मेयर कप हेर्नकै लागि सार्वजनिक बिदा

 चैत १३, २०७७ शुक्रबार १३:२५:५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कपको पहिलो दिन खेल हेर्न जानका लागि शुक्रवार सार्वजनिक बिदा दिएको छ ।  

न कुनै चाडपर्व न कुनै विशेष दिन, नगरपालिकाले शुक्रवारदेखि सञ्चालन गर्न लागेको मेयर कप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको हो । 

नगर कार्यपालिकाको ६७ औँ बैठकले अन्तर–पालिकास्तरीय मेयर कप रनिङ भलिबल प्रतियोगिताको उद्घाटनका दिन नगर क्षेत्रभित्र बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिनुभयो । 

मेयर कपकै लागि सार्वजनिक बिदा दिँदा नगर कार्यपालिकाको कार्यालय एवम् त्यस मातहतका वडा, स्वास्थ्य चौकी र सम्पूर्ण शैक्षिक संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । 

मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले दुई लाख २१ हजार एक सय रुपैयाँ र रनिङ कप पाउनेछ । उपविजेता टोलीले एक लाख ११ हजार एक सय रुपैयाँ र कप पाउनेछ भने सान्त्वना स्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने छ ।

विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया