फर्केर हेर्दा २०७७...

 चैत ३१, २०७७ मंगलबार १७:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना कहरबीच सुरु भएको २०७७ कोरोनाको अर्को लहरको त्रासबीच बिदा हुँदैछ । कोरोनाको कहरसँगै राजनीतिक घटनाक्रमले २०७७ साल उथलपुथल रूपमा बित्यो तर विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनलायक वर्षको रूपमा रहेको छ । 

सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउन सुरु गरिएको छ । सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भइ काठमाण्डौ उपत्यकामा ल्याएर वितरणसमेत सुरु भएको छ । 

कोरोना कहरसँगै यस भाइरसविरुद्धको खोप लगाउने काम पनि यसै वर्ष सुरु भएको छ । 

राजनीतिक उथलपुथल

२०७७ साल राजनीतिक हिसाबले उथलपुथल रह्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादले चर्को रूप लिएसँगै विभाजित भयो । तीन वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भइ बनेको पार्टी यति छिटो विभाजित हुन्छ भनेर कसैले सोचेका थिएनन् । पार्टीभित्र नेतृत्व विवाद चरमोत्कर्षमा पुगी प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव गराउने घोषणा गर्नुभयो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट परे । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरिदियो । प्रतिनिधि सभाको कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीलाई विघटन गर्ने विशेषाधिकार नहुने सर्वोच्चको यस फैसलाले नयाँ राजनीतिक तरङ्ग ल्यायो ।

त्यसभन्दा ठूलो तरङ्ग सर्वोच्चको अर्को फैसलाले ल्याइदियो, जसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणलाई मान्यता नदिनुका साथै पार्टीलाई नै विभाजित गरिदियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किए । पूर्ववत् अवस्थामा फर्किएपछि पनि दुवै पार्टी आन्तरिक विवादमा फसेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेपछि माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्ने क्रम बढेको छ । माओवादी केन्द्रले पनि ओलीलाई साथ दिने मन्त्री र नेताहरूलाई कारबाही गरेको छ ।

नेपालको नयाँ नक्सा सार्वजनिक

कोरोना महामारीबीच वैशाख २६ देखि संसद्को अधिवेशन सुरु भयो । वैशाख २७ गते भारतले एकतर्फी रूपमा लिपुलेकसम्म भारतीय सडक विस्तार गरेकोमा नेपालले आपत्ति जनाउँदै २९ गते भारतलाई कुटनीतिक नोट पठायो । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा कालापानी क्षेत्र फिर्ता लिन एकमत जुट्यो । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा आव २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा छुटेको नेपालको भूमिसहितको नक्सा जारी गर्ने प्रतिबद्धता व्यक्त गरियो । जेठ ५ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा स्वीकृत गर्‍याे । जेठ ७ मा नेपालको संशाेधित नयाँ नक्सा सार्वजनिक भयो । 

प्रतिनिधि सभा विघटन

पुस ५ गते प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेपछि प्रधानमन्त्रीले ताजा जनादेश लिने निर्णय गरी संसद् विघटन गर्ने निर्णय गर्नुभयो । यो निर्णयसँगै नेकपा विभाजनतिर गयो । प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिए । प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् विस्तार र फेरबदल गर्नुभयो । आफ्नो पक्षमा आएका माओवादी सांसदहरूलाई मन्त्री बनाउनुभयो । त्यसपछि नेकपामा आधिकारिकताको विषय झन् पेचिलो बन्यो । नेकपाका दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिक आफू भएको दाबी पेस गरे । तर निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षको दाबी अस्वीकार गर्दै दुवैलाई आधिकारिकता दिएन ।  

नाम विवादसम्बन्धी मुद्दामा फागुन २३ मा सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणलाई मान्यता दिएन । दुवै दल अस्तित्वमा आए । ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आधिकारिक मान्यता पायो । सर्वोच्चको फैसलाअनुसार फागुन २५ मा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पुरानै मान्यता दियो । 

सर्वोच्चद्वारा प्रतिनिधि सभा पुनर्स्थापना

अर्कोतर्फ प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन रिट परे । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको पक्ष र विपक्षमा लामो बहस भयो । फागुन ११ गते संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वसम्मत फैसला गर्‍याे । साथै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सरकारका नाममा परमादेश जारी भयो । सरकारले सर्वोच्चको फैसला स्वीकार गर्दै फागुन २३ गते पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बोलायो । बैठक सुरु भए पनि दलहरूबीच विवादले सुरु भएन । बैठक शोक प्रस्ताव पारितमै सीमित रह्यो ।

विप्लव समूहमाथिको प्रतिबन्ध हट्यो 

फागुन २० मा सरकार र नेकपा विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै यो समूहमाथि लगाइएको प्रतिबन्ध हट्यो । भोलिपल्ट फागुन २१ गते प्रधानमन्त्री ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हस्ताक्षर गरी दुवै नेताले एउटै मञ्चमा सम्बोधन गर्नुभयो ।

कोरोनाका कारण जनधनको नोक्सानी

माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भयो । भारतले अनुदान सहयोग स्वरूप १० लाख मात्रा कोरोना खोप नेपाललाई उपलब्ध गराएपछि कोरोना खोप लगाउन सुरु गरियो । त्यस्तै सरकारले भारतसँग खरिद गरेको १० लाख मात्रा, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख मात्रा र चीनले दिएको आठ लाख मात्रा कोरोना खोप नेपाल आइसकेको छ । पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइयो । त्यसपछि प्राथमिकता र जोखिमका आधारमा अरूलाई खोप दिन थालिएपछि ठूलो राहतको अनुभव गरिएको छ ।

तर कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । यसबाट जनजीवन प्रभावित बन्दैछ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा पनि धेरै जनधनको क्षति भयो । ६ महिनाभन्दा धेरै लकडाउन गरियो । आर्थिक तथा पर्यटन गतिविधि रोकिँदा बेरोजगारी र गरिबी बढ्यो । अर्थतन्त्र कमजोर भयो । कोरोनाबाट नेपालमा तीन हजारभन्दा धेरैको ज्यान गयो भने झण्डै दुई लाख ७७ हजार सङ्क्रमित भए । कोरोनाकै कारण तीन खर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भयो । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा निधन भयो । प्राकृतिक विपत्तिका कारण २०७७ सालमा अरू केहीले पनि ज्यान गुमाउनुपर्‍याे। भदौ ३ गते बाढी पहिरोमा परी अछाम, बाजुरा र बझाङमा १० जनाको ज्यान गयो भने ११ जना बेपत्ता भए । भदौ १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका १ बोबाङको भुजीखोलामा आएको बाढीले बस्ती नै बगाउँदा १४ जनाको ज्यान जानुका साथै कैयाैँ बेपत्ता भए । भदौ २८ गते सिन्धुपाल्चोकमा पहिरोमा ११ जनाको ज्यान जानुका साथै कैयाैँ बेपत्ता भए ।

मेलम्चीको पानी काठमाण्डौमा 

२२ वर्षको मेहनतपछि मेलम्ची खानेपानी आयोजनाको पानी पहिलो पटक फागुन २२ मा सुन्दरीजलमा आइपुग्यो । चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकामा उपभोक्ताका धारामा झर्‍याे । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्नुभयो । यो आयोजनाका लागि झण्डै ३१ अर्ब रुपियाँ खर्च भएको छ ।

यस्तै माघ २ देखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण सुरु भएको छ । माघ २५ मा देशकै दोस्रो ठूलो विद्युत् प्रसारण लाइन २ सय २० केभीको दाना विद्युत् सबस्टेशनको निर्माण सम्पन्न भयो ।

फागुन २० मा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्नुभयो । चैत १ मा प्रधानमन्त्री ओलीले एकैपटक २ सय १० पालिकामा सडक निर्माणको शुभारम्भ गर्नुभयो ।

चैत १६ मा पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरियो । चैत २१ मा प्रधानमन्त्री ओलीले सबै निर्वाचन क्षेत्रलाई जोड्ने १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभयो ।

सलह किराको प्रकोप 

असार १३ मा अफ्रिकाबाट भारत हुँदै नेपाल छिरेको सलह किराले अन्नबालीमा क्षति पुर्‍यायाे । भारतबाट विभिन्न झुण्डमा सलह किरा नेपाल भित्रिएका थिए । सलहको झुण्डले कृषि बालीमा पुर्‍याएको क्षतिले किसानलाई मानसिक र आर्थिक रूपमा नोक्सानी पुर्‍याएकाे थियो । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भित्रिएको थियो । यसले बालीमा ठूलो नोक्सानी गर्दै तराईबाट पहाड हुँदै हिमालसम्म पुगेको थियो ।

सलहले नेपालमात्रै नभइ भारत, पाकिस्तान, इरान, केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियालगायतका देशलाई प्रभावित बनाएको थियो ।

चलचित्र क्षेत्र ठप्प 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा मनोरञ्जनको क्षेत्रलाई ठूलो नोक्सानी गर्‍याे । चलचित्र हलहरू बन्द हुँदा र चलचित्रहरू प्रदर्शन हुन नसक्दा करोडौँको लगानी जोखिममा पर्‍याे । वर्षभरि नै हलहरु ठप्प रहे । अहिले  हलहरू खुलेका भए पनि कोरोनाको त्रास र नयाँ फिल्म नभएकाले  दर्शक त्यति गएनन् । अझै पनि हलहरू राम्ररी चलायमान हुन सकेका छैनन् । 

नेपाल भ्रमण वर्ष असफल

सरकारले देशको आर्थिक वृद्धिदर बढाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० मनाउने तयारी गरेको थियो । तर चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिन सुरु भएको कोरोना भाइरसले नेपालमा पनि ठूलो नोक्सानी पुर्‍यायाे । सन् २०२० को सुरुवाती महिनामै नेपालमा कोरोनाको पहिलो सङ्क्रमण पुष्टि भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गरिएको थियो ।

२०७६ सालको चैत ११ गते नेपालमा पहिलो पटक लकडाउन गरियो, त्याेसँगै नेपाल  भ्रमण वर्ष २०२० पनि असफल भयो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण 

बाह्र वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्राे पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा तत्कालीन एमालेका नेता ओली भारतको एपोलो अस्पताल जानुभएको थियो । त्यसयता बैंकक र सिङ्गापुरमा उपचार गर्दै आउनुभएको थियो ।

तर दोस्राे पटक मिर्गौला प्रत्यारोपणका लागि भने उहाँले नेपालकै सरकारी अस्पताल रोज्नुभएको थियो । पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी अञ्जनाले मिर्गौला दिनुभएको थियो भने दोस्राे पटक ओलीलाई भान्जी नाता पर्ने समीक्षा सङ्ग्रौला ज्ञवालीले मिर्गौला दिनुभएको थियो ।  

खेल क्षेत्रमा नेपालले पाएका महत्वपूर्ण उपाधि 

नेपालले २०७७ सालमै त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै च्याम्पियन बनेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । यो खेल हेर्नका लागि प्रधानमन्त्री ओली स्वयम् रङ्गशाला पुग्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया