको फरक थियो । अहिले जहीँतहीँ हुन थालेको एफएम, रेडियो त्यसबेला कौतुहलताको विषय थियो । मानिसहरू निकै टाढाटाढाबाट रेडियो हेर्न आउँथे । एक जनाको काम नै हेर्न आउनेहरूलाई रेडियो स्टेशन देखाउनु र यहाँबाट बोलेको तपाईँले सुन्नुहुन्छ भनेर बुझाउनु हुन्थ्यो । 

टेलिफोनको सुविधा नै नभएको समयमा इन्टरनेटको त कल्पनै थिएन । समाचार बुझ्न पैदल हिँडेर पुग्नुपर्थ्याे । कतिपय खबर हुलाकमार्फत आउँथे । सामुदायिक वन उपभोक्ता समूहको बैठक बसेको खबर हप्ता–पन्ध्र दिनपछि आइपुग्थ्यो, त्यो पनि समाचार बन्थ्यो । रेडियोमा आफ्ना कुरा बजेपछि मान्छे यति खुसी हुन्थे कि कोसेली बोकेर स्टेशनमै भेट्न आउँथे । हामी गाउँघरका खबर बनाउँथ्यौँ, राष्ट्रिय खबरका लागि कम्युनिकेशन कर्नर थियो, जहाँबाट बिहान प्रसारण हुने कायाकैरन र बेलुकीको नेपाल दर्पणनै त्यसबेला सोलुखुम्बु र आसपासका लागि राष्ट्रिय खबरका माध्यम थिए । सडक यातायातभन्दा पर, रेडियो नेपालको प्रसारणकाे समेत राम्रो पहुँच नभएको गाउँघरमा ती खबर निकै उपयोगी थिए । स्राेताकाे आगाध माया, रेडियोप्रतिको विश्वास देखेर पनि मैले यही कामलाई आफ्नो व्यवसाय बनाएँ । स्राेतकाे यति विघ्न मन जित्न सफल रेडियो आफै जलेर खरानी बनेको तस्बिरले मेरो मन छियाछिया बनायो । 

रेडियोको भिडमा विशिष्ट पहिचान 

अहिले एफएम, रेडियोहरूको भिड नै लागेको छ । सोलुखुम्बुमा मात्रै आधा दर्जन रेडियो सञ्चालनमा आए । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि एफएम, रेडियोको बाढी आयो भन्दा पनि फरक पर्दैन । विभिन्न उद्देश्य पूरा गर्न रेडियो प्रयोग भए । तर सामाजिक संस्थाबाट सञ्चालनमा ल्याइएको सोलु एफएमले स्राेतालाई सूचना, शिक्षा र मनोरञ्जनबाहेक केही सोचेन । जिल्ला तहमा हुने एफएमहरूमा विभिन्न आरोप लागिरहँदा पनि सोलु एफएमका विषयवस्तुमा कसैले औँला उठाएनन् । यसको कारण निःस्वार्थ सञ्चारकर्म थियो । मैले २०७२ सालमा सोलु एफएम छोड्दासम्म रेडियोको निष्पक्षतामा जुन छाप थियो, मैले सोलु छाडेको चार वर्षसम्म पनि उस्तै छ भन्ने मलाई विश्वास छ । 

पक्की भवनको भित्र काठका सिलिङ लगाइएका थिए । चिसोमा समस्या हुन्छ भनेर गाह्रो र काठका बीचमा मेट्रिस (ओछ्याउन प्रयोग हुने कपडा) लगाएका थियौँ । सल्लाको काठ र कपडा भएकाले पनि सायद क्षणभरमै आगो फैलिएको हुन सक्छ । तर मध्यरातमा भएको घटना थाहा हुन पनि समय लाग्यो होला त्यसैले भव्य भवनसँगै रेडियोका सबै सामग्री जलेर नष्ट भए । आगलागीको कारण त बिस्तारै थाहा होला तर आगलागीबाट जलेका ती अमूल्य सम्पत्ति नभेटिने गरी मासिएका छन् । हामीले हप्तौँसम्म गाउँमा पुगेर गाउँका आम नागरिकसँग कुराकानी गरेर तयार पारिएका सबै कार्यक्रमको अभिलेख सीडीमा थिए, ती पनि सँधैका लागि नासिएका छन् । 

आगलागी भइरहने सल्लेरी 

सल्लेरीमा बारम्बार आगलागीका घटना भइरहेका छन् । म सोलु एफएममा रहँदा फाप्लु, नयाँबजार र सल्लेरीमा निकै ठूला आगलागीका घटना भए, जहाँ दर्जनौँ घर जलेका थिए । आगलागी जोखिमका बारेमा बारम्बार चर्चा हुन्थ्यो तर काम भएको थिएन । यस पटक आगो लागेको थाहा पाएपछि नगरपालिकाको दमकल पुगेको थियो । तर मध्यरातमा भएको घटना थाहा पाएर दमकल बोलाउँदासम्म बाँकी के नै रह्यो र ! 

घटना धेरै हुन्छन् तर कुनै घटना मुटुमा नराम्रोसँग बिझ्दो रहेछ । मैले सोलु एफएम छाडेको पाँच वर्ष भइसक्यो तर पनि त्यहाँको घटनाले निद्रा हराएको छ । गाउँघरका लागि कस्ता कार्यक्रम उपयुक्त हुन्छन् भनेर हामीले गरेको छलफल, रेडियोले जात–धर्म–दल केही भन्दैन केवल तथ्य भन्दै गरेको बहस, नकारात्मकभन्दा सकरात्मक खबरलाई प्राथामिकता दिएर उत्साह थप्नुपर्छ भन्दै गरेको छलफल, हामीले गरेका सबै कामको अभिलेख राख्नुपर्छ भनेर दैनिक सबै प्रसारणको सीडी बनाएर थन्काएको, स्राेताले पठाएका चिठीदेखि सुझाव सबै सङ्गालेर राखेको क्षणको सम्झनाले सताइरहेको छ । रेडियोमा काम गर्नेले नियमित पारिश्रमिक पाउँदैनन्, दल वा समूह विशेषको चर्चा हुन्छ, कसैको विरुद्ध प्रयोग हुन्छ जस्ता नकारात्मक चर्चा देशव्यापी हुँदा त्यस्ता कुनै समस्याले छुन नसकेको सामुदायिक रेडियो सोलु एफएम आज आफै जलेको छ ।   

अन्तिम अपडेट: चैत १२, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया