वैदेशिक रोजगारीमा जानेहरुले कहिलेसम्म हो ठगिनुपर्ने ?

 चैत २७, २०७७ शुक्रबार १३:१३:० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

वीरबल खड्का /धनकुटा ,हाल कतार ।

म विगत १० वर्षदेखि कतारमा कार्यरत छु । म जस्तै लाखौं नेपाली युवा रोजगारीको लागि विदेशिने क्रम निकै पहिलेदेखि नै सुरु भएको रहेछ ।

पहिला गोर्खा भर्तीबाट सुरु भएको वैदेशिक रोजगारीको प्रक्रिया अहिले विस्तार हुँदै निर्माण, कृषि, सेक्युरेटी गार्ड, होटल क्षेत्रसम्म फैलिएको छ । अहिले लाखौँको सङ्ख्यामा नेपाली श्रमिक विभिन्न देशमा यी र यस्तै क्षेत्रमा काम गरिरहेका छन् ।

भविष्यका रङ्गिन सपना बोकेर खाडी लगायतका देश धाउँछन् नेपाली युवाहरु । यसरी परदेशिनु कसैको मात्रै रहर होला नत्र धेरैको बाध्यता हो । तर यही बाध्यताकै फाइदा लिन आउँछन् दलला तथना एजेण्टहरु । 

नेपालबाट विदेश जानुअघिदेखि  विदेश पुगिसकेपछिसम्म नेपाली श्रमिकहरु विभिन्न ठाउँमा विभिन्न तरिकाले ठगिँदै आएका छन् । जसले गर्दा धेरै नेपालीले अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्नो कामको उचित मूल्य पाउन सक्दैनन् ।

दक्ष, अर्धदक्ष र अदक्ष गरि तीन किसिमका नेपाली श्रमिकहरु अन्तर्राष्ट्रिय श्रम बजारमा जाने गरेका छन् । यीमध्ये पनि अदक्ष कामदारको संख्या बढी देखिन्छ । सीप सिकेर विदेश आउनेहरु निकै कम देखिन्छन् । आफूले गर्ने कामको बारेमा सामान्य जानकारी समेत नलिएर जानेहरु पनि उत्तिकै छन् । त्यसैमाथि कडा सरकारी नीति नियम तथा कानुन नहुँदा यस्तै कम पढेलेखेका र सोझा नेपाली युवाहरु ठगहरुको  नजरमा पर्ने गर्छन् । 

यस्तै आफ्नै देशमा पनि पासपोर्ट बनाउने प्रक्रियादेखि भिसाको  प्रक्रिया मिलाउन एजेन्ट, म्यानपावरदेखि श्रम कार्यालयसम्म दलालको सञ्जाल हुन्छ । जसोतसो विदेशमा आइपुग्छन् । यहाँ काम गर्दासम्म पनि कम्पनी वा दलालको सञ्जाल भित्रै रहन्छन् । जसले गर्दा आज कुनै पनि नेपालीले आफ्नो वास्तविक श्रमको मूल्य पाउन निकै समस्या भएको देखिन्छ ।

विदेशमा पनि काम गर्ने सिलसिलामा कार्यविभाजन मार्फत औपचारिक, अनौपचारिक, मिश्रित र अन्य गरि चार भागमा छुट्याइएको छ । यसमा पनि नेपाली श्रमिक मिश्रित र अनौपचारिक काममा धेरै कार्यरत रहेका छन् । यसरी नेपालीहरुलाई काममा लगाउने  र कामको मूल्य दोस्रो व्यक्तिले लिने र वास्तविक श्रमिकलाई सीमित मूल्य दिने संरचनात्मक प्रवृत्ति मौलाएको छ । यसले गर्दा श्रमिकले आफ्नो वास्तविक मूल्य लिन सकेका  छैनन् ।

श्रम क्षेत्रलाई दलालीकरण गर्ने  तथा एउटाको श्रममाथि अर्कोले मूल्य लगाउँदै यसैभित्र आफ्नो कमिशन पकाइराख्ने संस्कार मौलाएको देखिन्छ । एक जना श्रमिक आफ्नो देशबाट काम गर्ने देशको पनि कुनै कम्पनीसम्म आइपुग्दा कतिपटक ठगिन्छ कुनै लेखाजोखा नै छैन ।

लामो समयदेखि यसरी श्रृङ्खलाबद्ध रुपमा विश्वभरि कामदारलाई ठग्ने सञ्जाल रहेको छ । त्यसैले आज धेरै श्रमिकको जीवनस्तर माथि उठ्न सकेको छैन । उनीहरुको हक हितमा काम गर्न सरकारी तथा गैर सरकारी संघसंस्था देखि अन्तर्राष्ट्रिय क्षेत्रका सबै निकायहरुको सक्रियता देखिए पनि उपलब्धि भने भएको देखिदैन । समस्या ज्यूँका त्यूँ नै छन् । आखिर वैदेशिक रोजगारीमा जानेहरुले कहिलेसम्म हो ठगिनुपर्ने ? 

त्यसैले ठगी कम गर्न सरकारी तवरबाटै थप प्रयास गर्नुपर्ने देखिएको छ । सीप, सचेतना, क्षमता र योग्यताको कमीले नै विदेश जानेहरु ठगीमा पर्ने गरेका छन् । यस्तो अवस्थाको अन्त्यका लागि गाउँगाउँमा जनचेतना पुर्याउने र संस्थागत रुपमा मात्र रोजगारीमा जाने अवस्था सिर्जना गरिनुपर्ने हुन्छ । वैदेशिक रोजगार व्यवसायीहरुको भूमिका प्रभावकारी हुने भए पनि उनीहरु नै दलाललाई प्रोत्साहन गरिरहेका पाइन्छन् ।

सरकारी नीति नियम पनि सीमित व्यक्तिको स्वार्थका लागि बहुसंख्यकको हित गर्ने किसिमले निर्माण हुनै नदिने प्रवृत्ति पनि हावी छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले कडा नीति नियम ल्याउनुपर्छ । गाउँदेखि विदेशसम्म रहेको दलालहरुको यस्तो जालोलाई भत्काउनुपर्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा स्वदेशमै रोजगारी सिर्जना गर्नु हो । नेपाली युवाहरुलाई आफ्नै देशमा केही गर्नसक्ने वातावरणको सिर्जना गर्नु हो । त्यसैले सरकारको यसतर्फ ध्यान जाओस् ।
  
 

अन्तिम अपडेट: बैशाख १८, २०७८

तपाईको प्रतिक्रिया