रुकुम पश्चिमको जिल्ला अस्पतालमा ‘न ब्लड ब्याग न ब्लड बैंक’

 जेठ ३१, २०७८ सोमबार २०:२१:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – पाठेघरको क्यान्सर भएर जिल्ला अस्पताल सल्लेमा उपचाररत त्रिवेणी गाउँपालिकाकी ५३ वर्षीया हिरा कामीले सोमवार शरीरमा चढाउनै पर्ने रगत चढाउन पाउनु भएन । रक्तदाता नभएर वा अरु कारणले नभइ रगत सङ्कलन गर्ने ‘ब्लड ब्याग’ नै जिल्ला अस्पतालमा नभएर उहाँले रगत पाउनु भएन । उहाँका लागि रगत दिन जिल्लाको सानीभेरी गाउँपालिकाबाट आउनुभएका वसन्त पुन, मुसिकोट नगरपालिकाका राजन तिरुवा त्यसै फर्कनुभयो । हिराको शरीरमा रगतको मात्रा चार रहेकाले डाक्टरले रगत चाहिने बताएका थिए । 

हिरा जस्तै थाहा नभएको रोगका कारण जिल्ला अस्पतालमा आएर नियमित रगत चढाउने मुसिकोट नगरपालिका ४ का सात वर्षीय वचन बिष्टले पनि सोमवार रगत पाउनु भएन । गएको एक वर्षदेखि थलिनुभएका वचनलाई तत्काल रगत चाहिएकाले स्थानीयवासी अक्षय सुनार रक्तदान गर्न तयार हुनुभएको थियो । तर उहाँले पनि रगत दिन पाउनु भएन । वचनको शरीरमा हेमाग्लोबिनको मात्रा पाँच थियो । वचनको रोग पत्ता लगाउन र उपचार गर्न उहाँकी आमा विनिताले नेपालगञ्ज र काठमाण्डौका विभिन्न अस्पताल लगे पनि केही पत्ता नलागेको बताउनुभयो । छोरालाई रगत चढाउन जिल्ला अस्पताल ल्याएको तर ब्लड ब्याग नै नभएपछि अस्पतालमा बस्नुपरेको उहाँको भनाइ छ । 

यी त केही उदाहरणमात्र हुन् । ब्लड बैंक नहुँदा बेला–बेला समस्या झेलिरहेका यहाँका बिरामीले अहिले ‘ब्लड ब्याग’ नै नभएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । बेला–बेला जिल्लामा ब्लड बैंक स्थापनाको कुरा उठ्ने गरे पनि कसैले प्राथमिकताका साथ लिएको पाइँदैन । आइतवार जिल्ला अस्पतालमा ब्लड ब्याग अत्यावश्यक भएपछि मुसिकोटमा रहेको एक निजी अस्पतालबाट दुई वटा ब्लड ब्याग सहयोग लिएर काम चलाइएको थियो । 

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले पनि तत्काललाई ब्लड ब्याग सकिएको र ल्याउन लागेको जनाएको छ । लकडाउनका कारण ब्लड ब्याग ल्याउन नसकिएको र चाँडै नै एक सय वटा ब्याग ल्याउन लागिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा मात्र यस वर्ष झन्डै दुई सय जनाले रक्तदान गरेको तथ्याङ्क कार्यालयसँग रहेको छ । गएको वर्षभन्दा यस वर्ष रक्तदाता बढेका छन् । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, जिल्लामा रहेका सुरक्षाकर्मी, स्वयंसेवीले बेला–बेला रगत दिएर बिरामीको उपचारमा सहयोग गर्दै आएका छन् ।   

जिल्लाको चौरजहारीमा ब्लड बैंक स्थापना गर्ने कार्य सुरु भएको जानकारी दिइएको छ । आज विश्वभर रक्तदाता दिवस मनाइँदैछ । यस महत्त्वपूर्ण दिनमा रक्तदानलाई प्राथमिकता दिइन्छ। तर रुकुम पश्चिमको जिल्ला अस्पतालमा रगत सङ्कलनका लागि ब्लड ब्याग नै नहुनु दुःखद पक्ष हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया