कोभिड–१९ का कारण चीनसँगकाे पहिलाे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या

 बैशाख २८, २०७८ मंगलबार २०:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन ।

डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ ।

दुवै देशका प्राविधिकले फिल्ड भिजिट गरेर ज्वाइन्ट क्रसिङ प्वाइन्ट र कन्भर्टर स्टेशन कहाँ राख्ने भनेर टुङ्गो लगाउन पर्ने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । नेपालको तर्फबाट गर्ने काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

कोभिड–१९ का कारण लोड फ्लो टेस्ट र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छैन । यी दुवै काम संयुक्त रूपमा गर्नुपर्ने हुन्छ । 

प्रसारण लाइन निर्माण कार्यअन्तर्गत यसअघि नेपाल र चीनमा निर्माण हुने सबस्टेशनका लागि स्थान छनोट गरिएको छ । नेपालतर्फ त्रिशूली र चीनतर्फ जिलोङ काउन्टीमा सबस्टेशन निर्माण हुने आयोजनाले जनाएको छ । प्रसारण लाइनमा पाँच हजार मेगावट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको भए पनि कोरोनाका कारण काम प्रभावित भएको छ ।

यसको काम झण्डै डेढ वर्षमा सकिने रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य ६ वर्षमा सकिनेछ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया