शिक्षा मन्त्री श्रेष्ठद्वारा धरहरा स्तम्भकाे अवलाेकन

 बैशाख ५, २०७८ आइतबार २०:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही वैशाख ११ गते धरहराको उद्घाटन गरिँदैछ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ ।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गर्नुभएको छ । यस क्रममा वैशाख १० गतेभित्र धरहरा स्तम्भभित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न मन्त्री श्रेष्ठले निर्देशनसमेत दिनुभयो ।

प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । तर केहि फिनिसिङकाे काम बाँकी रहेको र अबको पाँच दिनभित्र सबै सम्पन्न भइसक्ने पनि बताउनुभयो । अहिले रङ्गराेगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेको छ । उहाँले अहिले धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।

धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियम लगायतका संरचना बन्नेछन् । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताउनुभयो ।

विशुद्ध पर्यटकीय स्थलका रूपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन् । धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुनेछन् । धरहराको २० औँ तलामा काठमाण्डाै उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ । धरहराको कुल उचाइ दुई सय ४५ फिट रहेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया