काठमाण्डौ उपत्यकाका ३ सयभन्दा धेरै ठाउँमा मेलम्चीको पानी चुहावट

 चैत २९, २०७७ आइतबार १९:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

 
काठमाण्डाै – पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण भएकाले चुहिने (लिकेज) हुने क्रम बढेको छ । काठमाण्डौ उपत्यकाका झण्डै तीन सयभन्दा धेरै ठाउँमा पाइप फुटेर पानी बग्नुका साथै त्यसले नयाँ कालोपत्र सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाण्डौले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डाखुल्डी बनेका छन् ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ । मेलम्ची पानीको चुहिने समस्याले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा मर्मतका लागि एक करोड रुपैयाँभन्दा धेरै खर्च लाग्ने डिभिजन सडक कार्यालय काठमाण्डौका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो । 

‘अहिले सुरुवातमा साना खाल्डा देखिए पनि बिस्तारै खाल्डा ठूला हुने र सडक बिग्रने क्रम बढ्दै जान्छ’, सडक डिभिजन कार्यालय काठमाण्डौका प्रमुख नेपालीले भन्नुभयो । प्रमुख नेपाली पर्याप्त तयारी नपुगेकाले र पानी वितरणमा नयाँ शैली नअपनाउँदा समस्या भएको बताउनुहुन्छ ।

‘लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी रोक्ने कुरा भएन तर पानी चुहिएकै कारण सडकमा खाल्डा थपिनु राम्रो होइन’, उहाँले भन्नुभयो । पाइप फुट्दा बनाउने र सडक मर्मत गर्ने काम सम्बन्धित निकायबाटै हुनुपर्ने नेपालीकाे भनाइ छ । 

पाइप फुटेको मर्मत नै नभइकन सडक मर्मत गर्नुको कुनै अर्थ नभएकोले बनाउन सुरु नगरिएको उहाँको भनाइ छ । फुटेको पाइप बनाउनुपर्‍याे भनेर मेलम्ची खानेपानी आयोजनाका उच्च अधिकारीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय काठमाण्डौका प्रमुख नेपालीकाे भनाइ छ । 

‘पटक–पटक छलफल गरेर पानी वितरणमा पुरानो शैली अपनाउँदा समस्या हुन सक्छ भनिएको हो तर मेलम्ची खानेपानीसँग सम्बन्धित निकायले त्यसलाई हल्का रूपमा लिएकाले समस्या भयो’, उहाँले भन्नुभयो । 

केयूकेएलका प्रतिनिधिलाई यसबारे छलफल गर्न बोलाइएको उहाँले बताउनुभयो । थुप्रै ठाउँमा पाइप फुटेकाले कहाँबाट स्रोत जुटाउने भन्ने चुनौती थपिएको उहाँको भनाइ छ । 

‘कति ठाउँमा चुहिएको छ, त्यसका आधारमा टाल्न कति खर्च लाग्छ, त्यसको तयारीको काम भइरहेको छ’, नेपालीले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया