निषेधाज्ञासँगै बजार भाउ बढ्यो, सरकार भन्छ– ‘कालोबजारी र अभाव हुन दिन्नौँ’

 बैशाख १९, २०७८ आइतबार १३:३९:२५ | जानुका दुवाडी
unn.prixa.net

'दुई तीन दिनमै दश रुपैयाँ बढ्यो ?!' 

कीर्तिपुरको एउटा खाद्य पसलमा एक लिटर खानेतेल किन्न पुगेका सुरेश महर्जनले पसलेलाई सोध्नुभयो । 

'बढ्यो नि के गर्नु भोलिदेखि यही पनि पाइँदैन होला' पसलेले जवाफ दिए । 

'कोरोना सङ्क्रमणभन्दा पनि महँगीले पो  मरिने भयो' बनावटी हाँसो हाँस्दै सुरेश तेलको प्याकेट बोकेर पसलबाट बाहिरिनुभयो ।

एकैछिनमा त्यही पसलमा एक जना महिला खाना पकाउने ग्यास खोज्दै पुगिन् । 

'ग्यास छ ?'  उहाँको प्रश्न पसलेले सुने, नसुनेझैँ गरे । 

'पसलमा ग्यास आएको छ ?' दोस्रो पटक अलि चर्को स्वरले सोधेपछि पसलेले अहिले आएको छैन भन्ने सिधा उत्तर दिए । महिलाले कहिलेसम्म ग्यास पाइएला भनेर जिज्ञासा राखिन् । पसलेले अलि कड्कँदै खै थाहा छैन भन्ने जवाफ दिए, 'बेलाबेला बुझ्न आइराख्नुस् न' महिला त्यहीँबाट फर्किइन् । 

कीर्तिपुर पाँगा बस्ने सरस्वती कुँवरलाई पनि कोरोनाभन्दा निषेधाज्ञामा खान नपाएर मरिन्छ की भन्ने चिन्ता छ । निषेधाज्ञा अगाडिको भन्दा अहिले  बजारमा सामानको मूल्य बढेको उहाँले सुनाउनुभयो । ‘खानेतेल ३ सय रुपैयाँ लिटर थियो अहिले १० रुपैयाँ बढेछ, १ सय २० रुपैयाँ धार्नी आलु दुई, तीन दिनमै १ सय ६० रे’ उहाँले एकैपटक सुनाउनुभयो । 

पोहोर सालको लकडाउन, काठमाण्डौमै बिताएकी उहाँलाई यो वर्षको निषेधाज्ञा कसरी कट्छ भन्ने चिन्ता बढेको छ  । ‘सरकारले गाउँ जान दिएको समयमा गाउँ फर्किन सकिएन, अब काठमाण्डौमा कसरी बस्ने होला ?’ चिन्तित हुँदै उहाँले भन्नुभयो । 

यी त केही प्रतिनिधिमूलक पात्र मात्र हुन् । निषेधाज्ञालाई बहाना बनाएर र महामारीको मौका छोपेर केही व्यापारीहरुले सामानको मूल्य बढाउने गरेका छन् । पसलैपिच्छे सामानको भाउ फरकफरक छ । निषेधाज्ञा भएको २/३ दिनमै खाद्य सामग्रीको भाउ छोइसक्नु छैन । 

सरकारले प्रभावकारी अनुगमन गर्न नसकेकाले पसलेहरुले कृत्रिम अभाव सिर्जना गरेर सास्ती दिएको उपभोक्ताको गुनासो छ । 

 नियमित बजार अनुगमन भइरहेको छ : सरकार

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन भइरहेको जनाएको छ ।

पहिला उपभोक्ताको गुनासोको आधारमा अनुगमन गर्ने गरेकोमा अहिले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिएर अनुगमनलाई अगाडि बढाइएको विभागको भनाइ छ । पहिला एक वा दुई टोलीले नियमित बजार अनुगमन गर्ने गरेकामा अहिले ६ वटा टोली बनाइएको छ । ६ वटै टोलीले नियमित बजार अनुगमन गर्ने र  आवश्यक परे  थप जनशक्ति र  गाडी परिचालन गर्ने तयारीमा रहेको  विभागले जनाएको छ । 

‘नियमित  तरिकाले वस्तुको उपलब्धता भयो भने कालोबजारी हुँदैन भन्ने हो, त्यही भएर वस्तुको उपलब्धतालाई पहिलो प्राथमिकता दिएका छौँ’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भन्नुभयो । रेग्मीका अनुसार पहिलो प्राथमिकता ढुवानी प्रक्रियालाई नै दिइएको र अबको दिनमा अनुगमनलाई तीव्र गतिमा अगाडि बढाइने छ । 

अहिलेसम्म कालोबजारी नै भयो भनेर खासै नागरिकको गुनासो नआएको प्रवक्ता रेग्मी बताउनुहुन्छ । ‘अनौपचारिक रुपमा सानातिना गुनासो भने आएकाले आएका छन् । अनौपचारिक रुपमा आएको गुनासो खाद्यान्नमा भन्दा पनि मास्क र स्यानिटाइजरमा बढी मूल्य लिएको भन्ने खालका गुनासा हुन् । मास्क र स्यानिटाइजरको माग १ वर्षदेखि नै बढेको हो । अहिले एक्कासी बढेको  होइन’ उहाँले भन्नुभयो । अनुगमनको क्रममा बढाएको पाइएमा कारबाही  प्रक्रिया अगाडि बढाइने मन्त्रालयको भनाइ छ । 

व्यापारीले उपभोक्ताबाट बढी मूल्य लिएर बिक्री गरी ठगी गरेको पाइएमा तत्काल कारबाही गरी ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार उपभोक्ता संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेको छ ।

कोरानाको त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छ भन्दै हल्ला फैलाएर कालोबजारी गर्ने, मूल्यभन्दा बढी लिइ सामान बिक्री गर्ने लगायतका क्रियाकलाप गरेको पाइएमा कालोबजारी ऐनमा टेकेरसमेत कारबाही गरिने व्यवस्था छ । 

‘आपूर्ति नियमित भइरहेको छ’ 

सामान्य अवस्थामा जसरी नै ग्यास तथा खाद्य सामग्रीको आपूर्ति भइरहेको उद्योग वाणिज्य ताथ आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताउनुभयो ।

अत्यावश्यक सामग्रीको उत्पादन, ढुवानी र वितरण नियमित प्रक्रिया अनुसार नै भइरहेको छ । अहिलेसम्म त्यसमा कुनै पनि अवरोध छैन । दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सहज छ भने मौज्दात पनि पर्याप्त रहेको उहाँले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग अहिले २९ हजार ७ सय २२ मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै, खाद्यसँग नै दुर्गम जिल्लामा थप २ हजार ९ सय ५३ मेट्रिक टन चामल मौज्दात छ ।  

त्यस्तै, गहुँ ४ हजार ३ सय ८८ क्विन्टल मौज्दात रहेको छ । खाद्य संस्थानले अहिले  काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ ठाउँमा रहेका बिक्री केन्द्रबाट समय सीमा तोकेर दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्री गरिरहेको जनाएको छ । 

खाद्यले महामारीमा उपभोक्तालाई सहज बनाउन बासमती र जुम्लाको मार्सीलगायत चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु, स्यानिटाइजर बिक्री गरिरहेको छ जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ११ महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ । चिनी पनि पर्याप्त रहेको जनाएको छ । कम्पनीले महामारीमा उपभोक्ताले टोलमै बसेर नुन र चिनी किन्न सक्ने गरी डेलिभरी भ्यानमा राखेर माइकिङ गर्दै बिक्री गरिरहेको दाबी गरेको छ । 

यस्तै नेपाल आयल निगमसँग अहिले खाना पकाउने एलपी ग्यास ४६ हजार ३ सय ३२ मेट्रिक टन मौज्दात छ । त्यस्तै, डिजेल, पेट्रोल र मट्टीतेल गरी ४८ हजार २ सय ४५ किलोलिटर मौज्दात रहेको निगमले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया