‘मखमली’ आवाजकी धनी बिमाकुमारी दुरा

 बैशाख ४, २०७८ शनिबार १९:१०:२ | श्यामशितल परियार
unn.prixa.net

नेपाली मौलिक लोक गीत–संगीत क्षेत्रको एक गर्विलो नाम हो, बिमाकुमारी दुरा । सर्वप्रिय गायिका बिमाकुमारी दुरालाई लोक गीत–संगीत प्रेमीले सप्रेम उपमा दिने गर्छन्, ‘मखमली आवाजकी धनी ।’ 

उहाँको आवाज र गायकी नै त्यस्तो छ, सबैको हृदय छोइहाल्ने । जनजनको हृदय छुने खालका गीत मिठो श्वरमा मिठो पारामा गाउन सक्ने खुबीकै कारण आज पनि उहाँ यस क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । चर्चित हुनुहुन्छ । सबैको रोजाइको गायिका हुनुहुन्छ । देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा पनि उहाँ व्यस्त भइरहनुहुन्छ । मिठो श्वर र गायकीमा मात्र नभइ हँसिलो मुहार । शान्त स्वभाव । सहयोगी भावनाको पनि उत्तिकै अमिर हुनुहुन्छ, उहाँ । 

लमजुङको दुराडाँडा तुर्लुङकोट भाँगुमा जन्मिनुभएकी गायिका दुरामा सानैदेखि गायनमा रुचि थियो । गाउँघरमा मेलापात, उकाली–ओराली भञ्ज्याङ, चौतारी गर्दैगर्दा उहाँ गीत गुनगुनाउनुहुन्थ्यो । 

प्रेरणाको श्रोत, लमजुङे माटो

वनपाखा, मेलापात नै उहाँका गीत गाउने प्रेरणा हुन् । ‘गाउँघरमा दाजु दिदीहरुसँग मेलापात, उकाली, ओराली गर्दा उहाँहरुले गाउने गीत  छोप्दा–छोप्दै गाउन सिकेँ । गाउन सुरु गरेँ,’ गायिका दुरा भन्नुहुन्छ, ‘लमजुङकै सेरोफेरो, वनपाखा, मेलापात, उकाली–ओराली नै मेरा गायनका प्रेरणाका श्रोत हुन् ।’

त्यसैले त गाउँघर, वनपाखा, मेलापात, उकाली, ओराली, माया, प्रेम, मिलन, विछोडका साथै नारी वेदना र संवेदनाका भाव छताछुल्ल पोखिएका हुन्छन्, उहाँले गाएका गीतहरुमा । र त उहाँले गाएका थुप्रै गीत आज पनि ताजै छन् । सबैका हृदयमा छन् । 

आफ्नो छुट्टै मौलिक गायन कलाका साथै गीत–संगीतप्रतिको अगाध अनुराग र स्नेहले आज परान्त पनि उहाँको सांगीतिक यात्रा निरन्तर चलिहरेको छ । अघि बढीरहेको छ । 

हजारौँ गीतमा ‘कोकिल श्वर’ 

हजारौँ लोकप्रिय गीतका शब्दमा आफ्नो ‘कोकिल श्वर’ले प्राण भर्नुभएकी गायिका दुराले २०४६ सालमा पहिलो गीत रेकर्ड गर्नुभएको थियो ।

‘२०४६ सालमा मेरो पहिलो गीत रेकर्ड भएको हो । छोरीको जुनी, छुट्यो माया जाल लगायतको गीत रेकर्ड भई प्रसारण भएसंगै चर्चा चुलियो । धेरैले गीत मन पराइदिनुभयो, धेरै श्रोताको माया पनि पाएँ,’ उहाँले भन्नुभयो ।

वरिष्ठ गायिका दुराकै सिको गर्दै लोक गीत–संगीत क्षेत्रमा भविष्य खोज्दै ‘तातेताते पाइला’ चाल्न खोज्नेको संख्या उत्तिकै छ । धेरै गायक–गायिकाको प्रेरणाको श्रोत पनि हुनुहुन्छ, उहाँ । तर पछिल्ला समयका गीतमा नेपालीपन पाउन मुश्किल हुने उहाँ बताउनुहुन्छ ।

‘आफूले गाउने गीतमा नेपाली माटो बोल्न पाइयोस् भन्ने लाग्छ मौलिकता झल्किने गीत रोजाइमा राखी गाइन्थ्यो, गाइन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि राम्रो गाउने केही हुनुहुन्छ । तर पछिल्लो समय नयाँ पुस्ताले गाएका केही लोक गीतहरुमा लोक भाव, मौलिकता र नेपालीपन नभएको हो कि ! भन्ने मलाई लाग्छ ।’

नेपाली लोक गीतसंगीत क्षेत्रको संरक्षणका लागि सबै पक्ष जुट्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

‘माटो सुहाउँदो गीत गाउन सके राम्रो हुन्छ । लोक गीत संगीत क्षेत्रलाई जोगाइराख्न सबै पक्ष जुट्नु आवश्यक छ,’ उहाँ भन्नुभयो ।

लमजुङको माया मुटुभरि

लमजुङको माटोले जन्माएको चर्चित अग्रज श्रष्टा लमजुङकै शान हुनुहुन्छ । गौरव हुनुहुन्छ । जिल्लाको मात्रै नभई उहाँ सिंगो देश र देश तथा विदेशमा रहेका सबै नेपालीको गौरव हुनुहुन्छ ।  यस क्षेत्रको श्रीवृद्धिका लागि अझै अहोरात्र यसै क्षेत्रमा होमिरहनुभएको छ, उहाँ । 

मौलिक कला, साहित्य, गीत–संगीतको उर्वरभूमि मानिन्छ, लमजुङ । लमजुङकै माटोले जन्माएको दुराले पनि आफ्नै थुप्रै चर्चित गीतमा लमजुङको माया र पहिचानलाई मुटुभरि समेटेर गाउनुभएको छ ।  गायिका दुराका गीत कैल्यै नमर्ने, नबिर्सन सक्ने खालका रहेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति, लमजुङका अध्यक्ष अनुज अधिकारीले बताउनुभयो ।

‘गायिका बिमाकुमारी दुरा लमजुङको माटोले जन्माएको अग्रज श्रष्टा हुनुहुन्छ । उहाँले गाएका गीत संख्यात्मक मात्र नभइ गुणात्मक छन् । कालजयी छन्,’ उहाँले भन्नुभयो, ‘आज पनि उहाँ यस्तै खालका सिर्जनामा केन्द्रीत हुनुहुन्छ । यसै क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ ।’ 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया