२०७८ सालमा सम्पन्न हुन लागेका केही महत्त्वपूर्ण काम

 बैशाख ३, २०७८ शुक्रबार १३:३७:४४ | जानुका दुवाडी
unn.prixa.net

नयाँ वर्ष २०७८ साल सुरु भएको छ ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देशलाई प्रगति र उन्नतितर्फ अग्रसर गराउनका लागि पहल गर्ने बताउनुभयो । अघिल्लो वर्षको नयाँ वर्षमा पनि उहाँले यस्तै सम्बोधन र शुभकामना दिनुभएको थियो । तर वर्ष २०७७ प्रधानमन्त्रीले भन्नुभएजस्तो त्यति फलदायी हुन सकेन ।

राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका दृष्टिले विभिन्न उल्झनमै बित्यो । कोरोना महामारीले देश निक्कै आक्रान्त बन्यो । तर पनि विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनालायक वर्षको रूपमा रह्यो ।  

२०७७ सालभरि नै कोरोना महामारी लगायतका कारणले त्रासमा बाँचेका नागरिकले २०७८ साललाई लिएर धेरै  अपेक्षा गरेका छन् ।  

धरहराको उद्घाटन हुँदै 

ऐतिहासिक धरहरा पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेपछि वैशाख ११ गते उद्घाटन गर्ने तयारी छ । धरहराको पार्किङ र बगैँचातर्फको काम सक्न भने बाँकी नै छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइँदै छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउण्टेन, आकर्षक बगैँचा, रेष्टुरेण्ट, पार्किङलगायतका सुविधा हुनेछन् । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुई वटा लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

२०७२ सालको भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । पुनःनिर्माणका धेरैजसो कार्य सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रमसम्बन्धी प्रस्ताव तयार भइरहेको छ । 

राष्ट्रिय जनगणना  

२०७८ सालमा राष्ट्रिय जनगणना हुने भएको छ ।

राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलनका दुई चरणहरु रहेका छन् । पहिलो चरण वैशाख २६ देखि जेठ १४ सम्मको २० दिन हो ।

जुन अवधिमा केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरिवेक्षकहरुले हरेक घरमा पुगेर “घर तथा घरपरिवार सूचीकरण फाराम” शुद्ध र स्पष्ट तरिकाले भर्दछन् । यसैगरी दोस्रो चरण जेठ २५ देखि असार ८ सम्मको १५ दिन हो । जुन अवधिमा केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका गणकहरुले प्रत्येक घर घरमा पुगी “मुख्य प्रश्नावली” शुद्ध र स्पष्टसँग भर्दछन् । 

यस्तै जेठ २५ देखि असार ८ गतेसम्म वडास्तरमा गएर वडाको आधारभूत विवरण, बसोबास गरेका जातजाति, मातृभाषा, वडाभित्र रहेका सेवा सुविधाहरु अवस्था, पूर्वाधार विकासको अवस्था, विपद् जोखिमको अवस्था लगायतको विषयमा विभिन्न तथ्याङ्कहरु भर्ने तालिका छ ।

सुपरिवेक्षकले यसरी भरेको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणित गराएर विश्लेषण एवम् प्रशोधनका लागि तथ्याङ्क विभागमा पठाइन्छ । राष्ट्रिय जनगणना २०७८ सालको मूल नारा “मेरो गणना मेरो सहभागिता” भन्ने रहेको छ । राष्ट्रिय जनगणना हरेक १०/१० वर्षमा हुँदै आएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने 

स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना वैशाख अन्तिमदेखि सञ्चालनमा आउने भएको छ ।

वैशाख दोस्रो हप्ता  परीक्षण सुरू गरेर वैशाख अन्तिमसम्ममा आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यका अनुसार तामाकोशीमा ७६/७६ मेगावाटका ६ वटा युनिट छन् ।  

पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकीबाट क्रमशः उत्पादन हुनेछन् । अहिले बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनाका सिभिल र मेकानिकलतर्फका अन्तिम चरणका काम धमाधम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक भनिने पाइप जडान अन्तिम चरणमा पुगेको छ । बाँकी काम सम्पन्न गरी वैशाखको दोस्रो हप्ताबाट प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।  यस्तै विभिन्न निजी क्षेत्रबाट पनि १ हजार मेगावाट बिजुली निकाल्ने तयारी छ । 

नेपाल–चीन रेलमार्गको प्राविधिक अध्ययन

नेपाल र चीन रेलमार्गको प्राविधिक अध्ययन यसै वर्ष हुने सरकारले जनाएको छ । कोरोना भाइरस महामारीका कारण काम प्रभावित भएर केरुङ र काठमाण्डौ जोड्ने रेलमार्गको थप अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम यसै वर्ष हुन सक्ने जनाइएको छ ।

योभन्दा अगाडि नै डीपीआर तयार पार्ने भनिए पनि कोरोना भाइरस महामारीका कारण काममा ढिलाइ हुँदै आएको थियो । तिब्बतको सिगात्सेबाट केरूङ हुँदै काठमाण्डौसम्म  जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको काठमाण्डौ  भ्रमणमा नेपाल र चीनका पदाधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

चीनले गरेको सम्भाव्यता अध्ययनले काठमाण्डौदेखि केरूङसम्मको ७२ दशमलव २ किलोमिटर दूरीमा ९८ दशमलव ८ प्रतिशत सुरुङ तथा ठूला पुलहरू हुने उल्लेख गरिएको छ । सन् २०१८ को अध्ययनले नेपालतर्फको निर्माणका लागि २ सय ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । 

सामाजिक सुरक्षा भत्ता बढ्ने

आउँदो साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । भत्ता बढाउन अर्थ मन्त्रालयले तयारी अगाडि बढाएको छ ।

सामाजिक सुरक्षा अन्तर्गत सरकारले उमेर समूह, जात, एकल महिला, वृद्धवृद्धा, बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । एकल महिला र वृद्धावृद्धाका लागि सरकारले मासिक ३ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।  

सामाजिक सुरक्षा शीर्षकमा देशभर २३ लाख २६ हजार ६ सय ९५ लाभग्राही छन् ।  यी मध्ये ७० वर्षमाथि (महिलाको हकमा ६५ वर्षमाथि) का नागरिकले ३ हजार, ६० वर्षमाथिका दलितले २ हजार, सरकारले तोकेको क्षेत्रमा २ हजार, अपाङ्गता भएको अवस्था हेरेर ३ हजार र १६ सय, अति विपन्न क्षेत्रकालाई ४ सय लोपोन्मुख क्षेत्रका मानिसले ३ हजार पाउँछन् ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गतकै वृद्धा भत्ता ५ हजार पुर्याउनु परेमा अहिलेको अवस्थाबाट २ हजार बढाउनुपर्ने हुन्छ ।  यो अहिलेको वितरण भइरहेको रकम भन्दा ४० प्रतिशतले धेरै हो । 

गौतमबुद्ध  र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  यही वर्ष सञ्चालनमा आउने भएको छ ।

सन् २०१४ मा तीन वर्षमा पूरा गर्ने गरी निर्माण सुरू भएको विमानस्थलको म्याद सर्दै आएको छ । सुरूमा २०१७ डिसेम्बर १७ को म्याद पाएको विमानस्थल निर्माण पूरा गर्न म्याद थपेर १८ जुन २०१८ लाई तोकिएको थियो  । पछिल्लो पटक पूरा गर्न गएको पुस ३ गतेसम्मको म्याद थपिएको थियो ।  

एसियाली विकास बैंक एडीबीको सहुलियत ऋणमा ६ अर्ब २२ करोड ५१ लाख लागत रहने गरी निर्माणाधीन विमानस्थल पूरा भएर सञ्चालनमा आउँदा काठमाण्डौको  त्रिभुवन विमानस्थलको हवाइ चाप व्यवस्थापनको विकल्प हुने भनिएको छ ।

लगातार मिति सर्दै जाँदा गौरवको आयोजनामा सरकारी तयारी नपुगेको भन्दै आलोचना हुँदै आए पनि २०७८ सालभित्र भने विमानस्थल निर्माणको काम सम्पन्न हुने आशा गरिएको छ । निर्माण सम्पन्न भए पनि सञ्चालनमा भने केही समय लाग्ने बताइएको छ । 

यही वर्ष नै पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  निर्माणको काम पनि सकिने भएको छ । 

पुनः निर्माणको काम सम्पन्न हुने

२०७८ साल पुस १० गतेभित्रमा सबै पुनर्निर्माणको काम सक्ने सरकारले लक्ष्य लिएको छ ।

पुनर्निर्माणमा अलि ढिला भएको क्षेत्र पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा हो । गुम्बाको पुनर्निर्माण गर्न पनि बाँकी नै छ । भूकम्प प्रभावित ३२ जिल्ला छन् ।  कोभिड–१९ का कारण सिर्जित जोखिमपूर्ण अवस्था र स्रोत व्यवस्थापनमा उत्पन्न कठिनाइका कारण निजी आवास पुनर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाउन सकेका छैनन् । 

देशका ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने 

सात वटै प्रदेशमा विद्युतीय गाडी चलाउनका लागि सातवटै प्रदेशका ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने देशका ५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण गर्न ठेक्का सम्झौता भएको  छ ।

सात वटै प्रदेश समेटेर ५० ठाउँमा विद्युतीय गाडी चार्जिङ स्टेसनको आपूर्ति, जडान, सञ्चालन र मर्मतसम्भारका लागि नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसनबीच सम्झौता भएको हो ।

एक वर्षभित्र काम सकिने गरी ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो ।

चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा गाडी एक साथ चार्ज गर्न सकिने छ । काठमाण्डौ उपत्यकामा सात वटा चार्जिङ स्टेशन राखिने छ ।

यस्तै प्रदेश- १ का पाँच ठाउँमा, प्रदेश दुईका सात ठाउँमा, वाग्मती प्रदेशका १३ ठाउँमा, गण्डकीको ६ ठाउँमा, लुम्बिनी प्रदेशको आठ ठाउँमा र कर्णाली प्रदेशको एक र सुदूरपपश्चिमका तीन ठाउँमा चार्जिङ स्टेशन बन्ने सम्झौता भएको छ । 

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा 

कोरोनाका कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गामा रहेकाे सुरुङमार्ग समयमै सक्नका लागि तीव्र गतिमा काम भइरहेको छ । बिहान ७ देखि बेलुका ७ बजेसम्म एउटा सिफ्ट र बेलुका ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो ।​ सुरुङमार्गमा अहिले २०/२२ जना जापानी र ३ सय नेपाली काम गरिरहेका छन् । यो आर्थिक वर्षमा वैदेशिक लगानीको सडक जस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ ।

आयोजना अन्तर्गत छ वटा पुल निर्माण गर्नुपर्नेमा तीन पुल निर्माणको काम सकिएको छ । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा-नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने गाडीको चाप कम हुने अपेक्षा गरिएको छ।

अन्तिम अपडेट: चैत ६, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया