‘अब त डर छैन’

 बैशाख १, २०७८ बुधबार १२:१०:३८ | इन्द्रसरा खड्का
unn.prixa.net

‘न त मान्छेको डर, न त किरा फट्याङ्ग्रा, सर्पको । अहिले त ढुक्कले निदाउँछु । जुन दिनदेखि ओडारमा बस्न छुट्यो, मनको डरै हरायो’, छाउपडी गोठबारे कुरा गर्दै गर्दा दैलेखकको आठबीस नगरपालिका ५ की अम्बा बिकले भन्नुभयो । 

छाउ अर्थात् (महिनावारी) हुँदा जीवनका तीन दशक बढी ओडारमै बिताएकी अम्बा अहिले महिनावारी हुँदा घरमै बस्नुहुन्छ, घरमा बस्नेमात्र हैन उहाँ घरभित्रको सबै काम गर्नुहुन्छ । छाउ हुँदा महिलाले मान्छेसँगै गाईभैँसी पनि छुन मिल्दैन, बारीमा लगाएका फलफुलका बोट बिरुवालाई छाेए सुक्छ, फल्दैन भन्दै अलगै बस्नुपर्छ । त्यही समाजको मान्यता चिर्दै अम्बा छाउ हुँदा घरमै बस्न थाल्नुभएको तीन वर्ष भयो । 

अहिले उहाँ आफै खाना पकाएर खानेदेखि घरभित्र र बाहिरको सबै काम आफै गर्नुहुन्छ । छाउ भएका महिलाले छोएमा गाईभैँसी थारो रहन्छ, दूध दिँदैनन् भन्ने मानिँदै आएकाे छ तर अम्बा भने छाउ भएको बेला आफै गाईभैँसीलाई घाँस दिने गर्नुहुन्छ, गाईभैँसी आफै दुहुनु​ हुन्छ । 

‘मैले तीन भैसा पाल्याकी छु । छाउ भयाका बेला आफै हत्याउदो छु । एक दुध दिदो छ अर्का दुई व्याउन्या छन् । छाउ भया बेला छुयापछि गाइ भैसा बाठाइ रदाँ भन्दा छिया सबै अल्की रैछ (मैले तीन वटा भैँसी पालेकी छु, छाउ भएको बेला आफै भैँसी दुन्छु । एउटा भैँसीले दूध दिँदैछ, दुइटा अझै ब्याउने छ । हामीले सोच्दै आएको कुरा त सबै भ्रम रहेछ )’, अम्बाले भन्नुभयो । 

उहाँ भन्नुहुन्छ, ‘ओडारको बाससँगै डर हट्यो, आफै खाना पकाएर खाँदा भोक हट्यो । डर र भोकमा हरेक महिनाका सात दिन बिताउनुपर्थ्याे । अहिले त आफै खाना पकाएर पेटभरि खान्छु ।’ अम्बाले महिनावारी भएको बेला डर मात्र हैन । खाना पकाइदिने मान्छे नभएर कैयाैँ दिन भोकै बस्नुपर्‍याे । ‘भोक त सहेरै बस्थेँ, कहिलेकाहीँ त पानी पनि खान पाइनँ । धारा आफै छुन नमिल्ने, माग्दा दिने मान्छे थिएनन्’, उहाँले अलग बस्दाको पीडा सुनाउनुभयो ।

ओडारमा बस्दा पुस/माघको चिसा रात, जेठ/वैशाखका गर्मी अनि एक्लै बस्दाको पीडा त भनी साध्य छैन । तर महिनावारी भएको एक दिन अम्बा अहिले पनि बिर्सन सक्नुहुन्न । 

त्यो दिन 

असार कि, साउन यस्तै महिना थियो । दुई/तीन दिनसम्म लगातार वर्षा भइरहेको थियो । अम्बा महिनावारी हुनुभयो । साथमा एक वर्षका छोरा । बस्नुपर्ने थियो, घरबाट झण्डै सात सय मिटर टाढाको ढुङ्गाको ओडारमा ।

अम्बा एक वर्षका छोरा काखमा च्याप्दै ओडारतिर लाग्नुभयो । रातभरि हावा चल्दा सबै पानी ओडारभित्र आउँथ्यो । प्लास्टिक ओडेर काखमा छोरा च्याप्दै रात बिताउनु पर्‍याे । हुन त यस्ता धेरै रात उहाँले ओडारमा बिताउनुभयो तर त्यो दिन सम्झँदा अहिले पनि उहाँलाई झस्काउँछ ।

त्यो दिन सम्झँदै अम्बा भन्नुहुन्छ, ‘एक्ली भयापन, केइ मान्या छियान । नानु वर्सिकोे छोरो सातै छियो । उइ मेग, उसाइ जुका । रातभरी पाल्तो ओडिकन बस्याँ । भोल्या त छोरो पन बिमारी भयो , म पन बिरामी (एक्लै भए पनि जसोतसो बस्थेँ । साथमा छोरा थियो । जुका उस्तै थिए । रातभरीिछोरो काखमा च्यापेर प्लास्टिक ओढेर बसेँ । पछिल्लो दिन त आमा छोरा दुवै बिरामी पर्‍याैँ ।)’ 

महिनावारी हुँदा आमासँगै गोठ, ओडारमा सुत्ने साना छोराछोरीलाई पनि कसैले छुन मिल्दैन । राति आमासँग निदाएका छोराछोरी घरमा लिँदा नुहाएर सुनपानी छर्कनु पर्छ । रातभरि भिजेर बिरामी भएको छोरालाई फेरि भोलिपल्ट चिसोमा नुहाएर घर लग्दा धेरै दिनसम्म सञ्चो भएन । 

छाउ भएका बेला पहिले नै यसरी घरभित्र बस्न पाएको भएँ । ती दिन सम्झँदा अहिले पनि अम्बालाई घरीघरी यस्तै लाग्छ । ‘अहिले त कति खुसी कति, खाना पकाउँछु श्रीमानलाई खुवाउँछु । छोरालाई खुवाउँछु । गाईभैँसीलाई घाँस काट्छु । सबै काम गर्छु’, अम्बाले अहिले महिनावारी हुँदा आफुले गर्ने कामबारे भन्नुभयो । 

सल्लाकाट्याकै बसु बिक पनि अहिले महिनावारी हुँदा घरमै बस्नुहुन्छ । पहिले महिनावारी हुँदा घर नजिकै आउन नपाउने उहाँ अहिले घरकै अर्को कोठामा सुरक्षित बस्नुहुन्छ । तर अम्बा जस्तै उहाँ छाउ हुँदा घरभित्रको सबै काम गर्नुहुन्न ।

‘अज्याल छाउ भ्या बेला घरकाइ अर्का कोठा बस्तो छुँ । तर घरभित्रको अरुकाम भन्या हर्याकाे नाइ छ । ओडारबाटी घरसम्म आयाकी छु । अब पछि पछि त्यो पनि हरुला अइल भन्या चोखोइ हरीकन घरभित्रै अर्का कोठा बस्तो छु, (अचेल महिनावारी हुँदा घरमै बस्छु तर घरको अरू काम भने गर्दिनँ । ओडारमा बस्ने घरमा बस्न लागेकी छु । बिस्तार बिस्तारै घरभित्रको काम पनि गर्नुपर्ला । अहिले कसैलाई नछोएरै बस्ने गरेकी छु ।)’, बसुले भन्नुभयो ।

बसु पनि महिनावारी हुँदा घरभित्र सुरक्षित रूपमा बस्न थालेको तीन वर्ष भयो । उहाँलाई पनि घरमै बस्न पाउँदा मनको डर हटेको छ । ‘कहिले साथी हुन्थे, कहिले एक्लै बस्नु पर्थ्याे । सात दिनसम्म ओडारमा बस्दा पहिले त कति दुःख पायौँ कति, अहिले त निकै खुसी छु’, बसुले भन्नुभयो ।

श्रीमानको साथ

बसु र अम्बा ओडारमा बस्दा उनीहरूका श्रीमानलाई कहिल्यै पनि डर लागेन । तिमी ओडारमा बस्दा कस्तो हुन्छ, डर लाग्छ कि लाग्दैन भन्नेसमेत कहिल्यै सोधेनन् । किन कि महिनावारी हुँदा ओडारमै बस्नुपर्छ भन्ने मान्यता उनीहरूका श्रीमानको पनि थियो ।

अम्बा भन्नुहुन्छ, ‘एक्लै ओडार बस्दा पनि श्रीमानले कहिल्यै सोध्नु भएन । बरु घर नजिक आउँदा पनि टाढा बस्, आमा बिरामी पर्नुहुन्छ भन्नुहुन्थ्यो । श्रीमानले कहिल्यै पीडा बुझेन । अम्बाका श्रीमान् जस्तै बसुका श्रीमानले पनि महिनावारी हुँदा कहिल्यै सोधपुछ गर्नुभएन । बिरामी भए पनि काखमा पातला ओढ्ने बोकेर जङ्गलतर्फ लाग्नु पर्‍थ्याे ।’  

‘गाउँमा चलन नै यस्तो थियो । हाम्रा बज्यै आमा ओडारमै बस्दै आए । हामी पनि त्यतै बस्यौँ । यसमा श्रीमानले के भन्नुहुन्थ्यो र ?’, बसुले भन्नुभयो, ‘सल्लाकाट्यामा अहिले ओडारमा कोही महिला बस्दैनन् । हामी घरभित्रै बस्छौँ । घरमा नबस्नेहरू पनि घर नजिकै गोठ लगाएर बसेका छन् । अब ओडारमा कोही बस्दैनन्’, अम्बा र बसुले भन्नुभयो ।

सामुदायिक छलफल केन्द्रको प्रभाव

२०७३ सालदेखि दैलेखको आठबीस नगरपालिकामा सामुदायिक छलफल केन्द्र सञ्चालनमा छ । महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि अभियानअन्तर्गत सञ्चालनमा आएका छलफल केन्द्रमा महिला हिंसा र बालविवाहबारे छलफल हुन्छ । छाउपडी कुप्रथा महिला हिंसाको स्वरूप हो भन्नेबारे थाहा भएपछि अम्बा र बसुलगायतका महिलाहरू महिनावारी हुँदा घरमै बस्न थालेका हुन् । महिनावारी भनेको पाप हैन, प्राकृतिक नियम हो भन्ने थाहा पाएपछि घरमा बस्ने आँट आएको उनीहरू बताउँछन् । महिनावारी भएका बेला घरभित्र पस्दा देवता रिसाउँछ भन्ने अन्धविश्वास पनि छ । 

यही मान्यताले सुदूरपश्चिम र कर्णाली प्रदेशका महिलाहरू महिनावारी हुँदा घरभन्दा टाढा रहेको छाउगोठमा बस्ने गर्छन् । छाउ भएको बेला दही–दूध खान नहुने, केटा मान्छेलाई छुन नहुने, अलगै भाँडामा खाना दिने, धारा छुन नहुने चलन छ । तर यो चलनलाई आजभोलि महिला आफैले हटाएर घरमै बस्न थालेका छन् ।  

अन्तिम अपडेट: चैत १३, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया