भारतमा चौकीदारी गरेँ, अहिले यूएईमा मेकानिक छु

 बैशाख २६, २०७८ आइतबार १२:८:२६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रामकृष्ण शर्मा, हाल यूएई ।

म बागलुङको एउटा सामान्य परिवारमा जन्मिएको मानिस हुँ  । गाउँमै एसएलसीसम्म पढेँ । त्यसपछि गाउँकै साथीभाइको साथमा कमाउनका लागि भारत गएँ । भारतमा सामान्य चौकीदारको काम पाएँ । रात भरी चौकीदारी ग¥यो । तर तलब भने एकदमै काम थियो । सुनसान सडक । रात भरी लामखुट्टेको गुनगुन आवाज र टोकाइ । लामखुट्टे मार्ने बहानामा कति पटक त आफैँलाई कुटियो। 

यसरी भारतमा काम गर्दा मन चसक्क हुन्थ्यो । मैले यो काममा अल्झिनु हुँदैन, मेरो जीवनको बाटो योभन्दा फरक हो भन्ने लाग्थ्यो । नयाँ काम के गर्न सक्छु होला भनेर खोजी गरिरहन्थे । भविष्यमा काम लाग्ने कुनै काम सिकौँ भन्ने लागिरहन्थ्यो । रात भरी काममा हुँदा यस्तै सोच्थेँ । दिनभरि कोठामा गएर सुत्थेँ । दिउँसो नसुते फेरि राती काम गर्न सकिँदैन थियो ।

निकै समय यसरी नै बित्यो । भारतीय नागरिकको हेपाहा प्रवृत्तिको कारण पनि म दिक्क भइसकेको थिएँ काममा ।  सँगै काम गर्ने साथीभाइले गरेको व्यवहारका कारण पनि मैले अब केही गर्नुपर्छ भनेर मनमा लिएँ । इख नभएको छोरोले प्रगति गर्दैन भन्ने सुनेको थिए हो मैले पनि जीवनमा केही गर्नुपर्छ भनेर इख राखेर अघि बढ्ने प्रण गरेँ ।

समय जति लागोस्, दुःख जे सुकै गर्न परोस् काम चाहिँ सिकेर छोड्ने मेरो अठोट थियो ।  मलाई मेशिन अपरेटरको काम सिक्न मन थियो । तर भारत जस्तो ठाउँमा त्यति सजिलो थिएन । आफ्नो पेट पनि पाल्नु पर्ने बाध्यता मसँग थियो । भोको पेटले हातमा सीप भर्न त कस्ले पो सक्ला र । 

सीप सिक्ने कुरा मनमा खेलाइरहँदा मलाई पढेर मात्र अघि बढ्नपर्छ भन्ने लाग्यो । त्यसपछि मैले भारतको चेन्नाइमा मेकानिकल कोर्सको लागि कलेज खोज्न थालेँ । तर भारतमा पढ्न पनि त्यति सजिलो रहेनछ । नेपाल सरकारको पत्र चाहिने अवस्था भएपछि नेपालबाट आफन्तको सहयोगमा पत्र मगाएँ ।

बल्लतल्ल पढ्न पाएँ । अब पढाइ त सुरु भयो तर बसी बसी पढ्न त मेरो भाग्यमा कहाँ थियो र । काम पनि गर्नै पर्ने भयो । फेरि काम खोज्न थालेँ । दिनभरि कलेज पढ्ने भएपछि उही रातमा पाइने काम गर्नुपर्ने बाध्यता भयो । चौकीदारीकै काम मिल्यो । यस पटक भने यही काम पाउन पनि मैले धेरै मेहनत गर्नुप¥यो । पहिले यही काम गर्दा दुःख लाग्थ्यो । तर यसपाला भने मलाई मनमा दुःख थिएन । केही पाउन केही गुमाउन पर्छ भन्छन् । म पनि पढिरहेको थिएँ । मेरो पढाइ पूरा गर्नका लागि म जुनसुकै काम गर्न तयार भए त्यो बेलामा 

 रात भरी चौकीदारीको काम । बिहान १० बजेदेखि चार बजेसम्म कलेज । यसबिचमा जति समय बच्थ्यो त्यही समयमा मैले निद्रा पु¥याउन पथ्र्यों । तीन वर्ष यसरी नै बित्यो । कहिले निद्रा कहिले भोक । तीन वर्षपछि त मेकानिकल पढाइ सकियो । पढाइ सकेर हातमा सर्टिफिकेट हात पर्दा मैले विगतमा गरेका सबै दुःख बिर्सिएँ ।

पढाइ सकेपछि मैले त्यही काम पाएँ । हातमा सीप र साथमा सर्टिफिकेट हुँदा कसैको पनि हेपाइ र अवहेलना सहन नपर्ने रहेछ भन्ने अनुभव त्यती बेला नै भयो । 

त्यसपछि भने म आठ वर्षपछि घर फर्किए । भारतमा मैले गरेको मेहनत र पाएको सफलताको खुसी मेरो आमा बुवाको अनुहारमा प्रस्ट देखिन्थ्यो । म आठ वर्षपछि घर फर्कँदा सबैभन्दा खुसी मेरो आमा बुवा नै हुनुहुन्थ्यो । त्यो भन्दा बाहेक त मलाई के चाहियो र ।

केही समय घरमा बिताएपछि म पुनः रोजगारीका लागि खाडीको देश यूएई आएँ । आजकाल म यूएईमै मेकानिकलको काम गर्छु । अहिले कोरोना महामारीले यहाँ पनि अवस्था राम्रो छैन । तर पनि मेहनत गर्दा के खाऊ, के लगाऊ भन्न पर्दैन । यहाँबाट नेपाल फर्केपछि राम्रो वर्कसप खोल्ने सोच छ । 

समस्यासँग लड्न सक्नु नै सफल रहेछ भन्ने लाग्छ आजकाल त । अब नेपाल आएर छिट्टै वर्कसप खोल्न पाउँ भन्ने कामना गरिरहेको छु । मैले थालेको काममा अरूलाई पनि रोजगारी दिन सकूँ भन्ने मेरो सोच छ । 

अन्तिम अपडेट: जेठ ७, २०७८

तपाईको प्रतिक्रिया