खाेटाङमा फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति

 चैत ३१, २०७७ मंगलबार १०:४६:७ | दमन राई
unn.prixa.net

खाेटाङ - खोटाङमा फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा ५० लाख ८६ रुपैयाँ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

स्थानीय हर्कराज राईले सञ्चालन गरेकाे फर्निचर उद्योगमा विद्युत चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । बिहान करिब ४ः३० बजेको समयमा सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  

उद्योगमा आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताउनुभयो । जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरुमा क्षति हुन पाएन ।

उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ ।

दश वटा पालिका रहेको जिल्लामा चैत महिनामा मात्रै दुई दर्जन बढी घर तथा गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि घर तथा गोठमा भएको आगलागीमा अहिलेसम्म मानवीय क्षति नभए पनि पशुचौपाया भने ठूलो मात्रामा जलेर मरेका छन् ।

घर तथा गोठमा भएको आगलागीमा नगद, सुनचाँदी, पशुचौपाया, अन्नपात, लत्ताकपडा, काठपातलगायत जल्दा करोडौँको क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।

जिल्लामा भएका आगलागीका घटनाको एकिन विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । जिल्लाका कतिपय सामुदायिक वनमा अझै आगलागी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । कतिपय ठाउँका स्थानीय बासिन्दाले आफ्नो नजिक पर्ने वनमा आफैँ आगो लगाउने गरेको स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया