हिउँ चितुवा संरक्षणको पर्खाइमा दोलखा

 बैशाख २८, २०७८ मंगलबार १२:४१:५४ | उषा तामाङ
unn.prixa.net

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना दोलखा

दोलखा – पहिलो पटक २०७६ जेठ २२ मा दोलखाको लप्चीमा हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यस्तै दोस्रो पटक २०७६ पुस २० मा रोल्वालिङ उपत्यकामा पनि हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यी दुवै ठाउँ गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्दछन् । २०६६ पुस २७ मा घोषणा भएको यो क्षेत्रमा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका दुई हजार एक सय ७९ वर्ग किलोमिटर भूमि समेटिएको छ । नेपाल सरकारले गौरीशङ्कर संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ । संरक्षण क्षेत्र स्थापना भएको दशौँ वर्षमा विश्वमै दुर्लभ मानिएको हिउँ चितुवा भेटियो । त्यसपछि हिउँ चितुवाको संरक्षण गर्ने काम अघि बढाउने भनियो । तर डेढ वर्ष बितिसक्दा पनि हिउँ चितुवा संरक्षण नीतिमा मात्रै सीमित छ । संरक्षणको काम अघि बढ्न सकेको छैन । 

क्यामेरा ट्र्यापिङ विधिबाट डेढ वर्षअघि गौरीशङ्कर संरक्षण क्षेत्रमा 'हिमालकी रानी' हिउँ चितुवा रहेको पुष्टि भएसँगै दोलखावासी खुसी भएका थिए । त्यसमा पनि पदयात्राका लागि रोमाञ्चक र रमणीय क्षेत्र रोल्वालिङ उपत्यकाभित्र पर्ने सिमी गाउँ, टासीनाम, रिकु, सुरमुचे, क्याल्चे, डोङगाङ, ठाङदिङ, वेदिङ र ना गाउँका ३० भन्दा बढी होटल व्यवसायी अझ धेरै उत्साहित भएका थिए । विशेषगरी च्छो रोल्पा हिमताल जाने पर्यटकको स्वागत र सत्कार गर्दै आएका होटेल व्यवसायीलाई लागेको थियो, अब हिउँ चितुवा हेर्न पर्यटक आउने छन्, होटल व्यवसाय फस्टाउने छ ।

डेढ वर्षसम्म पनि हिउँ चितुवा संरक्षणको काम अघि नबढ्दा निराशा छाएको बताउनुहुन्छ, आठ वर्षदेखि सुरमुचे बस्तीमा होटल सञ्चालन गर्दै आउनुभएकी माङ्गु शेर्पा । उहाँ भन्नुहुन्छ, ‘हिउँ चितुवा देखा परेपछि एकदमै खुसी लाग्यो, म होटल व्यवसाय गर्ने भएकाले हिउँ चितुवा देखा पर्‍याे भन्दा पर्यटक धेरै भित्रिन्छ होला भन्ने आशा लागेको थियो । लगानी गरे अनुसारको फाइदा अथवा सेवा लिन दिन पाइन्छ होला भन्ने आशा लागेको थियो । कन्जर्भेशनले हिउँ चितुवा त देखा पर्‍याे भनेर न्युजमा आयो, प्रचारप्रसार भएन । हिउँ चितुवालाई संरक्षणको सुरुवात भएन । संरक्षण नभएकै कारण हामी होटल व्यवसायीलाई दुःख लागेको छ ।’ 

नेपाललगायत विश्वका १२ देशमा मात्र हिउँ चितुवा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा हिम चितुवा ‘जोखिमयुक्त’ वर्गमा छ । सङ्घले यसलाई ‘लोपोन्मुख’ बाट ‘जोखिमयुक्त’ वर्गमा झारेको तीन वर्षमात्र भएको छ । यस्तै दुर्लभ तथा लोप हुन सक्ने वन्यजन्तु तथा वनस्पतिका प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले हिउँ चितुवाको आखेटोपहार र जीवित वा मृत अवस्थामा व्यापार गर्नमा पूर्णतया रोक लगाएको छ । 

नेपालमा पनि हिउँ चितुवाको संरक्षणका लागि केही कानुनी र नीतिगत व्यवस्था गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा हिउँ चितुवा संरक्षित वन्यजन्तुको सूचीमा छ, यसको सिकार गर्न पाइँदैन । कसैले हिउँ चितुवा मार्छ, घाइते बनाउँछ, यसको आखेटोपहार राख्छ, किन्छ, बेच्छ वा ओसारपसार गर्छ भने त्यस्तो व्यक्तिले पाँच देखि १० लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्छ । पाँचदेखि १५ वर्षसम्म कैद वा जरिबाना वा दुवै सजाय पनि भोग्नुपर्छ । हिउँ चितुवाको चोरी, सिकार र अवैध व्यापारसम्बन्धी सूचना दिने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ । 

हिउँ चितुवा संरक्षणका लागि कानुन बनेको भए पनि डेढ वर्षसम्म त्यो व्यवहारमा लागू नभएपछि आफूहरूलाई खल्लो लागेको स्थानीयवासी लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुनको प्रावधान अहिले ओझेलमा परेको छ, त्यसैले त अझै संरक्षणका काम भएको अनुभव हामीले गर्न सकेनाैँ ।’   

दोलखावासीले हिउँ चितुवाको संरक्षणमा काम भएको अनुभव गर्न अझै बाँकी छ । यद्यपि नेपालले सन् २००५ मा नै दश वर्षे हिउँ चितुवा संरक्षण कार्ययोजना लागू गरेको थियो । त्यसको मूल्याङ्कन गरेर कार्ययोजनालाई अद्यावधिक पनि ग¥यो । सन् २०१७ मा तीन वर्षे हिउँ चितुवा संरक्षण कार्ययोजना लागू ग¥यो । यस्तै हिउँ चितुवा तथा पारिस्थितिक प्रणाली व्यवस्थापन योजनाले सन् २०१७ देखि २०२६ सम्मका लागि आवधिक योजना पनि ल्यायो । व्यवस्थापन योजनाको रणनीतिमा हिउँ चितुवाको आवास व्यवस्थापन, मानव र हिउँ चितुवाको द्वन्द्व व्यवस्थापन, कानुन सुदृढ गर्ने, अन्तर्राष्ट्रिय सहयोग जुटाउने कुरा समेटियो । यद्यपि व्यवस्थापन योजनामा भएका कुनै पनि कार्यक्रम गौरीशङ्कर संरक्षण क्षेत्रमा कार्यान्वयन गरिएको छैन ।

‘कोरोना आएको छ । न नेपाल सरकारले न राष्ट्रिय प्रकृति संरक्षण कोषले कुनै कार्यक्रम दिएको छ । हाम्रो काम हो, दैनिक त्यहाँको नागरिककाे काम मात्रै गर्ने । बाँकी काम अहिले वास्तवमा ठप्पै सरह नै छ । जति हामीले लक्ष्य लिएका थियाैँ, त्योअनुसार भइरहेको छैन’, गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाह भन्नुहुन्छ ।

त्यसो त हिउँ चितुवा पाइने संरक्षित क्षेत्रहरूमा हिउँ चितुवा संरक्षण कार्यमा विशेष पहल गरिएको छ । प्रत्येक वर्ष अक्टोबर २३ मा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । हिउँ चितुवा संरक्षण र अध्ययन, अनुसन्धानका लागि केही संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र निर्माण भइरहेका छन् । हिउँ चितुवाको प्रमुख बासस्थानमध्ये शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा हिउँ चितुवा तथा अन्य वन्यजन्तुप्रति किसानहरूको प्रतिरोध घटाइ संरक्षण गर्न पशु बीमा कार्यक्रम लागू गरिएको छ । यसरी हेर्दा हिउँ चितुवा संरक्षणलाई सरकारले प्राथमिकता दिएको देखिन्छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रमा भने काम हुन सकेको छैन । काम नहुनुका थप कारणबारे गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख शाह भन्नुहुन्छ, ‘हिउँ चितुवालाई संरक्षण गर्नका लागि हामीले स्नोलियोपार्ड एक्शन प्लान बनाउनुपर्ने हुन्छ । आर्थिक अवस्था कमजोर नभएको भए, कर्मचारीको अभाव नभएको भए अहिले एक्शन प्लान बनाएर त्यसको कार्यान्वयनतिर हामी गइसक्थ्यौँ । र त्यहाँका नागरिकलाई एक किसिमको एउटा समिति गठन गरेर हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ भनेर एक किसिमको काम अगाडि बढ्थ्यो, त्यो बढ्न सकेन ।’ 

गौरीशङ्कर संरक्षण क्षेत्रसहित सात वटा आयोजनाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले व्यवस्थापन गरिरहेको गौरीशङ्कर संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिति पुष्टि हुनु कोषका लागि गौरवको विषय बन्नुपर्थ्याे । हिउँ चितुवा संरक्षणका लागि कोषले कुनै पनि कार्यक्रम नदिँदा संरक्षणको काम अघि नबढेको भन्ने विषयमा आधिकारिक विचार लिन पटक–पटक प्रयास गरिए पनि कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी जवाफका लागि तयार हुनुभएन । 

हिउँ चितुवा संरक्षण गर्न तत्कालका लागि हिउँ चितुवाको सङ्ख्या, बासस्थान, स्थायी बसोबास गर्ने र केही समयका लागि आउनेको सङ्ख्या, भाले पोथी यकिन गर्न अध्ययन र अनुसन्धान गरिनुपर्ने अनुसन्धानकर्ताहरूको सुझाव थियो । संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिति रहे–नरहेको पत्ता लगाउन स्थलगत अनुसन्धानमा खटिनुभएका नेपाल इन्जिनियरिङ कलेज, स्नातकोत्तर अध्ययन केन्द्रका उप–प्राध्यापक डा. नारायणप्रसाद कोजु भन्नुहुन्छ, ‘टड्कारो रूपमा त हामीसँग गौरीशङ्कर क्षेत्रभित्रको हिउँ चितुवाको सङ्ख्या कति हो ? यसको आहारा, प्रजातिहरू कस्तो छ ? र योसँग मानवको द्वन्द्व हुन सक्ने सम्भावनाका बारेमा अहिलेको केही वर्षमा यो विषयमा अनुसन्धानको निचोडमा हामी पुग्न सक्यौँ भने त्यसको भविष्यको संरक्षणको निम्ति सजिलो हुन्छ । लामो समयसम्मको अनुसन्धान र संरक्षणका निम्ति यो प्रजातिको वंशानुगत अध्ययन गरेर संरक्षण क्षेत्रको वरपर संरक्षण क्षेत्रभित्र भएका हिउँ चितुवाहरूको वंशानुगत अवस्थिति के हो ? यिनीहरूको प्रजनन सफलता कत्तिको नजिक छ ? त्यो तहसम्म अनुसन्धान गर्न पायो भने राम्रै हुन्छ ।’ 

अनुसन्धानले हिउँ चितुवा संरक्षणका चुनौतीहरूलाई पार लगाउने बाटो देखाउँछ । घुमन्ते गोठाला–स्थानीयवासीबीच द्वन्द्वसँगै चोरी, सिकार र जलवायु परिवर्तनका चुनौती छन् । घरपालुवा जनावर खाइदिने भएकाले स्थानीयवासीले हिउँ चितुवालाई मार्ने गरेका छन् । यसका साथै बासस्थान खण्डीकरण, अवैध चोरी–सिकार, अङ्गहरूको व्यापार र घरपालुवा जनावरको चरन क्षेत्र जस्ता चुनौतीलाई व्यवस्थित गरी संरक्षण चेतना बढाउँदै हिउँ चितुवा संरक्षण गर्नुपर्ने हुन्छ । नेपालले जारी गरेको हिउँ चितुवा व्यवस्थापन योजनामा हिउँ चितुवा पाइने स्थानका मानिसको जीवनस्तर उकास्ने, स्थानीय समुदायलाई प्राथमिकतामा राख्ने, हिउँ चितुवाको विषयमा ज्ञान बढाउनेलगायत उल्लेख छ । तर हिउँ चितुवा रहेको पुष्टि भएको गौरीशङ्कर संरक्षण क्षेत्रमा हिउँ चितुवा संरक्षण समितिसमेत बनाइएको छैन ।

हिउँ चितुवाको अध्ययनमा २०३७ सालदेखि निरन्तर लाग्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करनबहादुर शाह हिउँ चितुवाको संरक्षणका लागि स्थानीय समुदायलाई समेटेर तत्काल समिति बनाउनुपर्ने ठान्नुहुन्छ । ‘समितिले बढी फोकस हिउँ चितुवालाई गर्ने । किनभने हिउँ चितुवा मात्रै त जोगाउनु त भएन । हिउँ चितुवा जत्तिकै त्यसको आहारा, उसले खाने वन्यजन्तु उसलाई पनि जोगाउनु प¥यो । हिउँ चितुवा मार्ने एउटा कारण चाहिँ बदलाको भावनाले मार्ने हो नेपालमा । उनीहरूको गाईवस्तु मारेको, उनीहरूको भेडा बाख्रा च्याङ्ग्रा मारेको जति छ, त्योअनुसारको पैसा पायो भने त हिउँ चितुवालाई मार्दैन त । विष हालेर मार्दै पासोमा पार्दैन । स्थानीयवासीलाई अरू ठाउँको भ्रमण गराएर, अरू ठाउँ भनेको चाहिँ जहाँ हिउँ चितुवा पाउने हो त्यो ठाउँमा राम्रो काम भएको छ, स्थानीयको सहभागितामा त्यही ठाउँमा लगेर बुझाइए स्थानीयवासीले पनि संरक्षण गर्छन् । यो जिम्मेवारी चाहिँ गौरीशङ्कर संरक्षण क्षेत्रका सम्बन्धित अधिकारीहरूको हो’, उहाँ भन्नुहुन्छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रका सम्बन्धित अधिकारीले प्रकृति संरक्षण कोषलाई देखाउने र कोषका पदाधिकारीले पत्रकारलाई जवाफसमेत दिन नचाहेको अवस्था छ । यसले हिउँ चितुवा संरक्षणको काम अझै टाढा रहेको देखाउँछ । हिउँ चितुवा कोषले विश्वमा तीन हजार पाँच सयदेखि सात हजारको सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरेको छ भने नेपालमा यो सङ्ख्या तीन सय ५० देखि पाँच सय रहेको बताइन्छ । संसारमै दुर्लभ हिउँ चितुवा दोलखामा पनि पाइएपछि त्यसको प्रचार गर्न तामझामका साथ पत्रकार सम्मेलन गरिएको थियो । 

हिउँ चितुवा संरक्षणको सवाल उति बेलै उठे पनि अहिलेसम्म संरक्षणको कामै सुरु नहुँदा दोलखामा हिउँ चितुवाको उपस्थिति ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तै भएको छ । अर्कातिर संरक्षण क्षेत्रमा १० वर्षसम्म गरिएको खर्च पनि ‘बालुवामा पानी खन्याए’ जस्तै भएको छ । अनि हिउँ चितुवाले ‘हिमालकी रानी’ बनेर संरक्षण पाउनेभन्दा पनि ‘हिमालको भूत’ जसरी हराउने अवस्था पो भोग्नुपर्ने हो कि भन्ने चिसो पनि गौरीशङ्करवासीमा पस्न थालेको छ ।  

(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता : रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)  

अन्तिम अपडेट: जेठ १२, २०७८

उषा तामाङ

उज्यालोका दोलखा सहकमी उषा तामाङ कालिञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Shankar Man Thami

    May 13, 2021, 10:55 a.m.

    यसमा मेरो चै अलि चित्त बुझेन । अलि नकारात्मक प्रभाव बढि पार्न खोजिऐको हो कि जस्तो देखियो । कुनै एक लेखले कर्मचारी, संरक्षण क्षेत्र भित्र रहेका सरोकारवाला निकाय, स्थानिय बासी प्रती हिउचितुवा संरक्षणमा सकारात्मक प्रभाव बनाउनु पर्ने तर यो लेखले अझ नकारात्मक प्रभाव बढायो भने जिम्मेवार को भन्हिने प्रश्न नआउला भन्न सकिन्न । हिउ चितुवा संरक्षण एक व्यक्ती, एक संस्था अनि एक सरकारले मात्र गरेर हुदैन यसको लागि सबैको सहकार्यको आवश्यक्ता हुनु जरुरी छ । #सल्लाह #सुझाव

  •  0 Reply

तपाईको प्रतिक्रिया