ज्येष्ठ नागरिक लक्षित खोप अभियान : वृद्धवृद्धा र जनप्रतिनिधि अलमलमा

 फागुन २५, २०७७ मंगलबार १०:२६:३७ | जानुका दुवाडी
unn.prixa.net

रासस

काठमाण्डाै - अन्दाजी ८०, ८५ वर्षकी वृद्धा । सेतै फुलेको कपाल, चाउरिएको छाला।

सुकिलो लुगा लगाउनुभएकी उहाँ काठमाण्डौको कीर्तिपुर नगरपालिकामा रहेको त्रिभुवन विश्वविद्यालयको खोप केन्द्रमा पुग्नुभयो । खोप लगाउन पाइने भयो भनेर खुशी देखिनुभएकी उहाँले खोप केन्द्रबाट झण्डै एक  घण्टा जति लाग्ने ठाउँ टौदहबाट हिँडेरै आएको बताउनुभयो । खोप लगाउनका लागि नागरिकता चाहिने भएकाले  उहाँले नागरिकता साथमा ल्याउनुभएको थियो । 

नागरिकताअनुसार उमेर ६३ वर्ष मात्रै देखियो । वास्तविक उमेर त्योभन्दा धेरै भए पनि नागरिकतामा ६३ वर्ष मात्रै भएकाले उहाँले खोप लगाउन पाउनु भएन । नागरिकता देखेपछि  ६३ वर्ष मात्र उमेर रहेछ भन्ने थाहा भयो ।  ६५ वर्षभन्दा माथि उमेर समूहकालाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने भनिएकाले उहाँ प्राथमिकतामा पर्नुभएन । 

सरकारले सुरुमा ५५ वर्षभन्दा माथि उमेर समूहकालाई लक्षित गरेर खोप लगाउने भनेको थियो । फेरि सरकारले निर्णय परिवर्तन गरेर पहिला ६५ वर्ष उमेर समूहभन्दा माथिकालाई खोप लगाउने, त्यसपछि मात्र अरुले लगाउने भनेपछि उहाँ प्राथकितामा नपर्नु भएको हो । 

कीर्तिपुरकै आयुर्वेदिक स्वास्थ्य चौकीमा खोप लगाउन आएका ६० वर्षका अर्का वृद्धले पनि खोप लगाउन पाउनु भएन । सरकारले अन्तिम समयमा खोप लगाउनका लागि प्राथमिकतामा पर्ने वर्ग परिवर्तन गरेपछि ज्येष्ठ नागरिक मात्रै होइन कतिपय जनप्रतिनिधि पनि अलमलमा परे । 

'कतिपय पालिकामा वा वडामा ५५ वर्षमाथिका सबैलाई खोप लगाउन केन्द्रमा आउनु भनेर सूचना जारी गरिएको थियो । अन्तिममा सरकारको निर्णय परिवर्तन भयो तर पालिकाका सूचना  परिवर्तन भएन । जसका कारण ५५ वर्षभन्दा माथि उमेर समूहका मानिस पनि खोप लगाउन आए । के गर्ने, भन्ने दोधार भयो । हामी आफैँ अलमल पर्यौँ' कीर्तिपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमन महर्जनले भन्नुभयो । 
अहिले भने खोप केन्द्रमा आएका तर प्राथमिकतामा नपरेकालाई सम्झाइ, बुझाइ गरेर पठाउने गरिएको उहाँले बताउनुभयो । 

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा पनि ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई खोपकै विषयलाई लिएर अलमल भएको प्रवक्ता राजाराम पुडासैनी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सुरुमा ५५ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने भनेर सूचना जारी गरियो । तर ढिला गरेर मात्र निर्णय परिवर्तन गर्दा समस्या भयो ।’

५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक पनि खोप केन्द्रमा पुग्ने गरेकाले  व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । खोप लगाउन उत्साह बोकेर केन्द्रसम्म आएकाहरु यसबाट वञ्चित भएका छन् । खोप केन्द्रसम्म आएका तर तत्काल प्राथमिकतामा नपरेकाहरुलाई सम्झाइ–बुझाइ गरेर पठाउने गरेको उहाँले बताउनुभयो । 

काठमाण्डौ महानगरपालिकाले भने सरकारले निर्णय परिवर्तन गर्नेबित्तिक्कै सामाजिक सञ्जालमार्फत् जानकारी गराएको थियो । धेरै जनाले सूचना परिवर्तन भएकाबारे थाहा पाए । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भने झुक्किएर खोप केन्द्रसम्म पुगे । झुक्किएर पुग्नेहरुलाई सम्झाउने काम भइरहेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवत्ता डा. समिर अधिकारी सरकारले प्रस्ट निर्णय गरेकाले यसमा झुक्किनु नपर्ने हो भन्नुहुन्छ । उहाँकाअनुसार अहिले चलिरहेको ज्येष्ठ नागरिक लक्षित खोप अभियान हो ।  ज्येष्ठ नागरिकभित्रकालाई पनि प्राथमिकताको क्षेत्र छुट्याउँदा ५५ वर्षभन्दा माथि उमेर समूहकालाई पहिला दिने भनिएको हो ।

आउँदो चैत १० गतेपछि ५५ वर्षभन्दा माथिकालाई पनि खोप लगाइन्छ । त्यसपछि बिस्तारै समुदायका अरु मानिसलाई पनि लगाउँदै जाने हो  ।  ५, ७ दिन अगाडिपछाडि मात्रै भएकाले यो खासै ठूलो कुरा नभएको बताउनुभयो ।

बिस्तारै समुदायका अरु जोखिम वर्ग र देशभरका ७२ प्रतिशत नागरिकलाई नै पुग्ने गरी खोप लगाउने गरी सरकारले तयारी गरिरहेको उहाँले बताउनुभयो । चैत १० गतेपछि दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक/निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप लगाउने सरकारको तयारी छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया