हाँस्यकलाकारको संगीत मोह !

 बैशाख २७, २०७८ सोमबार १४:३२:४३ | राधिका कँडेल
unn.prixa.net

काठमाण्डाै –  हाँस्यव्यङग्यका दर्शक र स्रोताका लागि परिचित नाम हो राजा राजेन्द्र पोखरेल । हाँस्यव्यङग्यको मात्रै हैन, हरेक विधाका गीत संगीतको ज्ञान, राजनीतिक र सामाजिक विषयमा जानकार, क्यारिकेचरमा अब्बल उनी स्टेज कार्यक्रमका लागि कम्प्लिट प्याकेज नै मानिन्छन् ।

विशिष्ट प्रकारको विषयवस्तुलाई हाँस्यव्यङ्ग्यका रुपमा प्रस्तुत गर्न सक्ने खुबी छ उनमा । यही खुबीका कारण त विगत डेढ दशकमा उनी अब्बल हाँस्यव्यङ्ग्य कलाकारका रुपमा स्थापित भएका छन् । उनको करिअरको चाखलाग्दो कुरा के छ भने उनी संगीतको विद्यार्थी थिए । सानैदेखि पढाइमा अब्बल । अध्यययनकै लागि काठमाण्डौको यात्रा तय गरे । काठमाण्डौ आएपछि भने उनी कलातिर ढल्किए ।

२०५८ सालमा उनले ललितकला क्याम्पसमा म्युजिक पढ्न थाले । यही क्रममा उनले दुई चारवटा प्यारोडी गाउने अवसर पाए । उनका प्यारोडी दर्शकलाई मन पर्न थाल्यो । यही कारण उनको झुकाव बिस्तारै कमेडीतिर भयो । यो बीचमा उनले २०६१ सालमा पहिलो संगीत एल्बम सार्वजनिक गरे ‘ट्रयाजेडी इन लभ’ । तर उनको सांगीतिक एल्बमले संगीतमा उनको करिअर अगाडि बढाएन । यसले उनको ‘ट्रयाजेडी  इन म्युजिक’ बनाइदियो । यो एल्बमका गीतहरु अहिले पनि उनको कार्यस्थल रेडियो अडियोको लाईब्रेरीमा भेटिन्छन् । त्यसपछि उनी लगातार हाँस्यकलाकारकै रुपमा अगाडि बढे ।

उनले नाम र दाम राम्रै कमाए । तै पनि संगीतप्रति उनको लगाव कम भएन । पछि उनले २०६८ सालमा दोस्रो एल्बम सार्वजनिक गरे ‘मेरो माया’ । यो एल्बममा समावेश ‘चन्द्रमाको झैँ शितल देउ’ चर्चामा आयो । तर उनले आशा गरे जस्तो यो एल्बम पनि हिट भएन ।

उनको हाँस्यङग्यकै व्यस्तता कायम रह्यो । पछि उनले २०७२ सालमा एउटा सोलो ट्रयाक रिलिज गरे ‘पिरतीको चस्मा’ । यो गीतले पहिलेका गीतले भन्दा चर्चा पायो र उनको संगीतमा थप आशा पलायो । उनले यो गीतलाई केही समय अगाडि रि—रिलिज गरे जसलाई दर्शकले रुचाए । हाँस्य कलाकारको रुपमा आफ्नो नामलाई नै ब्राण्ड बनाइसकेका उनको संगीतप्रतिको मोह कहिल्यै पनि कम भएन । यही बीचमा उनी संगीत रियालिटी शो ‘द भ्वाईस अफ नेपाल सिजन २’ मा पनि सहभागी भए । तर उनी त्यसमा छनौट भएनन् ।

धेरैले उनलाई प्रश्न गरे - यति राम्रो कमेडियन त्याे शोमा किन गएको ? जवाफमा उनको अनुहारमा सन्तुष्टि देखिन्थ्यो । यसैबाट पनि उनको संगीतप्रतिको झुकाव र मोह प्रस्ट देखिन्थ्यो । उनले सामाजिक सञ्जालमा पनि एउटा लाइन राखेका छन्, ‘कमेडियन फर अल सिंगर फर माइसेल्फ ।’

उनको यो लाइनको भाव हो आफ्नो लागि कमेडियन भन्दा बढी गायक हुँ । उनी भन्छन्, ‘अहिले हाँस्यव्यङ्य मेरो जिम्मेवारी हो र गायन चाहिँ मेरो रुचि हो ।’ केही दिनअघि मात्रै उनले आमाको मुख हेर्ने दिनको छेकोमा ‘आमा जननी’ बोलको गीत सार्वजनिक गरेका छन् जसमा उनकै शब्द, संगीत र आवाज छ ।

यो गीतमा उनले आमाप्रति समर्पित गरेर लेखेका शब्द र उनको गायकीलाई धेरै रुचाइएको छ । ‘आमा जननी’ कसरी जन्मिएको थियो ? उनी भन्छ्न, ‘रातको लगभग १२ बजेतिर यो गीत मेरो दिमागमा क्लिक भयो । मैले एउटा कविता लेखे आमाको विषयमा ।

बुढो मान्छेकी आमा !

मेरो जन्म र मेरो उमेर तिमीलाई थाहा छ आमा

मेरो नाति उस्का बुवाआमा सँगै आयो र केही दिन बसेर फर्कियो 

मलाई एक्लै भएजस्तो लाग्यो र तिमीलाई सम्झिएँ 

सम्झिनु पर्ने पनि सम्झिएँ र नसम्झिनु पर्ने पनि सम्झिएँ

तिमीले पो अर्काको जागिर गरिनौ अर्काको काम गर्दाको दु:ख तिमीलाई थाहै छैन आमा ।

तिमी घडी हेरेर काममा गइनौ

महिना मरेर तलब थापिनौ

घाँस नहाल्दा गाई कराउँथ्यो गालि गर्दिनथ्याै तिमी

दुब्लाउँछ भन्ने चिन्ताले घाँस हाल्थ्यौ

पानी नहाल्दा धानले गाली गर्दैनथ्यो तिमी धेरै फलाउने लोभले पानी हाल्थ्यौ ।

मलाई नबोक्दा म गाली गर्दिनथेँ बस रुन्थें तिमी मायाले मलाई बोक्थ्यौ ।

तिमीले कि चिन्ताले कि लोभले कि मायाले गर्यौ र त तिम्रो म माथिको लगानीको हिसाब रहेन

यहाँ घडी हेरेर, गालि खाएर, हिसाब गरेर कमाएको हरेक सुकाको हिसाब हुँदो रहेछ ।

हिसाब गरेर काम, हिसाब गरेर कमाई भएपछि खर्चको पनि हिसाब रहँदो रहेछ ।

तिमीले पो बेहिसाब माया गर्न सक्यौ मैले हिसाब गरेर माया गर्न सकिनँ ।।

यो कविता पछि चाहिं यो गीतको थिम आयो । जिम्मेवारीमा मान्छे थिचिँदै जान्छ । अनि सामान्यत: के हुँदो रहेछ भने बाआमालाई केही नदिए पनि हुन्छ । तर आफू भन्दा तल्लो पुस्ताको अलि बढी नै चिन्ता हुन्छ । यो काेणबाट राति कविता फुर्यो । अनि पछि फेरि आमाकै विषयमा फरक भावमा गीत पनि बन्यो ‘आमा जननी’ ।

यो कविताले एउटा भाव दिइरहेको थियो पछि त्यो भावना स‌गीतसँगै आयो र गीत बन्यो ।’ यस गीतको शब्द मात्रै हैन भिडियो पनि निकै मर्मस्पर्शी छ । यो गीतको फरक लिरिकल भिडियो बनाउने सोचमा भएकै बेला विराज भण्डारीले उनलाई फोन गरे । विराजले उनलाई फोन गर्नुको कारण भने अर्कै थियो । तर संयोगवश विराजको पातमा आर्ट गर्ने कला यस गीतमा प्रयोग हुने भयो । पातमै उनले आमा र सन्तानको सम्बन्धको कला देखाइदिए । यसले यो गीतको लिरिकल भिडियोलाई निकै नै मर्मस्पर्शी बनाईदिएको छ ।

हाँस्यव्यङग्यसँगै उनी आफ्नो सांगीतिक करिअर पनि निरन्तर अगाडि बढाउने सोचमै छन् । उनीसँग आफ्नै गीतहरुको चाङ नै छ । दर्जनौँ बनिसकेका गीतहरुको संकलन छ जसलाई अब उनी विस्तारै—विस्तारै सार्वजनिक गर्ने सोचमा छन् । एउटा अब्बल हाँस्यकलाकारको संगीतप्रतिको यो मोह साँच्चिकै लोभलाग्दो र प्रेरणादायी छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधिका कँडेल

राधिका कँडेल  रेडियो अडियोमा कार्यरत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया