सबै प्रकारका मुद्दा खारेज भएपछि मात्रै सरकारसँग वार्ता हुन्छ : धर्मेन्द्र बाँस्ताेला

 चैत २९, २०७७ आइतबार १५:४२:८ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्ताेला​ले आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज भएपछि मात्रै सरकारसँग थप छलफल हुने बताउनुभएको छ । आइतवार गोरखामा पत्रकारसँगको भेटघाटमा उहाँले सरकारसँग भएको तीन बुँदे सम्झौताअनुसार आफूहरु भूमिगत गतिविधिबाट बाहिर आएको बताउनुभयो । 

‘सरकारसँग तीन बुँदे समझदारी भएको छ, त्यस समझदारीअनुसार सरकारले हामीमाथि लगाएको प्रतिबन्ध हटाएको छ’, उहाँले भन्नुभयो, ‘अब हाम्रा नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज हुने क्रममा छन्, त्यो पूरा भएपछि सरकारसँग वार्ता हुन्छ ।’ 

कानुनी प्रक्रिया पूरा गर्दै नेता तथा कार्यकर्ता रिहाइ हुने क्रम जारी रहेको भन्दै बाँस्ताेलाले सरकारले छिट्टै मुद्दा खारेजीको काम पनि पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । तपाईँहरुले जिम्मा लिएका कतिपय विस्फोटका घटनामा मानवीय क्षतिसमेत भएको छ, त्यस्ता मुद्दा पनि खारेज होला त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘देशको परिवर्तनका निम्ति लाग्ने क्रममा यी घटना भएका हुन्, त्यसैले राजनीतिक मुद्दा मात्रै होइन सबै प्रकारका मुद्दा खारेज हुनुपर्छ ।’ 

मुद्दा खारेजीपछि सरकारसँग अहिलेको संसदीय प्रणालीको विकल्पमा छलफल हुने केन्द्रीय सचिवालय सदस्य बाँस्ताेलाले बताउनुभयो । ‘संसदीय प्रणाली अलोकतान्त्रिक छ, यसले जनजीविकालगायत विद्यमान समस्याहरूको हल गर्न सक्दैन’, उहाँले भन्नुभयो, ‘हाम्रो अबको छलफल संसदीय राजनीतिक प्रणालीबाट देशलाई मुक्त गर्ने विषयमै केन्द्रित हुनेछ ।’ 

कुनै राजनीतिक निकास नदिने भएकाले संसद् विघटन हुनु अनिवार्य जस्तै भएको उहाँले बताउनुभयो । १० वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डलाई पनि संसदीय राजनीतिमा फसाइएको केन्द्रीय सचिवालय सदस्य बाँस्ताेला​ले बताउनुभयो । 

संसदीय प्रणालीको विकल्पमा वैज्ञानिक समाजवादमा जानेबारे सरकार मात्रै नभइ सबै दलबीच छलफल हुनुपर्नेमा पनि उहाँको जोड छ । ‘देशलाई कस्तो प्रकारको राजनीतिक प्रणाली आवश्यक छ भनेर जनमत सङ्ग्रहमार्फत टुङ्गो लगाउन सकिन्छ तर एक पटक मात्रै होइन निरन्तर यो प्रक्रिया चलाउन पनि सकिन्छ ।’   

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया