जसपा दुई खेमामा विभाजित

 बैशाख २७, २०७८ सोमबार २०:१८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसहरू तटस्थ बसेका छन् ।

विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सबै मुद्दा फिर्ता लिइ दिन माग गर्नुभएको थियो । उहाँले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफूले संविधान संशाेधनको मागलाई नछोडेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्ष वा विपक्षमा नरहेको भन्दै तटस्थ बस्ने सङ्केत गर्नुभएको थियो ।

यता अर्का अध्यक्ष उपेन्द्र महतो भने वर्तमान सरकारको कार्यशैलीविरुद्ध कडा रूपमा प्रस्तुत हुनुभएको थियो । उहाँले प्रधानमन्त्री ओलीलाई मधेश र मधेशी नागरिक विरोधी भएकाे आराेप लगाउँदै पछिल्लो समय केही मधेशीलाई फकाउने काममा लागेको टिप्पणी गर्नुभयो ।

मधेश आन्दोलनमा मानिसहरू मारिँदा प्रधानमन्त्रीले दुई/चार वटा आँप झरेको टिप्पणी गरेको भन्दै नेता यादवले प्रश्न गर्नुभयो, त्यो बेला उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) को अभिव्यक्ति के थियो ? दुई/चार वटा आँप झरेको हो । अहिले त्यही आँप खुवाउनुहुन्छ मधेशीहरूलाई ?

एउटै पार्टीका अर्का अध्यक्ष ठाकुरले विश्वासको प्रस्तावमा तटस्थ बस्ने धारणा राख्नुभएको थियो भने यादवले भने विपक्षमा उभिएकाे बताउनुभएको थियो ।

संसद् असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । नागरिक सडकमा आए । सर्वोच्चले पुनर्स्थापित गरिदियो । जुन संसदमा विश्वास छैन । कसरी मत दिने ?, यादवले भन्नुभयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया