नेपाल मेडिकल कलेजमा १३ वटा सिलिन्डरबाट ९० जनालाई अक्सिजन दिइँदै, ‘थप अक्सिजनको पर्खाइ’

 बैशाख २८, २०७८ मंगलबार १८:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अत्तरखेल जोरपाटीमा कोरोना सङ्क्रमणका बिरामीका लागि अक्सिजनको चरम अभाव भएको छ ।

अस्पतालले मङ्गलवार बिहान सूचना निकालेर दिउँसो ४ बजेसम्म मात्रै अक्सिजनले धान्न सक्ने भएकाले कोरोनाका बिरामी डिस्चार्ज गरिने जानकारी दिएको थियो । अस्पतालले सीसीएमसी र सरोकारवालालाई अनुरोध पनि गरेको थियो । अक्सिजन अभावमा अस्पतालमा रहेका ९० जना बिरामी जोखिममा छन् ।

दिनभरिको दौडधुपपछि सीसीएमसीको पहलमा बल्लतल्ल १३ सिलिन्डर अक्सिजन आइपुगेको र त्यसैले ९० जना बिरामीलाई पुर्‍याउने कोसिस भइरहेको प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्काले उज्यालोलाई जानकारी दिनुभयो । यसले पनि अब एक घण्टालाई मात्रै धान्ने र फेरि हाहाकार हुने खड्काको भनाइ छ ।

अस्पतालले अक्सिजन लिँदै आएको सोपान उद्योग ललितपुरको मेशिन बिग्रिएका कारण आज बिहानदेखि आपूर्ति बन्द भएको थियो । अहिले मेशिन बनिसकेकाले केही घण्टापछि अक्सिजन आउन सक्ने खड्काले बताउनुभयो । 

तर नेपाल मेडिकल कलेजमा दैनिक दुई सय ५० थान अक्सिजन सिलिन्डर चाहिनेमा सीसीएमसीले जम्मा एक सय थानको कोटा दिएको पनि प्रशासकीय अधिकृत खड्काको गुनासो छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया