गर्मीको समयमा कोरोनासँगै अरु रोगको जोखिम हुने भएकाले सावधानी अपनाऔँ

 जेठ २६, २०७८ बुधबार ९:१६:५३ | डा. कृष्णप्रसाद पाैडेल
unn.prixa.net

गर्मीको समयमा मलेरिया, डेङ्गी लगायतका किटजन्य रोगको जोखिम धेरै हुने गर्छ । डेङ्गी तराईमा मात्र होइन, पहाडी जिल्लाहरुमा समेत देखिइसकेको छ ।  पानी जम्मा भएको खाल्डाखुल्डीमा लामखुट्टेको संख्या बढ्ने भएकाले डेङ्गीको संक्रमण हुन सक्छ । यस्तै अहिलेको समयमा झाडापखाला, कमलपित्त, आउँ, हेपाटाइटिस र श्वासप्रस्वासका अरु समस्याहरु पनि देखिने सम्भावना हुन्छ ।

कोरोनासँगै यस्ता खालका अरु रोगको जोखिम समेत हुने भएकाले  अहिलेको समयमा कसैलाई ज्वरो आएमा, कारण खोज्नुपर्ने हुन्छ । त्यसका लागि परीक्षण गर्नुपर्छ । ज्वरो आएका बिरामीको जाँच गर्दा अहिले औलो लगायतका अरु खालका सम्भावित रोगको पनि जाँच गर्न भनेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  अस्पतालहरुलाई सुझाव दिइरहेको छ । अहिले अरु विभिन्न रोगको जोखिमलाई ख्याल गर्दै कोरोनालाई पनि ध्यान दिन आवश्यक छ । अरु रोगको जोखिम यो समयमा हुन्छ नै । त्यो सँगै अरु नै समस्या भएको होला भनेर ढुक्क हुँदा  कोरोना पनि भएको हुन सक्छ । त्यसैले परीक्षणमा ढिलाई गर्नु हुँदैन । 

यो रोग हो कि, उ रोग हो कि भनेर जाँच गर्न ढिला भएमा रोगको जोखिम अझ बढ्न सक्छ ।  अहिले कतिपय  गाउँघरमा धेरै जनामा ज्वरो आएको भन्ने रिपोटिङहरु भइरहेका छन् ।  कतिपयले ज्वरो आएपछि जाँच नै नगरी टाइफाइड लगायतका  रोगको औषधि खाएका पनि पाइएको छ । तर उनीहरुलाई जाँच गरेपछि टाइफाइड नभएर कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।  ज्वरो आएपछि  पुराना  वा परम्परागत रुपमा हुने रोगहरु नै होला नि भनेर  सोचेर बस्दा कोरोना लागेको  हुन सक्छ । र जाँच गर्न ढिलाई हुँदा अरुमा सर्ने जोखिम हुन सक्छ । 

एक सय एक डिग्री भन्दा धेरै ज्वरो आएको छ भने डेङ्गी, टाइफाइड मात्र नभएर  कोरोना संक्रमण पो भएको हो कि भनेर शंका गर्नुपर्छ । त्यस्तो अवस्थामा दोस्रो वा तेस्रो दिन भन्दा ढिला नगरी परीक्षण गर्नुपर्छ । स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गर्नुपर्छ । स्वास्थ्यकर्मीले रोगको जाखिम अनुसार परीक्षण र उपचार गर्नुपर्ने हुन्छ ।  यतिखेर ज्वरो गराउने, मलेरिया, डेङ्गी वा टाइफाइड मात्र नभएर कोरोना पनि छ भन्ने बुझ्न जरुरी हुन्छ ।  बिरामीमा  देखिएको लक्षणका आधारमा डाक्टरहरुले रोग पत्ता लगाउँछन् । र त्यसको निराकरण गर्ने प्रयास गर्छन् । 

शरीर धेरै दुख्ने, धेरै कमजोर भएको महसुस हुने, गन्ध हराउने, श्वास फेर्न गाह्रो हुने, अक्सिजनको कमी भएमा त्यो कोरोनाको लक्षण हुन सक्छ । सामान्य रुघाखोकी मात्रै लागेको भए नाक बन्द हुन्छ, तर गन्ध हराउँदैन । डेङ्गी भएमा उच्च ज्वरो देखिए पनि  गन्ध हराउने लगायतका  अरु समस्या नहुन सक्छन् । पटकपटक पातलो दिसा लागेमा झाडापखाला लागेको भन्ने थाहा भइहाल्छ ।  ज्वरो आएमा, खान मन नलाग्ने, पेट दुख्ने भएमा टाइफाइड  भएको हुन सक्छ । 

डेङगीको लागि किटबाट परीक्षण  र कोरोनाको शंका लागेमा स्वाब लिएर परीक्षण गर्न सकिन्छ ।  इतिहास, चिन्ह र लक्षणका आधारमा बिरामीको उपचार हुन्छ ।  

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो । रोग लाग्नै नदिनका लागि  सफा पानी पिउने, घर वरपरको वातावरण सफा राख्ने,  घर वरपर खाल्डाखुल्डी नराख्ने, टायर तथा पुराना भाँडाकुँडामा पानी जम्न नदिने  गर्नुपर्छ । यति गर्न सकेमा  किटजन्य रोग लाग्ने जोखिम कम हुन्छ । 

अहिले कोरोना भाइरसको पनि जोखिम भएकाले जनस्वास्थ्यको मापदण्डको पालना गर्न छोड्नु हुँदैन ।  मास्क, स्यानिटाइजरको प्रयोग, बेलाबेला साबुन पानीले हात धुने र दूरी कायम  गर्नुपर्छ ।  हामी बस्ने वातावरण र  हाम्रो आनीबानी राम्रो हुनुपर्छ ।  

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि ताजा, सफा  र सन्तुलित खानेकुरा खानुपर्छ । खाना खानु अगाडि, खाना बनाउनु अगाडि, चर्पी गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ । 

सावधानी अपनाउँदा अपनाउँदै उच्च ज्वरो आएमा, ज्वरोसँगै अरु खालका समस्याहरु पनि भएमा, ज्वरोसँगै बर्बराउने, बेहोस हुने भएमा, शरीरमा बिमिराहरु देखिएमा, तत्काल अस्पताल जानुपर्छ । तर सामान्य मात्र ज्वरो आएमा, खानपीन ठिकै भएमा, श्वास फेर्न गाह्रो नभएमा, वा अरु खालका समस्या नभएमा एक, दुई दिन  कुर्न सकिन्छ ।  तर समस्या बढेमा त्यो भन्दा धेरै समय कुर्नु हुँदैन । अस्पताल गएर जाँच गर्नुपर्छ । 

(स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलसँग गरिएको कुराकानीमा आधारित)  
 

अन्तिम अपडेट: चैत ९, २०८०

डा. कृष्णप्रसाद पाैडेल

डा. पाैडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ

तपाईको प्रतिक्रिया