धेरै ठाउँकाे माैसम सफा : प्रदूषण र तुवाँलाे घट्याे, साँझपख पानी पर्न सक्ने

 बैशाख ६, २०७८ सोमबार ७:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।

पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो ।

पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी र वर्षासँगै धेरैजसो ठाउँको वायु प्रदूषण पनि केही सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वायु प्रदूषण मध्यम अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ।

धनगढी र सिमरामा भने अहिले पनि वायु प्रदूषण अस्वस्थ अवस्थामा रहेको छ । अहिले मौसम सामान्यतया सफा रहेको भए पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा सामान्य पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपख देशका मध्य र पूर्वी पहाडका विभिन्न ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बाँकी ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रि-मनसुनको समय भएकोले पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख बादल लागेर केही ठाउँमा सामान्य पानी पर्छ । यो हप्ताभरि नै बिहान र दिउँसो समान्यतया मौसम सफा भएर  बेलुकीपख मौसम बादल लाग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया