नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह सहभागी नहुने

 बैशाख ६, २०७८ सोमबार ८:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताउनुभयो । बैठकमा खनाल-नेपाल समूह भने नजाने भएको छ । महाधिवेशन आयोजक कमिटी गठनमा असन्तुष्टि जनाउँदै आएको खनाल-नेपाल समूहले बैठकमा नजाने बताएको हो ।

नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले हिजो एक अपिल जारी गरेर आज बोलाएको  बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ ।

नेपाल पक्षीका नेता डाक्टर बेदुराम भुसाल र राजेन्द्र पाण्डेले हिजो निर्वाचन आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारबाही प्रकृया अघि बढाउन लिखित निवेदन दिनुभएको हो ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले ब्युँतिएपछि  फागुन २८ र चैत ७ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको सबै निर्णय बदर गरी आफूहरूलाई आधिकारिकता दिन माग गर्दै आयोग गएको नेपाल पक्षले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया