धनकुटा : असिना पानीले तरकारी बालीमा पुर्‍याएकाे क्षतिकाे विवरण पेस गर्न सूचना जारी

 बैशाख ५, २०७८ आइतबार १५:५६:१५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गएको वैशाख २ गते परेको असिना पानीका कारण तरकारी बालीमा पारेको क्षतिको विवरण पेस गर्न किसानलाई सूचना जारी गरेको छ ।

गाउँपालिकाको कृषि शाखाले पाँच दिनको समय सीमा तोकेर असिना पानीबाट भएको क्षतिको फोटोसहितको विवरण बुझाउन सबै वडामा सूचना प्रवाह गरेको शाखाका प्रमुख मिलन कार्कीले बताउनुभयो । असिना पानीले बाली नष्ट गरेसँगै गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । 

अहिलेसम्म गाउँपालिकाको वडा नं. ६ मजुवा, नाम्जाङ, वडा नं. २ को सल्ले, वडा नं. १ हात्तीखर्कको पिङडाँडा, फलाँटे क्षेत्रमा सर्वेक्षण गरिएको छ । प्रारम्भिक सर्वेक्षणअनुसार अहिलेसम्म १५ करोड रुपैयाँ बराबरको तरकारी बालीको क्षति भएको विवरण प्राप्त भएको गाउँपालिकाका कृषि तथा भेटेनरी शाखाले जनाएको छ । सङ्कलन भएका विवरणहरू गाउँपालिकाको आर्थिक समितिमा पेस गरिने भेटेरेनरी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयाे ।  

वैशाख २ र ३ गते दिउँसो असिनासहित परेको पानीले छथर गाउँपालिकाको सिधुवा बजार क्षेत्रमा किसानले लगाएका तरकारी बाली नष्ट गरेको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया