छाेरा नपाएकाे भन्दै श्रीमानबाट पीडित महिलाकाे बिचल्ली

 चैत २९, २०७७ आइतबार १६:३६:१६ | सन्तोष थापा
unn.prixa.net

तस्बिर : ६ महिने छोरीको साथमा सपना ।

पर्वत – छोरा नपाएको भन्दै श्रीमानले दैनिकजसो कुटपिट गरेर पीडित बनेकी महिला र ६ महिने बालिकाको बिचल्ली भएको छ । सल्यानकाे शारदा नगरपालिका १४ मालनेटा घर भइ पर्वतको कुश्मा नगरपालिकामा ज्याला मजदुरी गर्दै आएकी २१ वर्षीया सपना विश्वकर्मा र ६ महिने छोरी समस्यामा परेका हुन् । 

चैत १८ गतेदेखि सपनाका श्रीमान् राज विश्वकर्मा आफ्नी जेठी छोरी पर्मिला विकसहित फरार रहेका छन् । श्रीमानले छाडेर गएपछि सपना अहिले ६ महिने छोरीलाई काखीमा च्यापेर बिलखबन्दमा पर्नुभएकाे छ ।

‘कोठामा चामल छैन, काखे छोरीलाई दूध किनेर खुवाउने पैसो पनि छैन’, उहाँले गुनासो गर्नुभयाे, ‘कसैको सहयोग पाए आमा छोरीको परान धान्न सकिन्थ्यो कि ?’ छाेरी सानी भएका कारण सामान्य कामसमेत पाउन समस्या भएको बताउनुभयाे ।  

सपनाका पति राज विश्वकर्मा झण्डै डेढ वर्ष अघिदेखि मिस्त्रीको काम गर्दै आएका थिए । काममा गएर फर्किँदा सँधैजसो रक्सी पिएर आउने र कुट्ने अनि घरेलु हतियार देखाएर तर्साउने गरेकाे उहाँकाे दुखेसो छ ।

राजले सपनालाई चैत १७ गते बेलुका कुटपिट गरेर १८ गते कोठाबाट फरार भएका थिए । पति र छोरी घरमा पुगेको खबर आफन्तबाट पाएको भए पनि अहिले कुनै सम्पर्क नभएको सपनाले बताउनुभयाे ।  

सपनाले दोस्रो छोरी जन्माएको ११ औँ दिनमा पतिको कुटाइ सहन नसकेपछि भागेर सल्यानमा रहेकाे माइती घर पुग्नुभएकाे भए पनि त्यहाँ राम्रो व्यवहार नपाएपछि फर्केर फेरि कुश्मा आउनुभयाे । श्रीमानको बानी, व्यवहार भने उस्तै थियो । ‘सुत्केरी भएर गलेको ज्यान बोकेर माइतीमा पुगेँ’, उहाँले भन्नुभयाे, ‘ज्यान मार्ने धम्की आएपछि फेरि फर्केर आएँ । फर्केर आएपछि पनि कुटपिट भइ रह्यो । मैले धेरै सहँदै आएकी छु ।’ उहाँको कोठामा चामल, दाल, नुन, चिनी, चियापत्ती केही पनि छैन । खाद्यान्न पसलमा ऋण छ । 

बेखर्ची भएर अलपत्र पर्नुभएकी उहाँलाई इन्सेकमार्फत केही दिनका लागि भन्दै ६ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको थियो । सपनाका लागि सहयाेग अभियानसमेत सञ्चालन गरिएकाे बताइएकाे छ ।    

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया