विद्यालय खोल्ने कि बन्द गर्ने ? सरकारी निकाय नै अलमलमा

 बैशाख ६, २०७८ सोमबार १०:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालबालिकामा समेत कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय खोल्ने कि नखोल्ने भन्नेबारे बहस भइरहेको छ ।

शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक विद्यालय बन्द गर्ने पक्षमा छैनन् । तर स्वास्थ्य मन्त्रालयले डेढ हप्ताअघि नै विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ ।

जात्रा, पर्व, उत्सव, मेला तथा राजनीतिक दलका सभा, सम्मेलन निर्बाध रुपमा सञ्चालन भइरहँदा विद्यालय मात्रै बन्द गर्नुपर्छ भनेर दबाब दिनेहरु पनि छन् । विद्यालय खोल्ने नि नखोल्ने भन्नेबारे बहस भइरहँदा जिम्मेवार सरकारी निकायका निर्णय भने परस्पर विरोधी र अलमलाउने खालका छन् । 

केही दिनअघि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विज्ञप्ति निकालेर विद्यालय बन्द गर्नै नहुने भनेर सरकारलाई दबाब दियो ।

लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिए । त्यही सुझावलाई आधार मानेर शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति सार्वजनिक गर्यो । 

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनसहित देशभर जोखिममा रहेका १४ सहरका विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा भीडभाड नगर्न अपिल गरेको छ ।

गएको शनिवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सीसीएमसीले प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले यसबारे निर्णय गरिसकेको छैन । 

विद्यालयमा विद्यार्थीको संख्या घट्दै, कतिपय ठाउँमा वैकल्पिक पढाइ

विद्यालय खोल्ने कि बन्द गर्ने भन्नेबारे सरकारले ठोस निर्णय नगर्दा विद्यार्थी, शिक्षक, अभिभावक र सञ्चालक अलमलमा परेका छन् ।

केही विद्यार्थीमा कोरोना सङ्क्रमण भएको र विद्यालय बन्द गर्नुपर्छ भनेर चर्चा चल्न थालेपछि कतिपय अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेका छन् । केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गर्न थालेका छन् । केही पालिकाले भने विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।

सरकारले जोखिमको अवस्था हेरेर विद्यालय बन्द गर्ने अधिकार सम्बन्धित पालिकालाई दिएको छ । खुलेका विद्यालयमा पनि छोराछोरीलाई पठाउने कि नपठाउने भनेर अभिभावक अलमलमा परेका छन् । काठमाण्डौसहित सहरी क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेको छ ।

‘तत्कालका लागि  विद्यालय बन्द गरेर वैकल्पिक पढाइ सञ्चालन गर्नुपर्छ’

नेपालमा हरेक दिन ८० देखि ९० जना बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । यसरी बालबालिका जोखिममा पर्दै गएको अवस्थामा विद्यालय बन्द गरेर अनलाइन माध्यममा पठनपाठन  सञ्चालन गर्नु उपयुक्त हुने  नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ ।

‘म आफैँ सीसीएमसीको बैठकमा उपस्थित थिएँ । जोखिम धेरै भएका काठमाण्डौसहितका १४ वटा जिल्लाका कक्षा ५ सम्मका विद्यार्थीलाई स्कुल पठाउनु हुँदैन भन्ने मेरो मत थियो । साना बालबालिकाकोे तुलनामा ठूला कक्षाका विद्यार्थीमा बुझ्ने  र सम्झने क्षमता धेरै हुन्छ ।  उनीहरुले साना बालबालिकाको तुलनामा सुरक्षा सावधानी अपनाउन सक्छन् । तर ९९ प्रतिशत  अभिभावकको मत भनेको ठूला कक्षा पनि बन्द गर्नुपर्छ भन्ने छ’ भण्डारीले भन्नुभयो ।

उहाँले थप्नुभयो 'अभिभावकलाई बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण हुन्छ की भन्ने डर हुनु स्वाभाविक नै हो । सबैको आफ्नै निजी साधन हुँदैन । सार्वजनिक गाडीमा कोच्चिएर विद्यालयसम्म जानुपर्ने बाध्यता छ । स्कुलमा सुरक्षा सावधानी अपनाए पनि बाहिर अरु जुनसुकै ठाउँमा पनि कोरोनाको जोखिम हुने सम्भावना रहन्छ ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अनुसार काठमाण्डौ उपत्यकाका तीनसहित १४ वटा सहरका विद्यालय तत्कालका लागि बन्द गर्नु नै उपयुक्त हुने उहाँको भनाइ छ । बालबालिका चञ्चले स्वभावका हुने भएकाले जतिसुकै सावधानी अपनाउन भनिए पनि त्यो सम्भव हुँदैन ।

बालबालिकाहरु शिक्षक तथा अभिभावकको आँखा छलेर मास्क साटासाट गर्ने, खानेकुरा साटेर खाने लगायतका क्रियाकलाप गरिरहेका हुन्छन् । बालबालिकाको स्वभाव बुझेका कतिपय अभिभावकले छोराछोरी स्कुल पठाउन छाडिसकेका छन्  ।  

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल विद्यालय बन्द गर्नुपर्ने अवस्था आएमा बालबालिकाको सिकाइ प्रभावित नहोस् भन्नका लागि अनलाइन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुहुन्छ ।  भूगोल सुहाउँदो वैकल्पिक  माध्यम अपनाउन उहाँको आग्रह छ । 

यसका लागि सरकारले तयार पारेको विद्यालय सञ्चालन कार्याढाँचामा उल्लेख  गर्न भनिएका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । यो कार्यढाँचामा अनलाइनको पहुँच भएको ठाउँमा अनलाइन माध्यमबाट र नभएको ठाउँमा टेलिभिजन, रेडियोबाट पनि पठनपाठन सञ्चालन गर्न सकिने उल्लेख छ ।  यस्तै आलोपालो गरी सञ्चालन गर्न चाहेमा  अनिवार्य मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, भीडभाड नगर्ने लगायतका नियम पालना गर्नुपर्ने हुन्छ । 

कोरोनाको सङ्क्रमण देखिएको ठाउँमा पालिकाको समन्वयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएमा अनलाइन पद्दतिमा जान सकिने महानिर्देशक अर्यालको सुझाव छ । 

कोरोना महामारीकाबीच पढाइलाई कसरी निरन्तरता दिने ?

कोरोना भाइरसको नयाँ भेरियन्ट विद्यार्थीमासमेत देखिएपछि विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने बहस बढेको हो । विद्यालय खोल्दा महामारी फैलने डर छ भने बन्द गर्दा विद्यार्थीको भविष्य चौपट होला भन्ने अर्को त्रास छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय नपठाए पनि सिकाइलाई प्रभावकारी बनाउन वैकल्पिक उपाय धेरै भएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउनुहुन्छ । तर ती उपाय यत्तिकै लागू हुँदैनन् ।  रचनात्मक तरिकाले सोचेर लागू गर्नुपर्ने उहाँको सुझाव छ  ।    

त्यसका लागि फरक खालको पाठ्यसामग्री तयार गर्नुपर्छ । सबै विद्यार्थीको यसमा पहुँच नहुन पनि सक्छ । पहुँच नपुगेका बालबालिकाको लागि सबै पालिकाले आफनो पालिकामा पुर्याउनका लागि पहल गर्नुपर्छ । जसको घरमा रेडियो, टेलिभिजन र अनलाइन नभएर पढ्न पाएका छैनन्, त्यस्तो ठाउँमा पालिकाले विभिन्न ठाउँमा श्रव्यदृश्य सामग्री देखाएर पढ्ने व्यवस्था मिलाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

सार्वजनिक ठाउँमा राख्दा धेरै बालबालिकाले त्यो पढ्न पाउँछन् । त्यस्तै हुलाकको माध्यमबाट पनि बालबालिकालाई वैकल्पिक शिक्षासँग जोड्न सकिने उहाँको भनाइ छ । कोइरालाका अनुसार पालिकाहरुमा विभिन्न पाठ्यसामग्री तयार पारेर पढाउन सकिन्छ । केही दिन लगाएर त्यो विद्यार्थीलाई खोज्न लगाउने गर्दा नयाँ तथ्य पनि फेला पर्ने र बालबालिकालाई व्यस्त राख्नका साथै सिकाइ अभ्यासमा सरिक गराउन सकिने उहाँ बताउनुहुन्छ । 

यस्तै शिक्षकहरुले घरघरमा गएर बालबालिकालाई पढाउने विकल्पमा जान पनि उहाँको सुझाव छ । गृहकार्य दिने, गृहकार्य जाँच गर्न, फेरि जाने र सिकाउने काम गरे विद्यार्थीलाई सिकाइप्रति रुचि बढाउन सकिन्छ ।
तर अहिले विद्यालयमा अन्तिम परीक्षाको तयारी छ ।

केही विद्यालयले वार्षिक परीक्षा सके पनि धेरै विद्यालयमा परीक्षा हुनै बाँकी छ । अघिल्लो वर्ष ६ महिनाभन्दा बढी बन्द भएर खुलेका विद्यालयमा बल्लबल्ल पढाइ सुरु हुन लागेको बेला फेरि बन्द गरेर वैकल्पिक पद्धतिमा जान असम्भव हुने कतिपय विद्यालय सञ्चालकहरुको तर्क छ ।

जात्रा, पर्व, सभा, सम्मेलन यथावत रहँदा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय पनि निर्बाध रुपमा सञ्चालन गर्नुपर्छ भन्नेहरु एकातिर छन् । अर्कोतिर सरकारले विद्यालय बन्दको निर्णय गर्न ढिलो गर्यो भनेर दबाब दिनेहरु पनि छन् । तर के गर्ने भन्नेबारे सरकारी निकाय नै अलमलमा छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया