नवौँ महाधिवेशनबाट निर्वाचित पदमा कुनै तलमाथि भएको छैन, सबै यथावत् हुनुहुन्छ

 चैत १, २०७७ आइतबार १३:५८:४९ | प्रदीप ज्ञवाली
unn.prixa.net

सर्वोच्च अदालतको फैसलासँगै अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहेन । फैसलाले पार्टीलाई पुरानै अवस्थामा फर्काइदियो । अब हामी नेकपा एमालेको आन्तरिक जीवनलाई व्यवस्थित गर्नतिर लाग्नुपर्ने हुन्छ ।

सुरुमा नेकपा एमालेको नेतृत्वकर्ता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब कसरी अघि बढ्ने भन्नेबारे आवश्यक तयारी गर्नुपर्छ । अर्को धारमा उभिनुभएका कमरेडहरूलाई समेत कसरी समाहित गरेर पार्टी अघि बढ्ने भन्ने जिम्मेवारी अध्यक्ष ओलीको काँधमा छ । 

हामीसँग सम्बन्धमा एकखालको दरार, तिक्तता आइलाग्यो । एकले अर्को समूहलाई निषेध गरेर अघि बढ्ने अवस्था बन्यो । अर्को धारमा रहेका साथीहरूलाई औपचारिक रूपमा बैठक बसेर आह्वान गर्नुपर्ने हुन्छ । त्यसैको तयारी स्वरूप अस्तिको निर्णय सार्वजनिक भएको हो । विगतमा जे जस्तो भए, ती कुराबाट पाठ सिक्न सकिन्छ तर सच्याउन सकिँदैन । अब पाठ सिकेर अघि बढौँ र सबै मिलेर अघि बढौँ भन्ने मनसायको तयारीको रूपमा यसलाई बुझ्नुपर्छ ।

अबको चैत ७ गतेको बैठकका लागि केही न केही पूर्वतयारी आवश्यक पर्ने देखियो । त्यही तयारी स्वरूप निर्णय भएको हो । माधव नेपालजीहरूले बैठकको वातावरण सहज बनाउन सक्नुहुन्छ । त्यो गर्ने भनेको पार्टी अध्यक्ष केपी शर्मा ओली र हामीहरूले नै हो । पछिल्लो निर्णय पार्टी फुटाउने मनसायले आएको होइन, एकताका लागि भएको हो । उहाँहरूले त्यसरी नै बुझिदिनुपर्‍याे । 

महाधिवेशन गर्नेदेखि नयाँ जिम्मेवारी बाँडफाँडको अर्थ

विष्णु पौडेल नेकपाको महासचिव हुनुभएको थियो । पार्टी बिउँतिएपछि उहाँ नेकपा एमालेको उप-महासचिवमा झर्नुभयो । यस्ता कतिपय कुरामा प्रभाव त पर्ने रहेछ नि ! किनभने स्थिति नै बदलियो ।

कामको जिम्मेवारीका लागि सामान्य हेरफेर गरेका हौँ । केही प्रदेश इन्चार्ज र केही प्रदेशको नेतृत्वमा सामान्य फेरबदल गरेका छौँ । यी सबै अस्थायी प्रबन्धहरू हुन् । उहाँहरू आउने र सक्रिय हुने अवस्था बन्यो भने नमिलेको रहेछ भने त्यसलाई मिलाएर अघि बढ्न सकिन्छ ।

अहिले पद त यथावत् नै छ । सञ्चारमाध्यममा यो विषय निक्कै तरङ्गित बन्यो । अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज भएको खबर आयो तर वास्तविकता त्यो होइन । महाधिवेशन गर्नका लागि महाधिवेशन आयोजक कमिटी बनायौँ भने सहज हुन्छ भनेर आयोजक कमिटी बनाइएको हो । 

नवौँ महाधिवेशनबाट निर्वाचित पदमा कुनै तलमाथि भएको छैन । कार्य विभाजनको कुरा गर्ने हो भने, कार्य विभाजन त क्षण क्षणमा परिवर्तन हुन सक्छ । जस्तो कि:- कोही साथी मन्त्री बन्नुभयो भने उहाँले नियमित रूपमा सङ्गठनात्मक जिम्मेवारी लिने सम्भावना हुँदैन र उहाँले सम्हालिरहनुभएको सङ्गठनात्मक जिम्मेवारीलाई हामीले तुरुन्तै परिवर्तन गर्छाैँ । यस्ता कतिपय कुरा निरन्तर भइरहने विषय हुन् । यसमा कुनै अनर्थ सोच्नै पर्दैन ।

माधव नेपाल समूहले राष्ट्रिय भेला गर्ने कुरा अनौठो होइन

माधव नेपाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्छु भन्नु कुनै अनौठो कुरा होइन । यसअघि पनि उहाँहरूले तारन्तार बैठक बस्दै आउनुभएको थियो । त्यसअघि विभिन्न चरणमा बैठक बसेर केपी ओलीको प्रवृत्तिकाविरुद्ध सङ्घर्ष गर्ने निर्णय गर्नुभयो ।

ओलीलाई ठेगान लगाउने, तह लगाउने निष्कर्षसहित अघि बढ्नुभयो । अघिल्ला बैठकका निर्णयलाई आधार बनाउनका लागि मात्रै उहाँहरूले राष्ट्रिय भेलाको कुरा गर्नुभएको हो भन्ने मलाई लाग्छ । उहाँहरूमा एकखालको सोचमा समस्या छ ।

मिलेर अघि बढ्ने कि भिड्दै हिँड्ने ?

दुई पार्टी मिलेर बहुमत प्राप्त पार्टी नेपाल कम्युनिस्ट पार्टी बन्यो । हाम्रा नेता कमरेडहरूलाई ठूलो अवसर थियो तर त्यसको सदुपयोग गर्न सक्नुभएन । एकातिर प्रचण्ड भन्दै हुनुहुन्छ, ‘माधव कमरेड कि त एमाले कब्जा गर्नुहुन्छ, हैन भने विद्रोह गरेर निस्कनुहुन्छ ।’

माधव नेपालजीहरूको क्रियाकलाप ठ्याक्कै त्यससँग मिल्दाजुल्दा छन् । प्रचण्डसँग नै सल्लाह गरेर नै विद्रोह गरेको भनेर त म कसरी भनुँ आफ्ना नेताहरूलाई । आफ्ना नेताहरूप्रति त्यो लेभलको अविश्वास पनि गर्न चाहन्न तर विषय चाँहि ठ्याक्कै मिल्दो छ । लगातार बैठक बसिरहनुभएको छ, त्यसैअनुसारको सन्देशहरू दिइरहनुभएको छ ।

ओलीले जोगाएको एमालेको साख

केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन समाप्त हुने भयो भनेर उहाँहरूले भन्दै हुनुहुन्छ । म केही तथ्य प्रस्तुत गर्न चाहन्छु । २०६४ सालको पहिलो संविधान सभाको चुनाव भएको थियो । त्यो समय तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले रौतहट १ र काठमाण्डाै २ बाट लड्नुभयो । परिणाम के आयो हामी सबैलाई थाहै छ, उहाँले हार्नुभयो ।

२४० प्रत्यक्ष निर्वाचन क्षेत्रमा नेकपा एमाले ३३ सिटमा खुम्चियो । त्यो ठाउँबाट नेकपा एमालेलाई यहाँसम्म ल्याउने काम केपी शर्मा ओलीले नै गर्नुभएको हो । २०७३ सालमा कांग्रेस-माओवादी गठबन्धन सरकारले गराएको चुनावमा कांग्रेस र माओवादी गठबन्धनकै आधारमा चुनावी मैदानमा जानुभएको थियो पालिकास्तरको चुनावमा ।

केपी ओली नेतृत्वको नेकपा एक्लै चुनावी मैदानमा गएको थियो । त्यो बेला एक्लै मैदानमा जाँदासमेत सबैभन्दा ठूलो पार्टी भएको होइन ? २०७४ सालको चुनावमा एमालेको उम्मेदवारले ८० ठाउँमा विजय हासिल गर्‍याे । त्योबेला नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भयो । के भनेको त्यस्तो ? यही हो आन्दोलन सकियो भनेको ?  

ओलीप्रति माधव नेपालहरूको पूर्वाग्रही टिप्पणी

राष्ट्रिय, राष्ट्रिय एकता र आर्थिक विकास एवम् समृद्धिका सवालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा भएका कामलाई त्यतिकै ओझेलमा पर्ने काम गर्न मिल्दैन । ​माधवजीहरूले नितान्त पूर्वाग्रही टिप्पणी गरिरहनुभएको छ । वस्तुतः ओलीको नेतृत्वमा भएको आन्दोलनले नयाँ/नयाँ सफलताहरू प्राप्त भएका छन् ।

कोही पनि मानिस कमजोररहित हुँदैनन् । व्यक्तिका रूपमा उहाँको पनि केही सीमा होलान् तर उहाँको नेतृत्वमा भएका उपलब्धिप्रति हामीले गर्व गर्नुपर्छ । कम्युनिस्ट आन्दोलन र समग्र देशले पनि केपी ओलीको नेतृत्वमा नयाँ उचाइ हासिल गरेको छ । अब यही कुरा साथीहरूलाई पटक्कै पाच्य भइरहेको छैन । 

केपी ओलीले हठ नत्याग्नुको तात्पर्य

सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु हुन्न । केही नेतालाई फेरि एक पटक प्रधानमन्त्री हुने रहर लाग्यो भन्दैमा छाडिदिनुपर्ने हो र ?

उहाँहरूले शपथ ग्रहणका लागि सिलाएर राख्नुभएका कपडा पुरानो हुन थाल्यो भनेर छाडिदिनुपर्ने हो र ? ओली एउटा विधिबाट प्रधानमन्त्री बन्नुभएको हो । उहाँले नेतृत्व गरेको दल सबैभन्दा ठूलो दलको रूपमा आयो । उहाँले गठबन्धन गरेको दल तेस्रो दल बन्यो । दुई वटा पार्टीबीच एकीकरण भयो । 

चुनावअघि नै भावी प्रधानमन्त्रीका रूपमा नागरिक माझ उहाँ प्रस्तावित व्यक्ति हुनुहुन्थ्यो । त्यस आधारमा उहाँ प्रधानमन्त्री बन्नुभएको हो । उहाँले पटक-पटक भन्नुभएको छ– संसदभित्र अल्पमतमा पर्ने हो भने कुनै पनि प्रधानमन्त्रीले एक मिनेट पनि बस्न सक्दैनन् । कि त त्यो बाटो जानुपर्‍याे । 

व्यक्ति मन परेन भनेर त्यसको आधारमा ओलीले राजीनामा दिनुपर्ने ? कसैलाई रहर लाग्दैमा छाडिनुपर्ने भन्ने त हुन्न होला नि ! उहाँले राजीनामा दिन त केही आधार पक्कै पनि चाहिन्छ होला नि त ! 

नेतृत्व हस्तान्तरणको कुरा

अहिले नै दोस्रो तहका नेताको नेतृत्वमा सरकार बनाउन जरुरी छैन । त्यसको पनि एउटा विधि हुन्छ । दोस्रो तहका नेताहर"ले देशको समस्या समाधान गर्न यस कारणले म सक्षम छु र यसकारण मैले अवसर पाउँ भनेर त्यो दावा प्रस्तुत गर्ने पार्टीको केन्द्रीय कमिटीमा हो, कि त संसदीय दलमा त्यो दावा प्रस्तुत गर्नुपर्‍याे ।  

कसैले पनि दावा प्रस्तुत गर्नुभएको अवस्था छैन । दावा प्रस्तुत गर्नुभयो भने छलफल गर्न सकिन्छ । साँच्चै नै त्यो उचित र आवश्यक हो भने नेकपा एमाले नेतृत्व हस्तान्तरण गर्न र नयाँ नेता जन्माउन तयार छ । नेतृत्व हस्तान्तरण गर्ने कुरा हाम्रा निम्ति कुनै अनौठो कुरा भएन । 

तर प्रश्न चाँहि त्यो जरुरी छ कि छैन र त्यसो गर्दा देशले के पाउँछ भन्ने हो । सिंहदरबारमा एक थान फोटो छापिने कुरा मात्रै हो कि साँच्चै नै त्यसले देशलाई मार्गदर्शन गर्छ भन्ने कुरा चाँहि महत्त्वपूर्ण हो । अरू जे सुकै होस् तर केपी ओली चाँहि रहन भएन भन्ने खालको आग्रहले काम गरेको छ, जुन आग्रहको कुनै अर्थ रहँदैन । 

(परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रदीप ज्ञवाली

ज्ञवाली नेपाल सरकारका परराष्ट्र मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया