पार्टी ध्वस्त पार्ने प्रयास भयाे भने ‘ठिक लगाइन्छ’ : प्रधानमन्त्री ओली

 चैत ३०, २०७७ सोमबार २०:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

ओलीले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने ‘ठिक लगाउने’ चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने... बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईँहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।’ 

उहाँले नेपाल समूहले आफूलाई गरेको कारबाही  ‘किर्नाले भैँसी खाए’जस्तो भएको भनी व्यङ्ग्य गर्नुभयो । 

प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दे समर्थन फिर्ता लिने चुनौती दिनुभयो । उहाँले आफूलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान भन्नुभयो । 
उहाँले भन्नुभयो, ‘प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले, लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तिनीहरूले कम्युनिस्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाए जस्तो किर्नाले भैँसी खाँदैन । किर्नाले भैँसी खान्छ नि, किर्नाले भैँसी खाएको देख्नुभएको छ कि छैन ? यिनीहरूले गरेको हामीलाई कारबाही त्यस्तै हो । किर्नाले भैँसी खाएजस्तै । किर्नाले भैँसी खाने ? मनको यिनको रहर हो । तर किर्ना किर्नाकै ठाउँमा हुन्छ, भैँसी भैँसीकै ठाउँमा हुन्छ । सन्तोष गर्न पाइन्छ किर्नाले भैँसी खाएकै हो । भैँसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झर्‍यो । कति रोएका ? राजीनामा देऊ, राजीनामा देऊ । हटाउन, समर्थन किन गरिरहन्छौँ ? फिर्ता लैजाऊ । केही पनि गर्न नसक्ने राजीनामा देऊ राजीनामा देऊ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ । लैजाउँ । चाहिएको छैन तिम्रो समर्थन । लैजाऊ ।’ 

प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाँडेको बाँड्यै छ त । माधव नेपालले टिकट बाड्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नु हुन्न । आफैँ बन्नु हुन्न अर्कालाई के बनाउनुहुन्छ ?’ 

प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधवकुमार नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आह्वान पनि गर्नुभयो । उहाँले पार्टीमा रहेर काम गर्न दिइने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Biru

    April 13, 2021, 10:23 a.m.

    दुइ तिहाइको सरकारले नेकपा ध्वस्त पार्ने अनि भएको एमालेमा आफ्नो गुटका मान्छेहरु मात्र च्याप्ने , आफ्नो बिरोधमा बोल्ने सबैलाई कारवाही गर्दै हिंडेर भाको एमाले नि खत्तम पार्ने अनि पार्टी चाहिं के गर्ने ? यो देशमा अस्थिरता निम्त्याउने कोही छ भने त्यो नम्वन एकमा केपी ओली नै हुन, त्यसैले ओली हुन्जेल नेपालीले सुख शान्तिले गरिखान पाउंदैनन /

  •  0 Reply

तपाईको प्रतिक्रिया