पर्वतारोहणमा आशा

 चैत ७, २०७७ शनिबार १२:३:८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

सोलुखुम्बुको खुम्जुङका पेम्बा शेर्पा विदेशीलाई डोहोर्याउँदै हिमाल पुग्न थालेको १४ वर्ष भयो । सुरुमा भरिया बनेर सगरमाथाको आधारशिविर पुगेका शेर्पाले पाँच पटक त सगरमाथाको शिखर चुम्नुभयो ।

सगरमाथा बाहेकका अरु हिमालका आधारशिविर तथा शिखरमा पनि जानुहुन्छ । वर्षमा दुईपटक हिमालतिर उक्लने उहाँको परिवार हिमालकै आम्दानीले चलेको छ । तर कोरोना महामारीले उहाँलाई दिनुसम्मको पीडा दियो । गएको वर्ष सगरमाथा जान सबै तयारी पूरा भइसकेपछि महामारीका कारण रोकियो । 

भदौ/असोजसम्म जसोतसो घरखर्च चलाउँछु त्यसपछि हिमाल जान पाइहालिन्छ भन्ने आशा बोकेका शेर्पा भदौ/असोजमा पनि हिमाल जान पाउनुभएन । एक वर्ष चर्को अभाव भोगेका शेर्पा यसपालि भने हिमाल चढ्न पाउँछु भनेर खुशी हुनुहुन्छ ।

हिमाल आरोहणका लागि पर्यटक नआउँदा पर्यटक डुलाउने तथा भारी बोक्ने मजदुर, घुमघामको व्यवस्थापन गर्ने कम्पनीहरुसँगै होटल व्यवसायी, किसानलगायत धेरैको रोजीरोटी गुम्यो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पा पर्वतारोहणका लागि पर्यटकहरु नआउँदा हिमालमा जाने मानिस मात्र हैन पाँचतारे होटलदेखि साना चिया पसल तथा किसानदेखि ट्याक्सी ड्राइभरसम्म समस्यामा परेको बताउनुहुन्छ ।

एक जना पर्वतारोही नेपाल आउँदा सरकारलाई राजश्वदेखि ठूला तथा साना व्यवसायी र किसानहरु समेत लाभान्वित हुन्छन् । आउँदो वसन्त ऋतुमा आरोहण उत्साहप्रद हुने विश्वाससँगै अहिले यी सबै क्षेत्रमा आशा बढेको निर्देशक शेर्पा बताउनुहुन्छ । 

अनुमति लिने क्रम सुरु

आउँदो वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने क्रम सुरु भएको छ । नुप्त्से हिमाल आरोहणका लागि चार जना सम्मिलित एउटा समूह र मनास्लु हिमालका लागि एक जनाले अनुमति लिइसकेका पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

दुई समूहले मात्रै अनुमति लिए पनि प्रक्रिया सुुरु गर्ने तथा जानकारी दिने क्रम बढेको आचार्य बताउनुहुन्छ । बहराइनका राजकुमारसहितको एउटा टोली सगरमाथा आरोहणका लागि नेपाल आइसकेको छ । क्वरेण्टीन अवधि पूरा भएपछि उनीहरुले अनुमति लिने समूहको आरोहण कार्य व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक कम्पनीका अध्यक्ष मिङ्मार शेर्पाले बताउनुभयो । 

सेभेन समिटका अध्यक्ष शेर्पा आउँदो वसन्तयाममा उत्साहपूर्ण आरोहण हुने बताउनुहुन्छ । हिमाल आरोहणका लागि आउने समूहहरुले प्रायजसो कम्पनीहरुसँग सम्पर्क गरिसकेका छन् । आफ्नो कम्पनीबाट सन् २०१९ को झण्डै ९० प्रतिशत पर्वतारोही आउने भन्दै शेर्पा भन्नुहुन्छ ‘सगरमाथा आरोहणका लागि मात्रै सबै कम्पनीमार्फत झण्डै तीन सय ५० विदेशी आरोही आउने अनुमान छ । यो संख्या सन् २०१९ को भन्दा केही कम भए पनि सरदरमा राम्रो संख्या हो ।’

नेपालमा सन् २०१८ सम्म वर्षमा सरदर तीन सय ५० जना विदेशी आरोही सगरमाथा आरोहणका लागि आउने गर्थे । सगरमाथासँगै अरु हिमाल आरोहणका लागि आउने आरोहीको सङ्ख्या पनि राम्रो रहने शेर्पा बताउनुहुन्छ । उहाँकाअनुसार अहिले कम्पनीहरुसँग सम्झौता गर्ने तथा आरोहीहरु नेपाल आउने क्रम नै सुरु भइसकेको छ ।

सन् २०१९ कै तुलनामा नपुगे पनि सगरमाथा, नुप्त्से, ल्हो्त्से, मनास्लु, कञ्चनजङ्गालगायतका हिमाल आरोहणका लागि आउने पर्वतारोहीको संख्या उत्साहपूर्ण हुने व्यवसायीहरु बताउँछन् । प्रख्यात आरोही तथा आरोहण व्यवसायी मिङ्मार डेभिड शेर्पा पनि कोरोना महामारीले थलिएको पर्वतारोहण व्यवसाय लयमा फर्कने आशा बढेको बताउनुहुन्छ । यसअघि आइरहेका पर्वतारोहीसँगै नयाँ व्यक्ति समेत पर्वतारोहणका लागि आउन सम्पर्क गर्नुले कोरोना महामारीले थलिएको पर्वतारोहण क्षेत्रमा खुशीका किरण देखिएको उहाँको भनाइ छ । 

साना हिमालमा अझै समस्या

ठूला हिमाल आरोहणका लागि आउने पर्वतारोहीको सङ्ख्या उत्साहपूर्ण रहे पनि साना पिक तथा हिमाल आरोहण र हिमाली पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या भने अपेक्षाअनुसार नदेखिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा बताउनुहुन्छ ।

सङ्घले शुल्क उठाउने तथा व्यवस्थापन गर्ने गरिरहेका साना हिमाल आरोहणका लागि आउनेहरुको सङ्ख्या सन् २०१९ को भन्दा निकै कम हुने देखिएको लामा बताउनुहुन्छ । साना हिमाल आरोहण तथा पदयात्राका लागि आउने विदेशीहरु छोटो बिदामा आउने र नेपालमा सात दिन क्वरेण्टीन अनिवार्य भएकोले त्यहाँ सङ्ख्या कम हुने भएको उहाँको भनाइ छ ।

लामा भन्नुहुन्छ ‘हिमाली पदयात्रा तथा पिक र साना हिमाल आरोहणका लागि आउन सम्पर्क गर्नेहरु पनि धेरै छन् तर सरदर १५ दिनको यात्रामा आउने विदेशीहरुलाई सात दिन क्वरेण्टीन नै अनिवार्य भएकाले आउने नसक्ने गुनासो गर्ने गर्ने गरेका छन् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल आउने पर्यटकका लागि कोरोना महामारीका कारण गरेको क्वरेण्टीन, भिसा प्राप्तिलगायतका व्यवस्थालाई सुधार गर्ने गरी निर्देशिका परिमार्जन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याएको छ ।

अनिवार्य क्वरेण्टीनको व्यवस्था हटाउनेलगायत भिसा प्राप्तिमा सहजता बनाएमा पदयात्रा तथा साना हिमाल आरोहणमा आउनेको सङ्ख्या पनि बढ्न सक्ने अध्यक्ष लामा बताउनुहुन्छ । लामा भन्नुहुन्छ ‘कोरोना परीक्षणका लागि पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका पर्यटकलाई नेपाल आउनसाथ पुनः पीसीआर परीक्षण गरेर नेगेटिभ आएमा तत्काल घुम्न निस्कन अनुमति दिने, अनिवार्य कोरोना बीमाको व्यवस्था सुधार र अन अराइभल भिसालाई कोरोना महामारी अघिकै अनुसार व्यवस्था गरेमा अझै पनि समय छ । तर केही समय ढिला भएमा आउँदो वसन्त ऋतु पनि साना हिमाल तथा पिक र हिमाली पदयात्रामा निराशा छाउन सक्छ ।’

व्यवसायीहरु पाहुना सत्कारमा आतुर

पर्वतारोहणका लागि नेपाल आउने पर्यटकमध्ये धेरैजसो सगरमाथा क्षेत्र जान्छन् । सगरमाथा, नुप्त्से, ल्होत्से, आमादाब्लम लगायतका हिमाल सगरमाथा क्षेत्रमा भएकोले त्यहाँ आरोहीहरुको भीड लाग्ने गरेको हो । आरोहण तथा पदयात्राका लागि पुग्ने पर्यटकलाई लक्षित गरी सगरमाथा क्षेत्रमा सुविधासम्पन्न होटलहरु सञ्चालन भइरहेका छन् ।

गएका दुई वटा सिजन पर्यटक आगमन ठप्प हुँदा समस्यामा परेका व्यवसायीहरु अहिले पर्यटकलाई स्वागत गर्न आतुर छन् । नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पा भन्नुहुन्छ ‘कोरोना महामारी सामान्यतिर गइरहेको छ, हामी पर्यटकलाई स्वागत गर्न आतुर छौं, हामी अघिल्ला वर्षहरुमा दिइने सबै किसिमका सेवासहित हाजिर छौं । दुई वटा सिजनमा व्यवसाय ठप्प हुँदा यसपालि सेवा सविधा कम होला कि भन्ने सोच्नुपर्दैन, हामी सेवाका लागि तयारी अवस्थामा छौँ ।’

पर्वतारोहणको क्षेत्रमा कहलिएको कम्पनी सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्मार शेर्पा पनि आफूहरु पर्वतारोहीको व्यवस्थापनका लागि आफूहरु तयारी अवस्थामा रहेको बताउनुहुन्छ । शेर्पा भन्नुहुन्छ ‘हामीसँग दक्ष जनशक्ति तयारी अवस्था छ । आरोहणको व्यवस्थापनमा विश्वकै उत्कृष्ट जनशक्ति र कम्पनीहरु नेपालमा छन् ।

कोरोना महामारीले लामो समय आम्दानी गुमाएको भए पनि हिमालमा चाहिने जनशक्ति पलायन भएका छैनन्, मुख्य कम्पनीहरु बन्द भएका छैनन् त्यसैले आरोहीहरु ढुक्क भएर आउन सक्नुहुन्छ र उहाँहरुले सम्पर्क तथा सम्झौता पनि गरिरहनु भएको छ । 

सन् २०१९ कै तुलनामा पर्वतारोहण व्यवसाय पुग्न अझै केही वर्ष लाग्ने भए पनि आउँदो वसन्त ऋतु उत्साहपूर्ण हुने र यसको लागि सबै किसिमका व्यवसायी तयारी अवस्थामा रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘हामी कहीँकतै चुक्दैनौँ, अनुमति प्राप्त जुन हिमालमा जाने पर्यटक आए पनि हामी उनीहरुको व्यवस्थापनमा तयारी छौँ, साना हिमाल तथा पिक आरोहण र पदयात्राका लागि पर्यटक आएमा पनि हामी तयार छौं, सरकारले चाहिँ कोरोना महामारीका कारण गरेका केही व्यवस्थाहरु सुधार्नुपर्छ ।’

सुरक्षित यात्रा गराउँछौँ - व्यवसायी

नेपालमा कोरोना महामारीको प्रभाव कम भए पनि हटिसकेको छैन । अहिले पनि देशका धेरैजसो ठाउँमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम चलिरहेकै छ । यस्तो समयमा घुम्न आउने पर्यटकहरुको सुरक्षालाई ख्याल गर्नुपर्ने हुन्छ । यहाँको स्वास्थ्य सेवा, उद्धार प्रणाली, कोरोना सङ्क्रमण भएमा गर्ने व्यवहारलगायतका कारण पर्यटकहरु डराउन सक्छन् । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा यी कुनै पनि कुरालाई लिएर पर्यटकहरु डराउनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ ।

अध्यक्ष लामा भन्नुहुन्छ ‘हाम्रो देशका हिमाल हेर्न र चढ्न जहाँजहाँबाट पर्यटकहरु आउँछन् ती देशको अवस्थाभन्दा नेपालमा कोरोना महामारीको प्रभाव कम छ । सङ्क्रमण र मृत्युदर मात्र हैन सङ्क्रमितप्रतिको व्यवहार, उद्धार, स्वास्थ्य सेवालगायतका विषयमा हामी अब्बल छौं ।

यो कुरा उनीहरुले पनि बुझिसकेका छन् । हिमाली क्षेत्रमा भीडभाड कम हुने, स्वच्छ हावापानी हुने, मनोरम दृष्यले महामारीको पीडा भुल्न सहयोग गर्ने जस्ता कारण पर्यटकहरु लोभिएका छन् र हामी उनीहरुलाई कोरोना महामारीबाट सुरक्षित रुपमा घुमाएर पठाउन सक्छौं ।

यो कुरामा व्यवसायीहरुलाई कुनै चिन्ता छैन । किनकी हामीसँग ज्ञान र स्रोतसाधन दुवै छ ।’ व्यवसायी कामी शेर्पा पनि पर्यटक जाने ठाउँका बासिन्दा र पर्यटक दुवैको स्वास्थ्य सुरक्षामा आफूहरु तयार रहेको बताउनुहुन्छ । पर्यटकको व्यवस्थापनमा खटिने मजदुरहरु पनि पीसीआर परिक्षण, क्वरेण्टीन सबै मापदण्ड पूरा गर्न तयार रहेको र केही खाँचो नहुने व्यवसायीहरु बताउँछन् । 

कोरोना महामारीले थलिएका धेरै व्यवसायमध्ये पर्वतारोहण पनि मुख्य व्यवसाय हो । पर्वतारोहण ठप्प हुँदा ठूला पर्यटन व्यवसायी, मजदुर, होटल, साना चियापसल, हेन्डीक्राफ्ट बेच्नेदेखि ट्याक्सी ड्राइभर हुँदै किसानसम्मलाई असर परेको छ ।

देशले राम्रो राजश्व गुमाइरहेको छ । नेपालमा पर्वतारोहणका लागि आउने व्यक्तिका देशमा पनि कोरोना महामारीले अर्थतन्त्रमा क्षति गरेकाले तत्काल पर्वतारोहण व्यवसाय लयमा फर्कनेमा शङ्का थियो । तर ठूला हिमालहरुबाट आशा सुरु भएको छ ।

सरकारले महामारी लक्षित पर्यटक आवागमनसम्बन्धी व्यवस्था सुधार गरेमा समग्र पर्वतीय पर्यटन व्यवसाय नै चाँडै लयमा फर्कने व्यवसायीहरु बताउँछन् । 

(तस्बिरहरु : पर्यटन विभागको वेबसाइट र सेभेन समिट ट्रेक कम्पनीको फेसबुक पेजबाट लिइएको हो । )

अन्तिम अपडेट: चैत ३०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया