‘खाेप र उपचारले मात्र सङ्क्रमण नियन्त्रण हुँदैन, जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ’

 बैशाख २९, २०७८ बुधबार १५:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डाक्टर राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले सङ्क्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताउनुभएको छ । न्युज एजेन्सीसँगकाे अन्तर्वार्तामा डा. पाण्डवले विश्वभर नै महामारी निरन्तर रूपमा बढ्दै गएको तथा ज्यान गुमाउनेकाे सङ्ख्या पनि बढिरहेकाले उपचारभन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्नेतर्फ सबै सचेत इमानदार हुन आवश्यक रहेको बताउनुभएको हो । 

सङ्क्रमण नियन्त्रणका लागि खोप महत्त्वपूर्ण तथा शक्तिशाली उपाय भए पनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुई सय ७५ भन्दा बढी खोप विकासको चरणमा रहेको र ९१ को चिकित्सकीय रूपमा प्रयोग भइ नियामक निकायले कतिपयलाई आपत्कालीन प्रयोगका लागि पनि अनुमति दिइसकेकाले केही आशाका किरण पनि देखा पर्न थालेको उहाँले उल्लेख गर्नुभयाे । 

डा. पाण्डवले विश्व नै एकीकृत हुनसक्ने हो भने खोपको पर्याप्त उत्पादनमा अभूतपूर्व गति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । तर त्यसका लागि सबै सरकारबाट तत्कालै महत्त्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिबद्धता आवश्यक पर्ने उहाँले बताउनुभयो । दक्षिण पूर्वी एसिया र विकासशील देशमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन भएकाे उहाँले बताउनुभयो ।

बलियो स्वास्थ्य प्रणाली र जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरूले कोभिड १९ को सामना गर्न बढी सक्षम भएबाट अन्य देशले स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सबलीकरणमा लगानी गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको उहाँले बताउनुभयो । विगतका दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड १९ को सङ्कटको रूपमा दुर्भाग्यवश देखापरेको तर्क डा. पाण्डवले गर्नुभयो ।

प्रस्तुत छ, विश्वभर कोभिड सङ्क्रमण, रोकथाम तथा उपचारको वर्तमान अवस्था, खोपको पर्याप्तता, नेपालमा सङ्क्रमण वृद्धिको दर तथा नियन्त्रणका लागि सरकारले चालेका कदमका बारेमा  नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवसँग न्युज एजेन्सीले गरिएकाे अन्तर्वार्ता– 

प्रश्नः अहिले विश्वमा फैलिएको सङ्क्रमण कस्तो हो ?

उत्तर: विश्वभरl नै कोभिड १९ महामारी निरन्तर रूपमा चर्कँदो छ । अहिले सङ्क्रमितको सङ्ख्या बढिरहेको लगातार नाै हप्ता भयो र ज्यान गुमाउनेकाे सङ्ख्या बढिरहेको लगातार ६ हप्ता भयाे । विश्वभर गएकाे हप्ता पत्ता लागेका सङ्क्रमणका घटनाहरु झन्डै झन्डै महामारीको पहिलो पाँच महिनामा पत्ता लागेका घटनाको बराबर थिए । गएकाे हप्ता ५७ लाख सङ्क्रमित पत्ता लागे भने ९३ हजारभन्दा बढी मानिसको ज्यान गएकाे जानकारी विश्व स्वास्थ्य सङ्गठनलाई प्राप्त भएको छ । महामारीको सुरुवातदेखि अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १५ करोड नाघेको छ भने ज्यान गुमाउनेकाे सङ्ख्या ३१ लाख नाघेकाे छ । विश्वस्तरमा हेर्दा यो चिन्ताजनक स्थिति हो । अर्कोतर्फ विश्वभर नै नयाँ नयाँ भेरिएन्टको प्रभाव देखिएको छ । वर्षभरिकाे लकडाउन र नियन्त्रणको अन्य उपायपछि धेरै मान्छे भेला हुने ठाउँ खुल्न थाले भने खोपको वितरण पनि अपर्याप्त रह्यो, त्यसैले उल्लेख्य प्रगति हुँदा हुँदै पनि संसारभरि विशेषतः दक्षिण पूर्वी एसिया र विकासशील देशमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन छ ।

प्रश्न: नेपाल, भारत जस्ता देश किन यसको मारमा पर्दैछन् ? अरू देशले कसरी यसलाई नियन्त्रणमा लिए ?

उत्तर: राम्रो प्रश्न गर्नुभयो । जुन जुन देशले यसलाई निन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे तिनीहरूमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मेहनतपूर्वक कार्यान्वयन भएको छ । आधारभूत रूपमा भन्नुपर्दा, फराकिलो पहुँचसहितको परीक्षण, घटना अनुसन्धान र सम्पर्क पहिचान र मानिसहरू सबै जनस्वास्थ्य तथा सामाजिक उपाय अवलम्बन गर्छन् भन्ने सुनिश्चित गरिएको थियो । राम्रो गर्ने देशहरूले वैज्ञानिक प्रमाण र सबल तथ्याङ्कका आधारमा नीति अपनाएका छन् । तर न्यून आय भएका देशहरू भन्दा उच्च आय भएका देशहरूको रोजाइ अत्यन्तै फरक छ । बलियो स्वास्थ्य प्रणाली, स्वास्थ्य स्याहार तथा जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरू नै कोभिड १९ का कारण उत्पन्न सङ्कट चुलिँदा त्यसको सामना गर्न बढी सक्षम भए । विगतको दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड १९ को सङ्कटको रूपमा दुर्भाग्यवश देखा परेको केही देशकाे बुझाइ छ । तर यहाँ अवसर पनि छन् । कोभिड १९ विरुद्ध लड्दै गर्दा अब हामीले बलियो स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सबलीकरणबारे अत्यन्तै गम्भीर रूपमा सोच्नुपर्छ । जसका कारण आउँदा वर्षमा यस्ता महामारीको प्रभावकारी समाधान गर्न सकियोस् ।

प्रश्न: नेपालको अवस्थाबारे विश्व स्वास्थ्य सङ्गठनलाई पूर्वअनुमान थियो ? सरकारलाई सुझाव दिएको थियो ? कि सरकारले सुझाव नै लिएन ?

उत्तर: विश्व स्वास्थ्य सङ्गठन आधारभूत रूपमा एउटा प्राविधिक निकाय हो । हामी नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड १९ सँग सम्बन्धित विभिन्न क्षेत्र तथा विषयमा विश्वव्यापी प्रमाण तथा सुझाव उपलब्ध गराउँछौँ । हामीले दिएको जानकारीलाई के गर्ने भन्ने कुरा सरकारले निर्णय गर्ने हो । यद्यपि हामी सरकारले लागू गर्न सकोस् भनेर सुझावलाई नेपालका लागि सुहाउँदो बनाउने प्रयास गर्छाैँ । कोभिड १९ महामारीको सुरुवातदेखि नै हामीले नेपाल सरकारलाई सुझाव, मानवीय स्रोत र सामाग्रीको सहयोग दिँदै आएका छौँ । हाम्रो निकट सम्बन्धका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग काँधमा काँध मिलाएर काम गर्छाैँ र प्राविधिक ज्ञान तथा सुझाव निरन्तर आदानप्रदान गर्छौँ । चाहे ती सरकारी, निजी वा गैरसरकारी किन नहुन् । देशका सबै संस्थाले कोभिड १९ विरुद्ध लड्नका लागि समग्र समाजको दृष्टिकोणबाट आफ्ना स्रोत साधनलाई एकीकृत गरी प्रयोग गर्नुपर्छ । त्यसो भएमा मात्रै कोभिड १९ विरुद्धको लडाइँमा ऐक्यबद्ध हुने र वैज्ञानिक प्रमाणमा आधारित निर्णय लिने कुराको आशा गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले दिएका सुझाव सरकारका निर्देशिका, मार्गदर्शन, मापदण्ड तथा कार्यविधिका रूपमा परिणत भएका छन् । हामीले कोभिड १९ विरुद्धको लडाइँमा प्राप्त अद्यावधिक सूचना तथा वैज्ञानिक प्रमाण सधैँ सरकारलाई उपलब्ध गराएका छौँ । रोग बढ्दै जाँदा नयाँ भेरिएन्ट आइरहेका छन्, अनि नयाँ प्रमाणहरू पनि । हामी तत्कालै तिनलाई सम्प्रेषण गर्छाैँ र सरोकारवालालाई यस विषयमा छलफल र निर्णय अगाडि बढाउनका लागि मनाउन हाम्रो शक्ति , विश्वसनीयता र भूमिकालाई प्रयोग गर्छाैँ । विश्व स्वास्थ्य सङ्गठनका कर्मचारी सङ्घीय वा केन्द्रीय तहमा मात्रै नभएर प्रादेशिक तहमा पनि राखिएका छन् । जसले यस कठिन समयमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराउँछन् । मुख्यत गएकाे एक वर्षदेखि नेपालमा हामीले समग्र व्यावहारिक दृष्टिकोण अपनाएका छौँ ।

प्रश्न: हामीले सङ्क्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति ठिक छ ? कि अझै फरक नीति लिनुपर्थ्याे ?

उत्तर: हामीसँग जनस्वास्थ्यका विभिन्न कार्यक्रम छन् । जस्तै: घटना अनुसन्धान, सम्पर्क पहिचान, जोखिममा रहेकाको क्वरेण्टीन तथा सङ्क्रमित तथा बिरामीका लागि आइसोलेशन । सङ्क्रमणको विस्तार रोक्न वा कम गर्न मास्क लगाउने, हातको सफाइ गर्ने तथा भौतिक दुरी कायम गर्ने उपाय पनि छन् । उपचारका लागि अक्सिजन र डेक्सामेथाजोन पनि छन् । कोभिड १९ रोकथामका लागि विभिन्न सुरक्षित तथा प्रभावकारी खोप पनि छन् । अब हामीले गर्नुपर्ने जरुरी काम भनेको यिनमा पहुँच विस्तार गर्नु, सङ्क्रमण रोक्नु र जीवन बचाउनु हो । नेपालले कोभिड १९ विरुद्ध यी विभिन्न रणनीति अपनाएको छ । उपलब्ध साधनको निरन्तर र समतापूर्ण प्रयोग भएमा केही महिनामा नै यस महामारीलाई नियन्त्रण गर्ने विभिन्न साधन हामीसँग छन् । खोप एक महत्त्वपूर्ण तथा शक्तिशाली उपाय हो । तर एउटामात्र उपाय होइन । भौतिक दुरी, मास्क, हातको सफाइ, हावा सञ्चार अर्थात् भेन्टिलेशन, निगरानी, परीक्षण, सम्पर्क पहिचान, आइसोलेशन, क्वरेण्टीन र स्नेहपूर्ण स्याहार सुसार । यी सबैले सङ्क्रमण रोक्न र जीवन बचाउन सहयोग गर्छन् । सही नीति हुनु भनेको समाधानको एउटा पक्ष मात्रै हो । अर्को पक्ष चाहिँ यसको पूर्ण कार्यान्वयन हो ।

मैले भनिसकेँ कि कोभिड १९ विरुद्ध लड्नका लागि  सरकार र समग्र समाज चाहिन्छ । अनि नेपालमा पनि यही कुरा लागू हुन्छ । कोभिड १९ महामारी परास्त गर्न समाज तथा समुदाय, सञ्चारमाध्यम तथा पत्रकार, हामी सबै एक हुनुपर्छ ।

प्रश्न: यो सङ्क्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानव सभ्यता नै सखाप हुने देखिन्छ ।

उत्तर: महामारीको रोकथाम सुनिश्चित गर्नका लागि हामीले भाइरस सङ्क्रमणको शृङ्खला तोड्नुपर्छ । त्यसका लागि हामीले जनस्वास्थ्य व्यवहारका नयाँ मूल्य मान्यताको पालना गर्नुपर्छ । त्यसैले अगाडिको बाटो सहज त छैन किन कि हामी विश्वव्यापी आपूर्ति शृङ्खला अन्तर्गत नै काम गर्दैछौँ, जहाँ धेरै प्रकारका निर्भरता छन् । तर सङ्क्रमण दर डरलाग्दो हुँदा हुँदै पनि हामीले निको हुने दर पनि बिर्सनु हुँदैन, जसले हामीलाई आशा दिन्छ । अहिले नेपालमा झन्डै ८३ प्रतिशत मानिस निको भएका छन् । अहिले सङ्क्रमितको सङ्ख्यामा तीव्र वृद्धि हुँदा निको हुने दर घटेको अनि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ तर पनि आशावादी हुने कारण के छ भने दुई सय ७५ भन्दा बढी खोप विकास हुँदैछन्, जसमध्ये ९१ को चिकित्सकीय परिचालन सुरु भइसक्यो र विश्व स्वास्थ्य सङ्गठन अनि सदस्य राष्ट्रका कडा नियामक निकायले तीमध्ये कतिलाई आपत्कालीन प्रयोगका लागि बाटो खोलिदिइसके । विकास प्रक्रियाको चरणमा रहेका यी खोपले विभिन्न प्रकारका खोपका विधि र प्रविधि अपनाएका छन् । यीमध्ये केही निष्कृय बनाइएका पूर्ण भाइरस, इनएक्टिभिटेट होल भाइरस र भाइरल भिक्टर जस्ता पुराना अनि एमआरएनए र डीएनए जस्ता पहिलोचोटि प्रयोग भएका नयाँ प्रविधि छन् । यिनले धेरै किसिमका सुरक्षित तथा प्रभावकारी खोप पाउने हाम्रो सम्भावनालाई बढाएका छन् ।

प्रश्न: अहिले खोपको अवस्था कस्तो छ ? नेपाल जस्ता देशले सहज रूपमा खोप पाउन किन सकिरहेका छैनन् ?

उत्तर: खोपको पर्याप्त उत्पादन राष्ट्रिय सहकार्यमा भर पर्छ । सर्वप्रथम त म के बताउन चाहन्छु भने खोप विकासको इतिहासमा कुनै पनि रोगको खोप यति छिटो विकास भएको छैन । त्यसैले अनुसन्धान, उत्पादन क्षमता, खरिद तथा ढुवानी प्रक्रियामा लगानी गर्न विश्व नै एकीकृत हुने हो भने अभूतपूर्व गति हासिल गर्न सकिन्छ । कोभिड १९ त एउटा उदाहरण मात्रै हो ।  सरकारबाट तत्कालै महत्त्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिबद्धता चाहिन्छ । उनीहरूको सहयोग विना विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी खोप सञ्चाल गाभी र महामारी तयारी नवप्रवर्तन गठबन्धन सेपीले यस महामारीको अन्त्यका लागि सबैतिर सबैलाई खोप पुर्‍याउन बनाएको कोभ्याक्सलाई विभिन्न सरकारबाट ठूलो लगानी आवश्यक हुन्छ । नेपाल जस्तो देशमा खोपको सुनिश्चितताका लागि पनि यो आवश्यक छ । तर हामीले सम्झनुपर्छ कि सुरक्षित र प्रभावकारी खोपले मात्रै समस्या हल हुँदैन । आरटी/पीसीआर र एन्टिजेन परीक्षण तथा तीव्र निदानका उपाय र जीवनदायी औषधि उपचारका उपाय पनि महामारी अन्त्य र विश्वभरका स्वास्थ्य लाभका लागि अत्यावश्यक छन् । यी जीवनदायी साधन तब मात्र प्रभावकारी हुन्छन् जब सबैभन्दा जोखिममा रहेका धेरैका लागि समतापूर्ण ढङ्गले सबै देशमा एकैपटक यी उपलब्ध हुन्छन् । यसका लागि सबल स्वास्थ्य प्रणाली तथा सेवा सञ्चालन हुनुपर्छ । अहिले देखिएका भेरिएन्ट चिन्ताका विषय हुन् र तिनले सामूहिक कदमको महत्त्व दर्शाउँछन् । भाइरसलाई फैलिन दिँदा वा सङ्क्रमणको शृङ्खला तोड्न नसक्दा नै म्युटेशन हुन्छ र भेरिएन्ट उत्पत्ति हुन्छन् । त्यसैले विद्यमान जनस्वास्थ्यका उपाय लागू गर्दै खोप उत्पादन र वितरणमा सकेसम्म छिटो अगाडि बढाउँदै भाइरसलाई परास्त गर्नु महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनले सक्रियतापूर्वक भनिरहेको छ कि हामीसँग अझै धेरै खोप उत्पादक हुनुपर्छ । तिनमा बौद्धिक सम्पत्तिको सवाल सम्बोधन गर्नुपर्छ । नयाँ कम्पनीलाई पनि खोप उत्पादनको अनुमति दिनुपर्छ जसका कारण ठूलाे परिमाणमा खोप उत्पादन होस् । तपाईँलाई थाहा छ– निगरानी, यो कस्तो भाइरस हो ? आदि विषयमा उपलब्ध भएअनुसारका आनुवांशिक जेनेटिक सूचनाको आदानप्रदान, जिन सिक्वन्सिङ क्षमता नभएका देशको क्षमता विकास, खोप विकास गर्ने देशबीचको सहकार्य, अनुसन्धान, खोप उत्पादन अनि सबैको तिनमा पहुँच । भाइरसलाई परास्त गर्न यी सबै कुरा जरुरी छ । यसमा धेरै तत्त्व संलग्न छन् र सबैको बलियो सहकार्य चाहिन्छ ।

प्रश्न: नेपालले भारतको जस्तो अवस्था आउन नदिन के गर्नुपर्छ ?

उत्तर: मैले पहिले भने जस्तै जनस्वास्थ्य सुरक्षाको उपायको पूर्ण पालना हुनुपर्छ र उच्च तथा तीव्र गतिमा खोपको विकास हुनुपर्छ । म बुझ्छु कि नेपालमा खोप ल्याउन एउटा चुनौती हो । तर हामीसँग देशभित्रै विभिन्न साधन छन् । जुन अन्य देशले पनि देखाइसकेका छन् । राम्रोसँग गरिने घटना अनुसन्धान, सम्पर्क पहिचान, सङ्क्रमित बिरामीको आइसोलेशन अनि जोखिममा रहेकालाई क्वरेण्टीन । यी नै सङ्कट समाधानका मन्त्र हुन् । अहिलेसम्म आइपुग्दा यी उपाय परिचित भइसकेका छन् । सँगै एक वर्षभरि नै निरन्तर लकडाउन हुँदा मान्छे तनावमा परि थाके, त्यसपछि धेरै हदसम्म खुला गरियो । तर मानिसहरूले सार्वजनिक स्वास्थ्य मापदण्ड पालना गर्दछन् र आफूसँग भएका स्रोत साधनको उपयोग गर्दछन् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ । विभिन्न देशले धेरै भन्दा धेरै खोप बनाउँदै गर्दा खोप त आउँला तर मुख्य कुरा तिनको निरन्तर र तीव्र प्रयोग कसरी सुनिश्चित गरिन्छ भन्ने पनि हो ।

प्रश्न: निषेधाज्ञा छ अहिले । यो बेला सरकारले गर्नुपर्ने अनिवार्य काम पनि गरेन भन्ने गुनासो आइरहेको छ । प्राथमिकताका आधारमा के–के काम गर्नुपर्छ ?  

उत्तर: यस कोभिड १९ महामारीका लागि संसारका कुनै पनि देश पर्याप्त मात्रामा तयार थिएन । यसको लागि तपाईँले अहिले सिङ्गो संसारको स्थिति हेर्न सक्नुहुन्छ । त्यसमा पनि अल्पविकसित स्वास्थ्य प्रणाली भएका गरिब देशमा यसको असर बढी रह्यो । हुन त कोभिड १९ बारे विज्ञानको विकास पनि निरन्तर भइरहेकाे छ । गएकाे एक वर्षमा क्षमता विकास र तयारीका लागि धेरै काम भएका छन् । तर दशकौँसम्म स्वास्थ्य प्रणालीमा लगानी गर्न हामीले गुमाएको अवसरको क्षतिपूर्ति यो छोटो समयमा नै हुन्छ भन्ने आशा गर्नु कठिन छ । अहिले धेरै भन्दा धेरै मानिसले महसुस गरेका छन् र मैले मन्त्री र प्रधानमन्त्रीले पनि भनेको सुनेको छु कि जीवन नै पहिलो प्राथमिकता हाे, स्वास्थ्य नै पहिलो प्राथमिकता हो । विश्व स्वास्थ्य सङ्गठनका धेरै सिफारिस सरकारले आफ्ना मार्गदर्शन, निर्देशिका जस्ता दस्तावेजमा स्वीकार गरेकामा हामी खुसी छौँ । सरकारका सबै तह र समुदायको स्तरमा पनि यसको निरन्तर कार्यान्वयन महत्त्वपूर्ण छ । समुदायको सशक्तीकरण र संलग्नता पनि जरुरी छ । कोभिड १९ को जटिलताका कारण सरकार र समाजका सबै क्षेत्र र तहको एकीकृत प्रतिकार्य आवश्यक छ । साथै व्यक्तिगत प्रतिकार्यको महत्त्वलाई पनि कम साेच्नु हुँदैन । अहिले महामारीको बेलामा चाहिएको साहस भनेको सबै जनस्वास्थ्य तथा सामाजिक मापदण्डको पालना गर्नु हो । जस्तै: मास्क लगाउनुपर्‍याे, नियमित हात धुनुपर्‍याे, सामाजिक रूपमा नजिक रहे पनि भौतिक दुरी कायम गर्नुपर्‍याे । आफू पर्याप्त हावा बहने वातावरणमा भएको सुनिश्चित गर्नुपर्‍याे र भिडभाडमा जान भएन । यस महामारीलाई अगाडि बढ्नबाट नियन्त्रण गर्ने हो भने यी उपायलाई निरन्तर पालना गर्नुपर्छ ।

प्रश्न: नेपाली नागरिकका लागि केही भन्न चाहनुहुन्छ ?

उत्तर: सम्झाउन चाहन्छु कि हामी सबै अगाडि बढ्नुपर्छ । आफू र अन्यलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ । सबैलाई आग्रह गर्न चाहन्छु कि कृपया जनस्वास्थ्य निर्देशिका पालना गरौँ । मास्क लगाऔँ । बारम्बार हात धोऔँ । भौतिक दुरी कायम गरौँ र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौँ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया