सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

 बैशाख १, २०७८ बुधबार १०:२१:४४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् ।

राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गर्नुभएको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् । गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । तर, राष्ट्रपति बाइडनले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने काम सक्न कठिन रहेको बताउँदै आउनुभएको थियो ।

आउँदो सेप्टेम्बर ११ तारिखमा अमेरिकामा रहेको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ । २० वर्षदेखि जारी युद्धमा २५ सयभन्दा धेरै अमेरिकी सैनिकहरूले ज्यान गुमाएका छन् । गएको वर्ष तालिबानले हिंसा रोकेको चौध महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउने सम्झौता भएको थियो । अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले आफ्ना सैनिक फिर्ताको घोषणा गर्न लागेको हो ।

अफगानिस्तानमा नेटकोका ९ हजार ६ सयभन्दा धेरै सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया