'फ्लोर क्रस' गर्ने कर्णालीका चार सांसदलाई कारबाही गर्न सिफारिस

 बैशाख ३, २०७८ शुक्रबार १९:४५:१२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर केहीबेरपछि आफ्नो मत सच्याउनुभएको थियो ।

प्रदेशमा शुक्रवार भएकाे मतदानमा विश्वासकाे मत पाएपछि मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे थियाे । २० प्रदेश सभा सदस्यकाे मत चाहिनेमा शाहीले २२ मत प्राप्त गर्नुभएकाे थियाे ।    

प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् । 

एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले 'फ्लोर क्रस' गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।   

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया