बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

 बैशाख १, २०७८ बुधबार ११:४४:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गएकाे महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा मात्रै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गएकाे माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

गएकाे माघमा एक अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, गएकाे माघ महिनामा पाँच लाख ३५ हजार ७ सय ९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७ सय ३८ पकट कारोबार भएको छ ।

पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गएकाे महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत  १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । 

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । माघमा एक खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गएकाे माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गएकाे माघमा  ३८ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत आठ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । गएकाे माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ । 

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा त्यस रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा दुई करोड ८० लाख रुपैयाँले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया