‘चुरेमा उत्खननकाे सम्भावना खोज्नै हुन्न, नदी चाहिँ सफा गर्नुपर्छ’

 जेठ ३०, २०७८ आइतबार ८:५४:२९ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमा रहेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ भन्ने वाक्यप्रति धेरैले आशङ्का गरेका छन् । चुरे पहाडमा खानी सञ्चालन हुने र यसले तराई-मधेशमा गम्भीर असर गर्ने वातावरणविद्हरुको शङ्का छ ।

ढुङ्गा, गिट्टी, बालुवा निकासीको कुराले चुरेको चर्चा चुलिएको छ । सरकारले चुरेमा नभइ अन्यत्रका पहाडमा खानी सञ्चालन गर्ने स्पष्टीकरण दिए पनि विज्ञहरु चुरेलाई लिएर चिन्ता गरिरहेकै छन् । चुरेप्रति किन यति धेरै चिन्ता भएको हो त ? भोजेन्द्र बस्नेतले त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका सहप्राध्यापक डाक्टर सुबोध ढकालसँग यो विषयमा कुराकानी गर्नुभएको छ । भूगर्भविद डाक्टर ढकाल चुरे पहाडको पहिरो अनुसन्धान तथा विपद् अध्ययनकर्ता पनि हुनुहुन्छ । 

चुरे पहाडको चर्चा चुलिएको छ । चुरे भन्नाले कुन क्षेत्रलाई चिनिन्छ ? 

चुरे भन्नाले नेपालको दक्षिणतर्फको सबैभन्दा पहिलो पहाड हो ।  झण्डै चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो । यो सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो । चुरे पूर्वमा इलामदेखि पश्चिममा डडेल्धुरासम्म ३६ वटा जिल्लाहरूमा आठ सय किलोमिटर लम्बाइ र १० देखि ५० किलोमिटर चौडाइमा फैलिएको छ । धेरै छिटो गल्ने र बग्ने प्रकृतिको चुरे जैविक विविधतादेखि लिएर तराईमा पानीको मुख्य स्रोतका रुपमा रहेको छ । 

चुरेको चर्चा बारम्बार हुन्छ । यो नभए तराई-मधेशको अस्तित्व नै सङ्कटमा पर्ने कुरा गरिन्छ । यति धेरै चर्चा हुने चुरेको विशेषता के हो ? 

चर्चा हुनुको मुख्य कारण यसको कमजोर भूबनोट नै हो । सबैभन्दा पछि बनेको र माथिबाट बगेर आएका वस्तु थुप्रिएको कारण यो सामान्य बदलावमा पनि बग्न सक्छ । यसले तल्लो क्षेत्रमा असर पार्ने भइहाल्यो । अर्को कुरा हिमालय क्षेत्रबाट बगेर आएका नदीहरु यही पहाड हुँदै दक्षिणतर्फ गइरहेका छन् । चुरेमा क्षति पुगेमा नदीहरुले थप क्षति गर्नेछन् । यसरी सम्भावित विपद्को हिसाबले यसलाई संवेदनशील मानिन्छ भने जैविक विविधताका दृष्टिबाट पनि यो उत्तिकै महत्त्वपूर्ण छ । यहाँ प्रशस्त वनजङ्गल छन् । जैविक विविधता रहेको र रहन सक्ने सम्भावना रहेको ठाउँ हो । 

यस्तै तराईका लागि पानीको भण्डार यही चुरे पहाड हो । चुरे पहाडले सोसेको पानी तराई-मधेशको जमिनमुनि पुग्छ र त्यहाँ इनार, ट्युबवेलमा सजिलै पानी निस्कन्छ । तराईको माटो मलिलो हुन पनि यसको भूमिका छ । यदि चुरे मासिने हो भने तराईमा सुख्खा लाग्न सक्छ । यसले जीविकोपार्जन समस्यामा पर्छ भने विपत्तिका सम्भावना त छँदैछन् । यसैगरी चुरेले तराई र पहाडी क्षेत्रमा पनि पानी पार्ने क्रमलाई सन्तुलनमा राखेको छ । यहाँको जङ्गल र बनोटले उपयुक्त वर्षामा भूमिका खेलेको छ । 

तराई-मधेशभन्दा बाहेकका क्षेत्रका लागि चाहिँ चुरेको महत्त्व के रहेको छ ? 

हामीले अघि नै चर्चा गरेका छौँ यसले नेपालमा हुने वर्षालाई सन्तुलन गर्न चुरे क्षेत्रको भूमिका छ । यो भनेको तराई-मधेश मात्र नभएर पहाड र हिमाली क्षेत्रका लागि पनि हो । यसले बढ्दो जलवायु परिवर्तनको प्रभावलाई कम गर्न भूमिका खेलिरहेको छ । यस्तै हाम्रो देशको बनावट हेर्दा चुरेको उत्तरतिर महाभारत शृङ्खला छ । त्योभन्दा माथि तल्लो अथवा माथिल्लो हिमालय पर्वतमालाहरु छन् । यी सबैले एकले अर्कोको बुई चढेको अवस्था छन् । यदि तलकोलाई क्षति पुग्यो भने त्यो भन्दा माथिको सुरक्षित हुने कुरै भएन । समस्या माथितिर बढ्दै जान्छ । त्यसैले यो सीमित क्षेत्रभन्दा देशकै लागि महत्त्वको क्षेत्र हो । 

सरकारले नयाँ बजेटमा वातावरण प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने भनेको छ । यो निर्णयले चुरेलाई छुने देख्नुभएको छ कि छैन ? 

यो विषयलाई दुई कोणबाट हेर्नुपर्छ । एउटा प्राविधिक विषय छ । अर्को सामाजिक–राजनीतिक लगायतका अरु विषयहरु छन् । खानीजन्य ढुङ्गा, गिट्टीको कुरा आएकोले देशमा सबै अवस्था राम्रो भएको भएमा वा एकले अर्कोलाई विश्वास गर्ने वातावरण भएको भएमा वा त्यहाँ भएको कुरालाई मात्र हेर्ने हो भने त त्यो निर्णयले चुरेलाई छुन्छ भन्ने लाग्दैन । तर अहिलेसम्मको जुन चलन छ, नियमनका जुन आधारहरु छन्, पालिका सरकारहरुले नदीजन्य वस्तुको प्रयोग गरिरहेका उदाहरणहरुलाई हेरेर मानिसले विश्वास गरिरहेका छैनन् । प्राविधिक रुपमा चुरेलाई छोएको छैन र सरकारी व्यक्तिहरुले त्यही आधारमा बचाउ गरिरहेका छन् ।  

खानीजन्य ढुङ्गा, गिट्टी उत्खननको जुन कुरा छ यसले चुरेलाई छुँदैन भन्ने आधार के हो ? 

पहिलो कुरा निर्णयमा चुरे क्षेत्र भनिएको छैन । र महत्त्वपूर्ण कुरा खानीजन्य वस्तु भनेकोले यसलाई प्राविधिक रुपमा चुरेलाई छुँदैन । किनकी चुरेमा खानीजन्य उत्खननको कुनै सम्भावना नै छैन । किन भने त्यहाँ त एकदमै कमलो चट्टान छ, भर्खरका चट्टान छन्, नखाँदिएका चट्टानहरु छन् । त्यहाँ बलिया चट्टान नभएकोले हामीले तिनीहरुलाई निर्माण सामग्रीका रुपमा उत्खनन गरेर प्रयोग गर्न सक्ने सम्भावना कम रहन्छ । यस कारण प्राविधिक रुपमा चुरेलाई छुँदैन भनेको हो । तर अघि भनिएको जस्तो अहिलेको हाम्रो जुन चलन र काम गराई छ यसले विश्वस्त हुन नसकिएकै कारण अहिले विरोध र चर्चा भएको छ यो जायज पनि छ । 

चुरेमा खानीजन्य उत्खननको सम्भावना नरहेको भन्नुभयो, नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा लगायत सङ्कलनको सम्भावना चाहिँ छ कि छैन ? 

नदीजन्यको सम्भावना छ । चुरेमा खानीजन्य उत्खननको सम्भावना छैन र खोज्नु पनि हुँदैन । यदि हामीले चुरे र चुरे नजिक खानीजन्य उत्खननको सम्भावना खोज्यौँ भने त्यसले ठूलो विपत्ति ल्याउन सक्छ । तर चुरेबाट वा चुरे हुँदै बहने खोलाहरुमा भने ढुङ्गा, गिट्टी, बालुवा लगायतको प्रचुर सम्भावना रहेको छ । चुरेकै क्षेत्रमा पनि कतिपय नदीहरुमा ढुङ्गा, गिट्टी, बालुवा लगायत थेग्रान जम्मा भएकोले त्यसलाई निकाल्न सकिन्छ । त्यो निकाल्नु आवश्यक पनि छ । किनभने नदीमा थेग्रान बढ्दै जाँदा नदीको सतह माथि आउँछ र त्यसले डुबानको जोखिम बढाउँछ । कतिपय नदीमा जथाभाबी उत्खननबाट त कतिपय नदीका थेग्रान ननिकाल्दा जोखिम बढेको हामीले देखिरहेकै छौँ । त्यसैले चुरे आसपासमै रहेका वा त्यहाँबाट तल पुगेका नदीबाट नियमित रुपमा थेग्रानहरु निकालेर प्रयोग गर्नुपर्छ ।

अहिले नदीजन्य वस्तु सङ्कलनमा जुन किसिमको असामान्य गतिविधि छ त्यसलाई रोकेर व्यवस्थित र सही नियमनका साथ नदीबाट त्यस्ता वस्तु निकाल्नुपर्छ । यसले हामीलाई निर्माणजन्य सामग्री उपलब्ध हुन्छ भने डुबान लगायतको जोखिम पनि कम हुन्छ । तर यसको जिम्मा अहिले नै पालिकाहरुलाई दिन मिल्दैन । उनीहरुसँग यसको लागि उपयुक्त जनशक्ति छैन भने कतिपय ठाउँमा लाभका कुरा पनि आउँछन् त्यसैले यस्ता नदीहरुमा सङ्घीय सरकारकै निगरानीमा नियमित थेग्रान निकाल्ने काम गर्नुपर्छ । 

सरकारले भनेको जस्तो चुरे बाहेकको क्षेत्रमा चाहिँ खानीजन्य उत्खनन र निकासीको कुराको सम्भावना चाहिँ तपाईँ कतिको देख्नुहुन्छ ? 

निकासी गर्ने भन्ने कुरा त अपरिपक्व कुरा हो । निकासी गर्ने वा त्यसबाट व्यापारघाटा कम गर्ने भन्ने कुरामा त हामी जानै हुँदैन । हामीले गर्ने भनेको चाहिँ अहिले जसरी अनियन्त्रित हिसाबले नदीजन्य उत्खनन भइरहेको छ त्यसलाई नियन्त्रणका लागि खानीजन्य उत्खनन गर्नुपर्छ । महाभारत पर्वत शृङ्खला अन्तर्गत केही त्यस्ता पहाड छन् जहाँ धेरै पर्यावरणीय क्षति विना पनि गुणस्तरीय निर्माण सामाग्री निकाल्न सकिन्छ । त्यस्ता ठाउँको पहिचान गरी उचित नियमनका साथ खानी सञ्चालन गर्नुपर्छ । अहिले विज्ञहरुबाट प्राकृतिक स्रोतका सम्बन्धमा फरक-फरक विचारहरु आइरहेका छन् ।

एकाथरी एउटा ढुङ्गो प्रयोग गर्ने कुरामा पनि फरक मत राख्छन् भने एकाथरी चरम दोहन हुँदा पनि प्रयोगको सिद्धान्त भन्छन् । यी दुवै अतिवादीबाट पर रहेर मानिसले प्राकृतिक वस्तुको बुद्धिमतापूर्ण प्रयोग गर्नुपर्छ भनेर मैले भन्ने गरेको छु । हामीलाई निर्माण सामग्री चाहिन्छ त्यसैले उत्खनन आवश्यक छ । अहिले जसरी जथाभाबी नदीजन्य वस्तु उत्खनन भइरहेको छ त्यसलाई नियन्त्रण गर्न खानीजन्य उत्खनन हुनुपर्छ । तर चुरेमा खानीजन्य उत्खनन वर्जित हुनुपर्छ । चुरे हुँदै बग्ने नदीहरुमा व्यवस्थित रुपमा आवश्यकता अनुसार थेग्रान सङ्कलन हुनुपर्छ । अहिले निर्माण सामग्री उत्खनन, सङ्कलन तथा व्यापारमा जुन बेथिति छ त्यो रोक्न सरकार जिम्मेवार हुनुपर्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया