काठमाण्डौ महानगरपालिकाले विद्युतीय फोहर व्यवस्थापन गर्ने

 चैत ६, २०७७ शुक्रबार १८:३५:१४ | जानुका दुवाडी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विद्युतीय फोहर व्यवस्थापन गर्ने भएको छ । बिग्रिएका मोबाइल, ल्याप्टप, तारलगायतका विद्युतीय फोहोरले वातावरण प्रदूषित भएकाले व्यवस्थापन गर्न लागिएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिनुभयो । 

फोहर व्यवस्थापनका लागि महानगरपालिकाको वातावरण विभाग प्रशासन शाखा प्रमुख सरिता राईको संयोजकत्वमा एक कार्यदलको गठनसमेत गरिएको छ । यो कार्यदलले विद्युतीय फोहर सङ्कलन र पुनःप्रयाेगका लागि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेर काम थाल्नेछ । विद्युतीय फोहर सङ्कलनको काम भने वडा नम्बर १५ बाट सुरु गर्ने तयारी छ । विद्युतीय फोहर वातावरणीय प्रदूषणसँग जोडिएको तर व्यवस्थापनमा भने चुनौती भएकोले कार्यदल नै गठन गर्नुपरेको डंगोलले बताउनुभयो । 

गठन गरेको कार्यदलले अब विद्युतीय फाेहरलाई ल्याण्डफिल साइटमा फाल्ने, जलाउने वा पुनःप्रयाेग कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने छ । अहिले बिग्रिएका मोबाइल, ल्याप्टप, तारलगायतका फोहर व्यवस्थापनमा चुनौती थपिएको यही क्षेत्रमा लाग्नुभएका प्रकाश अमात्यले जानकारी दिनुभयो । 

विद्युतीय सामान कर तिरेर नेपाल ल्याइएको हुन्छ । विद्युतीय फोहर देशको आर्थिक अवस्थासँग पनि जोडिएको हुन्छ । त्यसैले यसको कम प्रयोग गर्नेतर्फ ध्यान दिन आवश्यक भएको अमात्यले बताउनुभयो । फोहर व्यवस्थापनमा सहयोग पुर्‍याउनका लागि सकेसम्म यस्ता उपकरणको प्रयोग नै कम गर्ने, अर्को कामका लागि प्रयोग गर्ने, फेरि प्रयोग र कुहाउने विभिन्न तरिकाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने जोड दिइएकाे छ । 

विदेशबाट उपहारको रूपमा भित्र्याइएका कतिपय विद्युतीय उपकरणहरू साधारण मर्मतपछि फेरि प्याकेजिङ गरिएको हुनाले विद्युतीय फोहरलाई रि–साइक्लिङको प्रक्रियामा लैजान सकिन्छ । यो कार्यक्रमका लागि काठमाण्डौ महानगरपालिकाले बजेट छुट्याएर निरन्तरता दिने जनाएको छ । 

विद्युतीय फोहरमा कुनै शुल्क लिएर बेच्न मिल्ने हुन्छ भने कुनैको मूल्य तिर्नुपर्ने हुन्छ । एउटा व्यक्तिले फोहर भनेर फालेको अर्को व्यक्तिका लागि आवश्यक हुन सक्छ र त्यसलाई पुनःप्रयोग गर्न सकिन्छ ।  
आधुनिकतासँगै विभिन्न प्रकारका फोहर उत्पादन हुँदै आएको छ । अरू फोहोर भन्दा विद्युतीय फोहोर व्यवस्थापनमा चुनौती देखिएकाले छिटो भन्दा छिटो यसतर्फ लाग्नुपर्ने यो क्षेत्रका विज्ञ  बताउँछन् ।  

औद्योगिक तथा घरेलु फोहरकै व्यवस्थापन हुन नकसकेको नेपालमा विद्युतीय फोहरको जोखिम झन् चनौतीपूर्ण देखिएको छ । विद्युतीय सामग्रीको बढ्दो उपयोग र त्यसको उचित व्यवस्थापन नहुँदा जोखिम बढ्दै गएको विद्युतीय फोहरसम्बन्धी अनुसन्धानकर्ता त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक ज्योति गिरीले बताउनुभयो ।  

सर्वसाधारणले चलाउने मोबाइल, टेलिफोन, टेलिभिजन, ल्यापटप, बिजुलीको फ्युज, ब्याट्रीजस्ता सामग्रीको उपयोगिता सकिएपछि फालिएको अवस्था नै विद्युतीय फोहोर हो । आयु सकिएका यस्ता यन्त्र तथा उपकरणको उचित व्यवस्थापन हुन नसके गम्भीर वातावरणीय प्रभाव पर्न सक्ने उनको भनाइ छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया