कोरोना र कालोढुसीको सम्बन्ध

 जेठ २४, २०७८ सोमबार १२:३८:२२ | डा. अनिल विक्रम कार्की
unn.prixa.net

नेपालमा कोरोना सङ्क्रमण भएकाहरूको आँखामा कालो ढुसीको सङ्क्रमण देखिन थालेको छ ।

यो सङ्क्रमणलाई म्यूकरमाइकोसिस भनिन्छ । यो बिरलै देखिने सङ्क्रमण  हो । यद्यपि पछिल्लो केही महिनायता भारतमा म्यूकरमाइकोसिसका सङ्क्रमितहरु उल्लेखनीय रुपमा बढ्न थालेसँगै नेपालका वीरगञ्ज, नेपालगञ्ज लगायतका सीमावर्ती जिल्ला तथा काठमाण्डौमा पनि  केही बिरामीहरु भेटिएका छन् । त्यसरी समस्या देखिएकाहरु यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु रहेका छन् । 

कोरोनासँगको सम्बन्ध   

पहिले यो रोग बिरलै मात्रामा देखिन्थ्यो । मधुमेह धेरै नै बढेका र  रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा आक्कलझुक्कल मात्र देखिन्थ्यो । तर कोरोनाको दोस्रो लहरपछि भने यो रोगका बिरामीहरु अलि धेरै मात्रामा देखिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्ने गर्छ ।  

कोरोनाका बिरामीका लागि प्रयोग गरिने छुट्टै औषधि छैन । डाक्टरहरुले कोरोनाका सङ्क्रमितको उपचारका लागि स्टेरोइड नामक औषधिको प्रयोग गर्ने  गरेका छन् । यो औषधिले  विशेषगरी मधुमेहका बिरामी जोखिममा रहन्छन्। त्यसले गर्दा कालोढुसीका बिरामीहरु बढेका हुन सक्छन् । 

कोरोनाको दोस्रो लहरमा कालोढुसीको समस्या बढी मात्रामा देखियो । भाइरसमा आएको म्युटेशनकै कारण यो रोग देखिएको हो कि भन्ने  बहसहरु पनि भइरहेका छन् । कोरोना सङ्क्रमण भइसकेपछि  निमोनियाका लक्षणहरु देखिएका बिरामीलाई स्टेरोइड नामक औषधि दिने गरिन्छ । त्यो औषधिले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई झन् कमजोर बनाइदिन्छ ।

पहिलो लहरको तुलनामा, कोरोनाको दोस्रो लहरमा गम्भीर खालका लक्षण भएका बिरामीहरु बढे । जसका कारण अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या पनि सँगै बढ्यो । विभिन्न उद्योगका अक्सिजनहरु प्रयोग गर्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यसले गर्दा यो  समस्या बढ्न थालेको हो की ? भन्ने आशङ्का गरिएको छ । भाइरसले स्वाभाविक रुपमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । स्टेरोइड भन्ने औषधिको प्रयोगले पनि शरीरमा मधुमेहको मात्रा बढाउँछ । यी कारणहरुले गर्दा पनि कोरोनाको दोस्रो लहरमा यो रोगका बिरामीहरु बढेका हुन सक्छन् ।

कालोढुसीका लक्षणहरु 

यो रोगले आँखा, नाक, दिमाग, पेट  र छालाहरुमा समस्या निम्त्याउँछ । अहिले देखिएका बिरामीहरुमा नाक, आँखा र दिमागमा बढी असर देखिएको छ । आँखा सुन्निने, बिरामीले एउटालाई दुईटा देख्ने, नाकबाट कालो सिँगान बग्ने, तालु  वा च्यापु  वरपर कालो देखिने सामान्यतया कालो ढुसीका लक्षणहरु हुन् । 

रोगबाट ग्रसित भइसकेपछि मात्रै अस्पताल जाने गरेको पाइएकाले झनै समस्या भएको छ । नाकबाट कालो सिँगान बग्यो भने, आँखा अलिअलि सुन्नियो भने सामान्य नै होला भनेर धेरै सचेत हुँदैनौँ  र समयमा अस्पताल नजाँदा धेरै  फैलिसकेको हुन्छ । 

उपचार धेरै महँगो र जटिल 

यो रोग एकदमै  घातक छ । रोग शरीरभरि नै फैलिएको छ भने त्यस्ता बिरामीको मृत्युदर ९० प्रतिशत हुन्छ । कुनै एक प्रकारको समस्या मात्रै हुँदा अर्थात् नाक, कान र आँखामा मात्रै समस्या भएको छ भने र त्यसको  सबै उपचार गरिएको अवस्थामा पनि मृत्युदर ५० प्रतिशतसम्म रहन्छ । यसको अर्थ दुई जनामा समस्या भएको छ भने र दुवै जनाको सबै उपचार गरिएको छ भने पनि दुई जनामध्ये एक जनाको ज्यान जाने सम्भावना रहन्छ । यो रोगको उपचार

पद्धति निक्कै जटिल छ । यो रोग  लागेमा अप्रेशन गर्नु पर्ने हुन्छ भने अर्को सुईको माध्यमबाट औषधि दिनुपर्छ ।  लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले जटिल छ । लामो समयसम्म आईसीयूमा उपचार गराएका,  निमोनियाले आक्रान्त बनाएका बिरामीहरुमा यो समस्या धेरै देखिएको छ । भारतमा एउटै बिरामीको उपचारको लागि एउटा अस्पतालले ५० लाख रुपैयाँसम्म लाग्ने बताएको खबर सार्वजनिक भएको थियो । अप्रेशन र सुईको माध्यमबाट औषधि दिएर यो रोगको उपचार गरिन्छ । 

कालो ढुसीको समस्या देखिएको ठाउँलाई अप्रेशन गरेर निकाल्नुपर्छ ।  फेरि बढ्यो भने फेरि निकाल्नु पर्छ । अप्रेशन नै धेरै पटकसम्म गर्नुपर्ने हुन सक्छ । सुईको माध्यमबाट प्रयोग गर्ने औषधि एक भाइलको ६, सात हजार रुपैयाँ पर्छ । त्यो धेरै भाइल लगाउनुपर्ने भएकाले कम्तीमा ६ देखि सात लाख रुपैयाँ सुईको नै  खर्च लाग्छ । अरु  थप उपचारहरु गर्नुपर्दा खर्च महँगाे पर्न जान्छ । फेरि औषधि पनि भन्ने बित्तिकै पाउने सम्भावना एकदमै कम छ । 

अहिलेसम्मको अवस्था हेर्ने हो भने आत्तिहाल्नुपर्ने स्थिति छैन ।  धेरै केसहरु देखिएको छैन । वीरगञ्ज, नेपालगञ्ज लगायतका ठाउँहरुमा केही केसहरु देखिएका हुन् र  केही काठमाण्डौतिर पनि देखिएका छन् । भारतमा सङ्क्रमितहरु केही बढेका छन् ।  नेपालको इतिहास हेर्न हो भने भारतमा देखिने गरेका अधिकांश  रोगहरु नेपालमा देखिने गरेका छन् । त्यहाँ जसरी फैलन्छ नेपालमा पनि त्यसैगरी फैलने गरेको छ । कोरोनाको पहिलो र दोस्रो दुवै लहर झण्डै, झण्डै भारतसँग मिल्छ । भारतमा बढ्दै गएकाले कतै नेपालमा पनि बढ्छ कि भन्ने चिन्ता थपिएको छ । 

कसरी जोगिने ? 

कोरोना लागेको बेलामा नाकबाट कालो सिँगान बगेमा, नाकतिर कालो  दाग देखिएमा, सुन्निएको जस्तो भएमा, एउटा चिज दुईवटा देखिएमा, टाउको दुखेमा सचेत भएर डाक्टरलाई देखाउनुपर्छ  । डाक्टर र बिरामी दुवै उत्तिकै सचेत हुनुपर्छ । अप्रेशन र सुईमार्फत् दिने बाहेक अरु औषधि नभएकाले छिटो भन्दा छिटो उपचारतर्फ लाग्नुपर्ने हुन्छ । दुवै उपचारसँगै गर्न नसकेमा बिरामीको ज्यान नै जाने जोखिम हुन्छ ।

( नाक, कान घाँटी रोग विशेषज्ञ डा. कार्कीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ३, २०८१

डा. अनिल विक्रम कार्की

डा. अनिल विक्रम कार्की  नाक, कान घाँटी रोग विशेषज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया