कहाँ कुन कम्पनीको गाडी चल्दैछन् ? थाहा पाउनुहोस्

 बैशाख २१, २०७५ शुक्रबार ९:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं, वैशाख २१ – सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पनि कम्पनीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन् । काठमाडौंमा साझा, मयूर, महानगर, गोकर्ण, गन्तब्य, ओरेन्ज, स्वयम्भू, काँडाघारी, महालक्ष्मीलगायतका विभिन्न यातायात कम्पनीका गाडी चलिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

यस्तै, काठमाडौंबाट बाहिर जाने टाटा सुमो निर्वाध रुपमा चलिरहेका छन् । पूर्वको लागि लामो दूरीमा सप्तकोशी, हिमगंगा, त्रिवेणी, सोलुखुम्बु, दुधकुण्ड, खुम्बु, सगरमाथा, खाँडादेवी, सिसाखेतलगायतका यातायातका गाडी चलिरहेका छन् । पश्चिमको लागि भेरी, कञ्चनपुर शुक्लाफाँटा लगायतका यातायातका गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । 

यस्तै केरुङ यातायातका गाडी रसुवाको लागि र ग्रामिण यातायातका गाडी धादिङको लागि चलिरहेका छन् ।

सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका अनुसार दर्ता भएका यातायात प्रालिहरुले आफ्नो सेवालाई निरन्तरता दिएका हुन् । सरकारले आज गाडी नचलाउने यातायात व्यवसायीको रुट परमिट नै खारेज गरिदिने यसअघि नै निर्णय गरेको छ । 

सिन्डिकेटलाई कुनै पनि हालतमा फिर्ता लिन नसक्ने भन्दै सिन्डिकेटको पक्षमा आन्दोलन गर्नेको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको र विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गर्ने विभागको तयारी छ । 

सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ । 

गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया