परदेशीको कोठामा इद, फोनमै इद मुबारक

 बैशाख २८, २०७८ मंगलबार १८:१४:२ | मेरो कथा मेरो भोगाई

नारायण कोइराला/तानसेन पाल्पा, हाल यूएई ।

अहिले यूएईमा इदको समय छ । इस्लाम धर्मावलम्बीहरूको लागि खुसीको समय हो ।

यो बेला दुःखसुख आदानप्रदान गरिन्छ । एक महिना रमजान सकिएपछि इद उल–फितर आउने गर्दछ । यसपालि इदमा ठुलो भिडभाड हुने अवस्था छैन । कोरोना महामारीको कारण यहाँको सरकारले कडा नीति लागू गरेको छ । यो खुसी मानिसहरुले घरमै बसेर साटासाट गर्ने बाहेक अर्को विकल्प छैन । 

समूहमा घुमफिर गर्ने अवस्था पनि छैन । यहाँका इस्लाम धर्मावलम्बी साथीहरूले पनि घरैमा बसेर मनाउनेछन् ।

हामी आप्रवासी नेपालीहरू पनि कोठामा बस्ने साथीभाइ मिलीजुली गफगाफ गर्ने हाे । मिठो मसिनो बनाउने र खाने योजना बनाएका छौँ । 

सामान्य अवस्था भएको भए नेपाली परिकार, माछा मासु खाने थियौँ । भुटुवादेखि सुपसम्म बन्ने थियो । समय अनुसार चल्नपर्छ । यो बेला रमाइलोभन्दा पनि स्वास्थ्य ठुलो कुरा भएको  छ । 

कम्पनीले बिदा दिए पनि होहल्ला गर्ने, घुम्ने रम्ने समय छैन । यहाँको सरकारले लागू गरेका मापदण्डमा यी कुरा गर्न पनि पाइँदैन र गर्नु पनि हुँदैन ।

किनकि परदेशी भूमिमा रहेका हामीले यहाँका सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्नपर्छ । अझ यो बेला त ज्यानको सवाल छ । भिडभाड ग¥यो भने जरिबाना तिर्नपर्छ । ठाउँ ठाउँमा सीसी क्यामेरादेखि प्रहरीहरू परिचालित छन् ।

हामीले हाम्रो सुरक्षाका लागि नै यो सब गरिएको हो भनेर बुझ्न जरुरी छ । 

यही नियमकै कारण त आजसम्म परदेशी भूमिमा भए पनि हामी सुरक्षित छौँ । आउँदा दिनमा पनि सुरक्षित रहनु छ । किनकि यो हाम्रो देश हैन परदेश हो । परदेशमा आफ्नो लागि आफूभन्दा अरू को हुन्छ र । 

नेपालमा कोरोना महामारीको अवस्था जुन हिसाबमा छ त्यो चिन्ता जनक छ । यहाँ रहँदा हामीलाई देशको अवस्थाले मन दुख्छ । तर यहाँ अहिलेसम्म हामीलाई ठिक छ र सन्तोषजनक नै छ ।

यो इदमा विभिन्न देशबाट हामीजस्तै रोजगारीका लागि यहाँ आइपुग्नुभएका इस्लाम धर्मावलम्बी साथीहरूले निम्तो दिनुभएको छ । तर बितेका वर्षहरूमा जस्तो यो साल आउन सक्ने अवस्था छैन । ज्यान रहे अर्को साल खुसी साटौँला भन्दै चित्त बुझाउन पर्ने अवस्था छ । 

यो देशमा विभिन्न देशबाट विभिन्न धर्म र संस्कृति भएका नागरिकहरू आइपुग्छन् । तर सबै जना मिलेर सबैले एक अर्कालाई सम्मान गरेर बस्न सक्नुपर्छ । विभिन्न देशका साथी अलग, अलग विचार अलग धर्म, संस्कृति तर पनि आफ्नै जस्तो मेलमिलाप यही त परदेशको भोगाइ हो । 

कैयन वर्ष विदेशमा साथीभाइसँग इदको रमाइलोमा सहभागी भयको अनुभव पनि छ । ती अनुभवहरू सम्झँदा मन आज अलि फुरुङ्ग हुन्छ ।

   इद आउँदै गर्दा हामी घुम्न जानको लागि सबै तयारी गथ्यौं । इदमा सहभागी भएपछि साँझ कुनै न कुनै ठाउँमा रमाइलो गर्दै दुःखहरू बिर्सने कोसिस गरिन्थ्यो । 

अहिले त कोठाबाट बाहिर जान पनि धेरै पल्ट सोच्नु पर्ने अवस्था छ । लकडाउन नभए पनि व्यवस्थापन कडा छ । अवस्था र व्यवस्था अनुसार नै आफूलाई चलाउन पर्दो रहेछ ।

यो इदको बिदा कोठा मै बसेर बित्ने छ । साथीभाइसँग फोनमा नै इद मुबारक गर्ने छौ। बाँकी समय आफन्त र घर परिवारसँग दुःखसुख साटासाट गर्दै बित्ने छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया