सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

 चैत २७, २०७७ शुक्रबार १३:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले गएकाे चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १५ लाख ६५ हजार पाँच सय ३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार सात सय २८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार आठ सय दुई आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार सात सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सविर वादे श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार आठ सय ३० आवेदक हात खाली भएका छन् ।

कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

आईपीओको नतिजा मेरो शेयर, सीडीएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया